आज:  | Tue, 25, Jun, 2024

नेपालले अहिलेसम्म १० स्वर्ण, ३ रजत र १ कास्य गरी १४ पदक हात पार्न सफल भएको छ।

युथ अफ वीरगंज December 2, 2019मा प्रकाशित (४ साल अघि) १११७३ पाठक संख्या

कराँतेमा विप्लवलाल श्रेष्ठले दिलाए नेपाललाई अर्को स्वर्ण

काठमाडौँ — कराँतेको ८४ केजी प्लस कुमुतेमा नेपालका विप्लवलाल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पाकिस्तानका मोहम्माज बाजलाई ६-५ ले हराउँदै नेपालको लागि कराँतेमा पाँचौं स्वर्ण दिलाएका हुन् ।

उनले आफ्नो पहिलो खेलमा श्रीलंकाका म्यागोना विमलासारीलाई टेक्निकल आधारमा पराजित गरेका थिए । श्रेष्ठले ८-० अग्रता लिएपछि स्वत: विजयी घोषित भएका थिए ।

तेक्वान्दोमा आयशाले पनि दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २९ वर्षमाथि उमेर समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण जितेकी छिन् । यसमा भारतले रजत र श्रील‌ंकाले कास्यमा चित्त बुझाएका छन् ।
आयशाले ७ दशमलब ९४ अंक पाइन् भने उनकी प्रतिद्वन्द्वी भारतकी प्रजक्ता प्रकाश अनकोलेकरले ७ दशमलब ६४ अंक स्कोर गरेकी थिइन्। नेपालकी स्टार खेलाडी आयशाले यसअघि २०१० मा नेपाललाई स्वर्ण दिलाएकी थिइन् भने २००६ र २०१६ मा रजत जितेकी थिइन्।

तेक्वान्दोमा पार्वतीले पनि दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३-२९ वर्ष उमेर समुहमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितेकी छिन् । यसमा श्रीलंकाले रजत जितेको छ ।पार्वतीले यस खेलमा ८.२५० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् भने रजतमा चित्त बुझाउन बाध्य भएकी श्रीलंकाकी थिलकसिका जयाविराले ८.१४० अंक प्राप्त गरेकी थिइन् ।यस्तै कास्य पदक भने भारतको पोल्टोमा रह्यो । भारतकी हर्षा सिंहाले ८.०३० अंक मात्रै प्राप्त गर्न सफल भइन् ।

माल्दिभ्सविरुद्धको महिला क्रिकेटमा नेपालको चार कीर्तिमान

पोखरा — माल्दिभ्स विरुद्धको महिला क्रिकेटमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । १३ औं सागको पहिलो खेलमा नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिइ ६ विकेट लिएकी छन् । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकाल्दा पोखराको मैदानमा अन्तर्राष्ट्रिय डेब्युमै कीर्तिमान बनाउन अञ्जली सफल भएकी हुन् ।

यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दाबी गरे । त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटा बताउँछन् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाहले ४ रन जोडिन् । बाँकी सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।

जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार गर्‍यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । पाँच बल फालेकी माल्दिभ्सकी बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्र्राइकमा रहेकी सीता मगरले एक बलपनि सामना गर्नु परेन ।

२.१ ओभरमा २ मेडन सहित बिना रन ६ विकेट लिएकी अञ्जली चन्द उमन अफ द म्याच भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् ।

जित पछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासेले प्रतियोगितामा राम्रो सुरुआत गर्न सकेकोमा खुसी व्यक्त गरिन् । साथै यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मिहिनेत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केही गरी देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको उनले बताइन् ।

माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ ।

via:- Kantipur