आज:  | Sat, 22, Jun, 2024

घडीअर्वा पोखरी दिन प्रति दिन जिर्ण हुँदै :-संचालक समिति सदस्य लखन गुप्ता

युथ अफ वीरगंज February 22, 2020मा प्रकाशित (४ साल अघि) ९६१९ पाठक संख्या

घडीअर्वा पोखरी दिन प्रति दिन जिर्ण हुँदै : घडीअर्वा पोखरीका संचालक समिति सदस्य लखन गुप्ता

वीरगञ्जको धरोहरको रुपमा रहेको घडीअर्वा पोखरीको अवस्था दिनप्रति दिन जिर्ण हुँदै गएको छ । वीरगञ्ज महानगरपालिकाभित्र रहेको घडीअर्वा पोखरीको अवस्था दिनप्रति दिन जिर्ण हुँदै गएपनि सरोकारवाला मौन रहेका छन् । स्थानीय सरकारले कर बटुल्ने मात्र काम गरेको र घडीअर्वालाई वेवास्ता गरेको स्थानीय तथा संरक्षण समितिको आरोप छ ।

ठेक्का लिएको मितिबाट आफूले संरक्षरण गरिरहेको तर कर जम्मा गर्ने काम महानगरपालिकाले मात्र गर्दै आएको र संरक्षणको निम्ति केही गर्न नसकेको भन्दै घडीअर्वा पोखरीका संचालक समिति सदस्य लखन गुप्ताले बताउनुभयो। वीरगञ्जको सुन्दरताको रुपमा रहेको घडीअर्वा पोखरीको संरक्षणको निम्ति आफ्नो लगानीले धेरै काम गरेपनि महानगरपालिकाले चासो नदेखाएको उहाँको भनाइ छ ।

महानगरपालिकाको लापरबाहीका कारण घडीअर्वा पोखरीको अवस्था जिर्ण हुँदै गएपनि प्रदेश सरकारले यस विषयमा पहल गर्ने प्रतिवद्धता जाहेर गरेको गुप्ताले जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य शुसिल कुमार कानुले घडीअर्वा पोखरीमा नयाँ वाटर फलको आवश्यकता भएकाले ठेकेदार कम्पनीले लगाउन नसकेको र वीरगञ्ज महानगरपालिकाले चासोसमेत नदेखाएको भन्दै पन्छिन खोज्नुभयो ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवका स्वकीय सचिव निखिल वर्णवालले अधिराज्यकै सबैभन्दा ठूलो छठ घाटको रुपमा रहेको घडीअर्वा पोखरी केन्द्र सरकारको वेवास्ताका कारण जिर्ण भएको आरोप लगाउनुभयो ।

स्थानीय सरकार, प्रदेश सरकारलगायत केन्द्र सरकारले ध्यान नपुर्याएका कारण वीरगञ्ज घडीअर्वा पोखरीको अवस्था विग्रिँदै गएको भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाभित्र अधिकांश धरोहरको रुपमा रहेको अधिकांश भौतिक पूर्वाधारहरुको अवस्था दिनप्रति दिन जिर्ण हुँदै गएका छन् । जिर्ण भौतिक पूर्वाधारहरुको मर्मत कार्य कागजी प्रकृयामा मात्र सिमित भएको स्थानीयको आरोप छ ।