आज:  | Tue, 25, Jun, 2024

एनसेललाई १५ दिनको म्याद कर तिर्न

युथ अफ वीरगंज December 22, 2019मा प्रकाशित (४ साल अघि) १६९२७ पाठक संख्या

६ पुस, काठमाडौं । सरकारले टेलिकम सेवा प्रदायक कम्पनी एनसेललाई तोकिएको कर तिर्न १५ दिने म्याद दिएको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काट्दै १५ दिनभित्र कर चुक्ता गर्न भनेको हो ।

यसअघि ठूला करदाता कार्यालयले मंसिर तेस्रो साता २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेर त्यसको जानकारी एनसेललाई दिएको थियो । १५ दिनको समय राखेर कुनै दावी विरोध भए आउन भन्दै पत्र थमाइएको थियो । तोकिएको अवधिभित्र एनसेलबाट कुनै दावी–विरोध नआएपछि अन्तिम कर निर्धारणवापत देखिएको कर तिर्न १५ दिनको समय राखेर पत्र काटिएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

ठूला करदाता कार्यालयले गत वैशाखमा एनसेलको स्वामित्व खरीद बिक्रिवापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नुपर्ने गरी पत्राचार गरेको थियो । एनसेलले यसअघि तिरेको २१ अर्ब ५४ करोड कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्नुपर्ने ठूला करदाता कार्यालयको आदेश थियो । उक्त आदेशविरुद्ध एनसेल सर्वोच्च अदालत गएको थियो ।

सर्वोच्चले भने भदौमा ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शूल्क खारेज गर्ने फैसला ग¥यो । सोहीअनुसार एनलसले तिर्नुपर्ने कर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ । यसमा ब्याजसमेत जोड्न पाउने फैसला अनुसार एनसेलले कूल २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण भएको हो । तोकिएको अवधिमा पनि एनसेलले कर नतिरेमा आयकर ऐनमा भएको प्रावधान अनुसार कारवाही हुने व्यहोरा उल्लेख गरिएको छ ।
via :- Onlinekhabar.com