आज:  | Wed, 19, Jun, 2024

एमालेसंग ठगबन्धन गरेर मधेसी शहिदकाे अपमान गरेकाे जसपालाई जनताले सबक दिनेछन् : अजय चाैरसिया

युथ अफ वीरगंज November 17, 2022मा प्रकाशित (१ साल अघि) ३०२५ पाठक संख्या

वीरगन्ज ,०१ मंसिर : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चाैरसियाले मधेस विराेधी एमालेसंग अपबित्र गठबन्धन गरेर जसपाले मधेस आन्दोलन र मधेसी शहिदहरुकाे अपमान गरेकाे बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगाैलीमा बुधबार राति आयाेजित रात्री सभालाई सम्बाेधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चाैरसियाले भने , जुन एमालेले मधेस आन्दाेलनलाई माखे साङ्लाे भन्याे , मधेसी सपुतहरु मारिदा दुई चार वटा आँप झरेर केही फरक पर्दैन भनेर खिसि ट्युरी गर्याे त्यहि एमालेसंग अहिले चुनावमा गठबन्धन गरेर जसपाले मधेस आन्दाेलन र मधेसी शहिदहरुकाे बलिदानी र त्यागकाे अपमान गरेकाे छ ।

उनले मधेसी शहिदका परिवारलाई ५० लाख रुपैया दिने भाषण गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले भैंसी दिएर झारा टारेकाे आराेप पनि लगाए । उनले भने, अहिले जसपाका उम्मेदवार  भाेट माग्न जनता बिच आइरहेका छन् , उनिसंग जनताले मधेसी शहिदका परिवारलाई ५० लाख खाेइ ? भनेर प्रश्न गर्नु पर्छ ? मधेस र मधेसीलाई सधै हेप्ने एमालेसंग अहिले गठबन्धन किन गर्नु पर्याे ? भनेर साेध्नु पर्छ ।

चाैरसियाले सत्ता स्वार्थका लागि पटक पटक मधेस विराेधी एमालेलाई साथ दिने जसपालाई यसपालिको चुनावमा मधेसी जनताले सबक दिने जिकिर पनि गरे । पर्सा २ मा अहिले जसपाबाट उम्मेदवार बनेका र आफुलाई विद्वान भन्दै हिडेका व्याक्तिका बारेमा जनता जानकार रहेकाे भन्दै चाैरसियाले भने, उनी आफुलाई विद्वान भन्दै भ्रम छर्दै हिडेका छन् , उनी विद्ववान भन्ने व्याक्तिसंग हरेक विषयमा म खुल्ला बहश गर्न तयार छु , याे मेराे चुनाैती हाे ।

आफू प्लटिङकाे धन्दा गर्ने व्यपारी नभएकाे भन्दै उनले भने, म जनसेवक हु , चुनाव जिते पनि हारे पनि जनताकाे बिचमा रहेर जनताकाे सेवा गर्दै आएकाे छु , यस क्षेत्रका सारा जनतालाई थाहा छ ।

आफू दुई पटक सांसद र एक पटक मन्त्री बन्दाका समय हरेक गाउँ गाउँमा पक्की सडक, नाला , पुल, धर्मशाला , विधालय भवन बनाएका कारण नै अहिले पनि आफू प्रति जनलहर बढेकाे देखेर जसपाका उम्मेदवारले अत्तालिएर गाली गलाैजमा उत्रिएकाे भन्दै चाैरसियाले भने , तर त्यस्ता गाली गलाैजले मलाई केही फरक पर्दैन , बरु अनुराेध गर्छु फाेहाेरी राजनीति नगर्नुस् यदि मैले बाेल्न थाले भने तपाईका धेरै पाेल खुल्नेछ , तर म त्याे अवस्था नआओस् भन्ने नै चाहन्छु ।

उनले अबकाे चुनावबाट फेरि केन्द्रमा र मधेस प्रदेशमा पनि काँग्रेस नेतृत्वकै सरकार बन्ने ठाेकुवा पनि गरे ।त्यस कारण जसपाले दुई चार सिट जित्दैमा    त्यसले न त मधेस न त देशका लागि केही गर्न सक्ने भएकाले गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मत दिई विजयी गराउन चाैरसियाले आग्रह गरे ।

उनले राणा, पन्चायत र राजालाई फाल्ने काँग्रेसका नेता कार्यकर्ता र जनता जनार्दनलाई नधम्क्याउन जसपा र एमालेलाई चेतावनी पनि दिए 

रात्री सभालाई पर्सा २ (ख) का प्रदेशसभा सदस्य उम्मेद्वार रमेश कुर्मीले पनि सम्बाेधन गरेका थिए ।