आज:  | Wed, 19, Jun, 2024

आवश्यक परे क्वारेन्टाइनका लागि पुरै अस्पताल जिम्मा लगाउने : बसरुद्दिन अन्सारी

युथ अफ वीरगंज March 21, 2020मा प्रकाशित (४ साल अघि) ७९१८ पाठक संख्या

बीरगन्ज, ७ चैत – नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दिन अन्सारीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक परे पुरै अस्पताल राज्यलाई प्रयोग गर्न दिन सक्ने बताएका छन् ।

नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै अन्सारीले सो कुरा सरकारलाई जानकारी गराइसकेको बताए । शिक्षण अस्पताल सन्चालन गर्न राज्यले नै अनुमति दिएको र राज्यकै सहयोगमा दुई पैसा कमाएको जिकिर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न नेशनल मेडिकल कलेज प्रशासन तयारी अवस्थामा रहेको उनले प्रस्ट पारे ।

कोरोना संक्रमितलाई छुट्टै ठाउँमा राखेर उपचार गर्नुपर्ने हुदाँ ठाउँको आवश्यकता परेमा बीरगन्ज र काठमाडौंस्थित नेशनल मेडिकल कलेजका सम्पूर्ण शय्या क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिन सक्ने उनको भनाई छ । यसका लागि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तयार रहेको उनले बताए । बीरगंजस्थित अस्पताल १०५० र काठमाडौंस्थित अस्पताल २३२ शय्या क्षमताको छ ।

तर राज्यले अस्पताल र स्वास्थ्यकर्मीको दुवैको सुरक्षाको जिम्मा लिनुपर्ने उनको माग छ ।

हाल बीरगन्जस्थित सो अस्पतालमा कोरोना संक्रमितका लागि ५० वटा वार्ड छुट्याइएको छ ।