आज:  | Sat, 22, Jun, 2024

संक्रमित १२ जनालाई विराटनगर लगिँदै, मस्जिद क्षेत्र सिल गर्ने तयारी

युथ अफ वीरगंज April 17, 2020मा प्रकाशित (४ साल अघि) ९०९३१ पाठक संख्या

लकडाउनकै अवधिमा विराटनगरबाट आइपुगेका थिए भुल्के

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी थालिएको छ ।

लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुसँगै रहेका अन्य ४ नेपालीको पनि स्वाबको पिसिआर परीक्षण गरिएको थियो । उनीहरुमा भने पोजिटिभ देखिएको छैन ।

पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्‍यापिड टेस्ट गरिएको थियो । उनीहरुको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गर्ने र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए । संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स खोजी भइरहेको उदयपुर प्रशासनले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै उदयपुर आएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए । भारतीयले आफूहरु मोरङबाट राजविराज हुँदै आएको बताएका छन् । उनीहरुले सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ तीनदेखि ५ सम्म भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएको बताएका छन् । उनीहरुसँगै आएका ४ नेपाली मोरङका हुन् ।