आज:  | Sat, 22, Jun, 2024

‘दुई हजार ऋण काढेर काठमाडौं आएँ, बरु मर्छु, घर जान्नँ’

युथ अफ वीरगंज December 29, 2019मा प्रकाशित (४ साल अघि) १८२२९ पाठक संख्या

बुढो शरीर। चिसोले झुस्स परेका सेताम्मे दार्‍ही।

एक हातमा केही बिस्कुट। प्लास्टिकको गिलासमा चिया।

शरीर न्यानो पार्न चियाको चुस्की लिए उनले। चियामा बिस्कुट चोप्दै भोक मटाउने प्रयास गरिरहेका थिए उनी। उमेरले ६० नाघिसकेका छन्।

उनी हुन्-सर्लाही, सिसौटियाका किसानराम विलास महतो।

‘घरमा छोराछोरी आगो तापेर बसिरहेका छन्, म काठमान्डुको जाडो खाइरहेको छु,’ उनी भन्दै थिए, ‘छोराछोरीलाई बाक्लो लुगा किन्न बाँकी छ, घरमा नुनतेल किन्न पैसा छैन।’

दुई हजार रुपैयाँ ऋण काढेर सरकारलाई आफ्नो दुःख सुनाउन सर्लाहीबाट काठमाडौं आएका हुन् रामविलास।

काठमाडौं आउन समेत उनीसंग पैसा थिएन। तर काठमाडौं गएपछि आफ्नो पैसा पाइन्छ कि भन्ने आसले ऋण लिएरै भए पनि उनी राजधानी आए।

उखुखेती गरेर घरपरिवारको पेट पािलरहेका उनले दुई वर्षदेखि पैसा पाएका छैनन्।

ऋण लिएर आएको २ हजार पनि सकिएको छ। खान बस्ने ठेगानसमेत छैन उनको।

‘कसैले चिया कसैले बिस्कुट दिइरहेका छन्, त्यही खाएर बसेको छु। काठमाडौंको जाडो, खान–बस्ने ठेगान छैन,’ उनले मलीन स्वर पार्दै भने, ‘साथीको कवाडखानामा खाना खाएर रात बिताउँछु।’

खेती गर्न आफूसँग जग्गा छैन। एकातिर साहुको ऋणको पीर छ त अर्कोतिर घर खर्चको।

उनी रुमलिइरहेका छन्। उनको एउटै माग छ आफूले दुःख गरी कमाएको पैसा पाउनुपर्ने।

‘काठमाडौं कहिल्यै आएको थिइनँ, मजबुरीले आएको हुँ,’ उनी भन्छन्, ‘हामीले कति दिन आगो तापेर बस्ने? कति दिन आधापेट मात्रै खाने।’

खान लाउन समस्या भएकाले काठमान्डु आएको उनको भनाइ छ। ‘सरकारले के गर्छ? केही थाहा छैन,’ यति भन्दै गर्दा उनका आँखामा आँसु टिल्पिल भइरहेका थिए।

‘बरु मर्छु, पैसा नपाएसम्म घर जान्नँ। दुई हजार ऋण लिएर आएको छु, कसरी घर जानु?,’ उनले भने।

उखुखेती गरेरै ११ जनाको परिवार पालिरहेका उनलाई आफ्नै पैसा नपाउँदाको पीडा छ। पैसा नपाएका रामविलासले कसरी तिरून् साहुको ऋण।

न धेरै पढेका छन्, न उनको पुर्ख्याैली सम्पत्ति छ।

खेतीपातीबाहेक अन्य केही काम गर्न आउँदैन। वर्षौदेखि खेतीकिसानी गर्दै गुजारा गरिरहेका छन् उनी।

उखु बेचेर घर खर्च चलाउने र, छोराछोरीको पढाइ खर्च जोहो गर्ने किसान भुक्तानी नपाएपछि बिचल्लीमा परेका छन्। ‘मिलले पैसा दिएन, के खाने, के लाउने कसरी छोराछोरी पढाउने?’ मलिन स्वरमा उनले भने।

ऋणका लागि थुप्रै बैंक धाए। तर, बैंकले पत्याएन।मजबुरीले साहुबाटै ३६ प्रतिशतका दरले ऋण लिन बाध्य भए।
‘साहु पैसा माग्न बारम्बार घर आउँछन्। खाली समयमा दैनिक ज्याला-मजदुरी गरेर खाने गुजारा चलाएका छौं,’ उनले भने, ‘मिलले पैसा दिए ऋण तिर्न सकिन्थ्यो, घरखर्च चलाउन पुग्थ्यो।’

जग्गाधनीबाट एक बिघा जमिन अधिया लिइ वर्षौदेखि उखुखेती गर्दै आएका छन् उनी।