आज:  | Wed, 19, Jun, 2024

आरिफ शेख इन्जिनियरिङ त्यागेर बनेको क्रिकेटर

युथ अफ वीरगंज January 30, 2020मा प्रकाशित (४ साल अघि) २३१४३ पाठक संख्या

१६ माघ, काठमाडौं । म वीरगञ्जमा जन्मिएँ । त्यहाँको माहोल नै क्रिकेटमय थियो । अझ मेरो त बुवाले नै क्रिकेट फलो गर्ने जसले गर्दा ममा पनि प्रभाव प‍र्‍यो ।

सानोमा रहरको लागि क्रिकेट खेलिन्थ्यो । अहिले देशको लागि क्रिकेट खेलिरहेको छु । राष्ट्रिय झण्डा अंकित जर्सी लगाएर खेल्दा अनि नेपालको राष्ट्रिय गान बज्दा आनन्द अनुभूति हुन्छ ।

वीरगञ्जबाट इन्जिनियरिङ अध्ययनका लागि काठमाडौं आएको केटो यहाँ आएपछि क्रिकेटर बनेँ । पढ्दै क्रिकेट खेलेँ । संयोगबस मैले चाँडै नै राष्ट्रिय टिमबाट खेल्न पाएँ । जसले गर्दा धेरै सिक्ने मौका पनि पाएँ । नेपालको लागि सधैँ राम्रो खेलौँ गेम जिताउन सहयोग गर्न सकौं भन्ने लक्ष्य हुन्छ ।

मेरो करियर स्कुल क्रिकेटबाटै शुरु भएको हो । त्यहीबाट मैलै अवसर पाउँदै गएँ । हाम्रो स्कुलको प्रिन्सिपलले राम्रो खेल्यो भने स्कलरसिप दिनुहुन्थ्यो । मैले पनि स्करलसिप पाउँदा परिवारलाई खर्चको बोझ केही कम हुन्थ्यो । स्कलरसिप पाएपछि क्रिकेटमा प्यासन बढ्दै गयो । स्कुल, कलेज, क्लब हुँदै राष्ट्रिय टिमसम्म खेलेँ ।

मेरो घर नारायणी क्रिकेट रंगशालाको छेउमै छ । उता तराईतिर प्राय क्रिकेट नै खेलिन्छ । मेरो ड्याडी (बुवा) पनि पहिलादेखि नै क्रिकेट हेर्ने । ठूलो फ्यान । घरमा हुँदा जहिल्यै म्याच हेर्ने उहाँ । अनि म पनि हेर्थें । हेर्दाहेर्दै मलाई सिकाउनुभयो बुवाले ।

मलाई पनि पहिला सिभिल इन्जिरियरिङ गर्ने चाहना थियो । पछि क्रिकेटमा राम्रो हुँदै गयो । खेल्दै जाँदा क्रिकेट मेरो पहिलो प्राथमिकता भयो ।

घरमा ब्याट थिएन । ममीले लुगा धुने काठको मुंग्रोलाई ब्याट मानेर म र भाइ खेल्ने गर्थ्यौ‌ं । इन्ट्रेस्ट पनि बढ्दै गयो । पछि मैले सरप्राइज गिफ्ट ब्याट पाएँ । मेरो जन्मदिनमा ड्याडीले ब्याट किनेर ल्याइदिनुभयो । नयाँ ब्याट पाएपछि रमाइलो लाग्यो । झन् खेलम् जस्तो भयो ।

मलाई जहिल्यै भाइले बलिङ गर्थ्यो, म ब्याटिङ गर्थें । भाइलाई पनि क्रिकेटमा इन्ट्रेस्ट भयो । स्कुलमा म कप्तान थिएँ । म जहिल्यै बेस्ट ब्याट्सम्यान म्यान अफ दि सिरिज भइराख्ने । हामी योजना गरेर खेल्थ्यौँ । टुर्नामेन्टमा राम्रो गर्ने, स्कलरसिप पाउने अनि घरबाट सहयोग हुन्छ भन्ने भयो ।

मैले एसएलसी विद्या सदन सेकेण्डरी स्कुलबाट पास गरेँ । त्यसपछि म अध्ययनकै लागि काठमाडौ आएँ । क्रिकेटकै माहोल भएको ठाउँमा आएँ ।

६ वर्षअघि नेपाल प्रिमियर लिग (एनपीएल) भएको थियो । त्यहाँ सञ्जय सर आउनुभएको थियो म गोल्डेनगेट पढ्न चाहन्छु भनें । उहाँले आउँदा हुन्छ भन्नुभयो । म प्लस टुका लागि गोल्डेनगेट कलेज भर्ना भएँ । स्कलरसिप पाएँ ।

मेरो पहिलो प्राथमिकता पढाइ नै थियो । मलाई पनि पहिला सिभिल इन्जिरियरिङ गर्ने चाहना थियो । पछि क्रिकेटमा राम्रो हुँदै गयो । खेल्दै जाँदा क्रिकेट मेरो पहिलो प्राथमिकता भयो । प्लस टु पढ्दै थिएँ, पछि नेशनल टिममा परेँ र त्यहाँ पनि राम्रो हुँदै गयो । अनि टिमबाट बाहिरिए पनि । योभन्दा अझै राम्रो गर्नुपर्छ यसले भएन भनेर मिहिनेत गर्न थालेँ र क्रिकेटमा लगाव हुन थाल्यो ।

राष्ट्रिय टिममा छुट्टै प्रेसर हुन्छ म म्याचुएर्ड पनि थिएँ । जसले गर्दा निरन्तरता भएन राष्ट्रिय टिममा । अहिले ३ वर्षदेखि टिममै छु पहिलाको भन्दा अलि अनुभवी भएको छु ।

हामी दाजुभाइ नै क्रिकेटर छौँ । एउटै घरबाट दुई जना क्रिकेटर भन्दा खुशी लाग्छ । परिवारको लागि पनि ठूलो कुरा हो । एउटै टिममा खेल्नु भनेको झन् आनन्द । दुवैको खेल हेर्न पाइन्छ कस्तो भइरहेको छ भनेर समीक्षा हुन्छ । सहयोगी हुन्छ । अरुको लागि पनि उदाहरण जस्तो हुन्छ ।

बुवा पनि सानोमा क्रिकेट खेल्नुहुन्थ्यो रे । पछिसम्म पनि क्रिकेट खेल्ने सपना थियो उहाँको तर पारिवारिक पृष्ठभूमि राम्रो नभएकाले खेल्न पाउनुभएन । बच्चैदेखि काम गर्नुभयो, पढ्नुभयो रे । अहिले वर्कसप चलाउनुहुन्छ । आफूले क्रिकेट खेल्न नपाए पनि छोरा, छोरीहरु खेलकुदमै लागुन् भन्ने चाहना छ उहाँमा । त्यसैले हामीलाई धेरै सपोर्ट गर्नुहुन्छ ।

हाम्रो खेलपछि बुवाले राम्रो गरेमा बधाई दिनुहुन्छ र नराम्रो भएमा सच्याउन भन्नुहुन्छ । तिमीहरु राम्रो खेल भन्नुहुन्छ । हरेक म्याचमा तिमीहरुकै खेलले जिताओस्, तिमीहरुकै नाम सुन्न पाउँ भन्नुहुन्छ उहाँले । मैले राम्रो गर्दा बुवा जहिल्यै खुशी बन्नुहुन्छ । वीरगञ्जले राष्ट्रिय प्रतियोगिता जित्दा, डीपीएल जित्दा, पीपीएल जित्दा एकदमै खुशी हुनुभाथ्यो ।

मैले इन्टरनेशनलमा पनि ३–४ वटा म्याचमा राम्रो गरेको छु । त्यो पछि बुबाले हाँसेर तिमीले राम्रो ग‍र्‍यौ भन्नुभाथ्यो । मिस्टेकहरु पनि भन्नुहुन्छ । मेरो बुबा एकदमै राम्रोसँग क्रिकेट बुझ्नुहुन्छ । कुनै म्याचमा मैले नराम्रो सट खेलेर आउट हुँदा घर पुग्नेबित्तिकै सम्झाउनुहुन्छ । त्यसले गर्दा पनि सपोर्ट हुन्छ ।

 

२०१४ भएको एकदिवसीय राष्ट्रिय प्रतियोगिता मेरो जीवनकै उत्कृष्टमध्ये एक थियो । किनभने मैले त्यसमा राम्रो स्कोर गरेको थिएँ । हरेक म्याच हामीले जितेका थियौँ । फाइनलमा प्रेसर थियो । मैले अमित दाइसँग १४७ रनको साझेदारी गरें, जसले गर्दा हामीले एपीएफलाई हराएर उपाधि जित्यौँ । त्यो वीरगञ्जले धेरै पछि जितेको उपाधि थियो र त्यो अहिलेसम्म पनि यादगार छ ।

मैले म्यान अफ दि सिरिजको अवार्ड पनि जितेँ । यो हाम्रोलागि र मेरोलागि पनि एकदमै खुशीको क्षण थियो । फाइनलमा बलिङमा १ विकेटसमेत लिएँ । सिनियर लेभलमा फाइनलमा आफ्नो योगदानले जिताउँदा अर्कै आनन्द आयो । मैले फाइनलमा ७० रन बनाएँ । प्रतियोगिताभर मैले २६१ रन बनाएको थिएँ र ११ विकेट पनि लिएको थिएँ । त्यही प्रदर्शन थियो जसले मलाई राष्ट्रिय टिमको क्याम्पसम्म यात्रा गरायो ।

via :- Onlinekhabar.com