आज:  | Tue, 25, Jun, 2024

अटेरी कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कलवार, अदालतको आदेश पनि मानेनन्

युथ अफ वीरगंज June 27, 2023मा प्रकाशित (१२ महिना अघि) १७३२६ पाठक संख्या


वीरगञ्ज, १२ असार । गत स्थानीय तहको निर्वाचनमा पर्साको कालिकामाई गाउँपालिकावासीले २१ वर्षीय युवा वासिष्ठकुमार कलवारलाई अध्यक्ष बनाएर पालिका चलाउने जिम्मेवारी दिए । कलवारलाई देशकै कान्छो पालिका प्रमुख बनाउँदै उनीहरूले फरक र नयाँ दृष्टिकोणसहितको विकास र परिवर्तनको अपेक्षा गरेका थिए । तर, अहिले आएर ठिक उल्टो भइरहँदा उनलाई भोट दिने मतदाता पछुताइरहेका छन् ।

कान्छो पालिका प्रमुख कलवारको पहिलो वर्षको कार्यकाल विवादका बिच बितेको छ । निर्वाचित भएदेखि एकलौटी ढङ्गले पालिका हाँक्न खोजेको आरोप खेप्दै आएका कलवार सर्वोच्च अदालतको निर्णय नमान्ने आफ्नो अडानका कारण फेरी विवादमा मुछिएका छन् । सर्वोच्च अदालतबाट नियमित कामकाजमा फर्किन आदेश पाएका गाउँपालिकाका कर्मचारीलाई हाजिर हुन नदिने आफ्नो अडानका कारण कलवार विवादमा तानिएका हुन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक योगेन्द्रप्रसाद चौरसियालाई हाजिर हुन नदिने कलवारले अनेक तिकडमबाजी अपनाइ रहेका छन् । चौरसियाले सर्वोच्चबाट ल्याएको आदेश दर्ता नगराउन् भनेर उनले दर्ता चलानी फाँटमा तालाबन्दी गरेका छन् । कार्यालय सञ्चालनको लागि नभई नहुने दर्ता, चलानी र हाजिरी पुस्तिका भएको फाँटमा तालाबन्दी भएपछि गाउँपालिकाको सम्पूर्ण कामकाज नै ठप्प भएको छ ।

निकटतम व्यक्तिलाई जिम्मेवारी दिन कलवारले गत चैत १२ गते कार्यपालिका बैठकबाट निर्णय गराएर चौरसियालाई स्वास्थ्य संयोजकको पदबाट हटाएका थिए । चौरसियालाई हटाएर उनको ठाउँमा कलवारले आफू निकट धिरजकुमार साहलाई संयोजक बनाए । यद्यपि आफ्नो पद कानून विपरीत खोसिएको भन्दै चौरसियाले कालिकामाई गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे । रिटमाथि सुनुवाइ गर्दै जेठ ३० गते सर्वोच्च अदालतले चौरसियालाई साबिककै जिम्मेवारीसहित कामकाजमा हाजिर गराउन अल्पकालीन आदेश जारी गर्दै गाउँपालिकालाई निर्देशन पनि दियो । तर कलवारले अदालतको आदेशको अवहेलना गर्दै चौरसियालाई हाजिर दिइरहेका छैनन् ।

‘मैले हाजिरी गर्न नसकूँ भनेर मात्र अध्यक्षजीले दर्ता, चलानी र हाजिरी पुस्तिका लुकाएर फाँटमा तालाबन्दी गर्नुभएको छ,’ चौरसियाले भने, ‘मसँग दोस्रो पटक यस्तो अन्यायपूर्ण व्यवहार भएको हो ।’ निर्वाचित भएको केही महिनाभित्रै अध्यक्ष कलवारले चौरसियालाई यसै गरी स्वास्थ्य संयोजकको पदबाट हटाएर अरूलाई जिम्मेवारी दिएका थिए । ‘त्यो बेला पनि सर्वोच्चबाट अल्पकालीन आदेश ल्याएर म हाजिरी भएको थिएँ, यस पटक त अध्यक्षजी अदालतको आदेश पनि मान्दिन भन्दै हुनुहुन्छ, सर्वोच्चले पठाएको पत्र दर्ता गराउन नसकूँ भनेर दर्ता, चलानी पुस्तिका लुकाएर फाँटमा तालाबन्दी गर्नुभएको छ,’ उनले थपे ।

चौरसियाका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि उनलाई जिम्मेवारीबाट हटाउने कलवारको निर्णयलाई नियम विपरीत बताएको छ । चौरसियालाई विभागीय कारबाही गर्नु भन्दै कलवारले गत चैत्र २८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गरेका थिए । कर्मचारी आचरण विपरीत काम गरेको आरोप लगाएर उनले चौरसियालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयमा सिफारिस गरे पनि त्यसलाई कर्मचारी समायोजन ऐन र कानून विपरीत भएको बताउँदै मन्त्रालयले वैशाख ६ गते नै गाउँपालिकामा पत्र पठाएर पुनः आफूलाई हाजिर हुन् आदेश दिएको चौरसियाको दाबी छ ।

सुरुमा स्वास्थ्य मन्त्रालयले पठाएको पत्रको आधारमै आफूले केही दिन हाजिरी गरेर कामसमेत गरेको चौरसिया बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयको पत्र गाउँपालिकामा दर्ता गराएर मैले केही दिन काम पनि गरेँ,’ उनले भने, ‘तर, अध्यक्षजीले रातो पेन लगाएर मैले गरेको सबै हाजिरी काटिदिनुभयो ।’ त्यसपछि प्रमुख जिल्ला अधिकारीको सुझावमा जेठ २४ गते सर्वोच्च अदालतमा गाउँपालिकाविरुद्ध आफूले रिट दायर गरेको उनले सुनाए ।

चौरसियाले गाउँपालिका कार्यालय र अध्यक्ष कलवारविरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी गरी रहेका छन् । ‘सधैँ कार्यालय पुगेर फिर्ता हुन्छु, अझै कति दिन यसै गरी चल्छ ?,’ उनले प्रश्न गरे, ‘अब अदालतको अवहेलना मुद्दा हाल्नुको मसँग विकल्प छैन ।’

अध्यक्ष कलवारले गाउँपालिकाको स्वास्थ्य शाखामा पनि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण स्वास्थ्य शाखाको कामकाज पनि ठप्प हुँदा लाखौँ रकम फ्रिज हुने चौरसियाले बताए । ‘मलाई जिम्मेवारीबाट हटाएदेखि स्वास्थ्य शाखाको कामकाज ठप्प छ । आर्थिक वर्षको अन्त्य अन्त्यसम्म पनि जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयसँग जोडिएको लाखौँका योजनाहरू सुरु हुन सकेका छैनन्, अब सबै रकम फ्रिज हुन्छ,’ उनले भने ।

अध्यक्ष कलवारले दर्ता, चलानी र हाजिरी पुस्तिका आफ्नो नियन्त्रणमा राखेर फाँटमा तालाबन्दी गरेको गाउँपालिकाका प्रशासन प्रमुख सरोज साहले पनि पुष्टि गरे । ‘अस्ति दर्ता, चलानी र हाजिरी पुस्तिका अध्यक्षजीले आफ्नो नियन्त्रणमा राख्नु भएको थियो । पछि केही स्थानीय अनलाइन र पत्रिकाले समाचार लेखेपछि फाँटमा फर्काउनुभयो,’ साहले भने, ‘तर शुक्रवारदेखि फाँटमै तालाबन्दी गरिएको छ । कसले गर्‍यो सोध्दा स्विकार्न कोही पनि तयार छैन ।’ दर्ता, चलानी र हाजिरी पुस्तिका नहुँदा शुक्रवारदेखि नै गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको उनले बताए । ‘अध्यक्षजीले आफै दर्ता, चलानी गर्नु भइरहेको छ भने मलाई थाहा भएन तर प्रशासन शाखालाई यस सम्बन्धी कुनै जानकारी छैन,’ उनले थपे । हाजिरी गर्न नपाएपछि गाउँपालिकाका कर्मचारी कार्यालय आउनसमेत छाडेको उनले बताए ।

विवादका कारण गाउँपालिकाको गाउँ सभा पनि अनिश्चित भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको गाउँ तथा नगर सभा मार्फत नीति, कार्यक्रम तथा बजेट पेस गर्दै १५ दिन भित्र त्यसलाई बहुमतका साथ पारित गर्नुपर्ने व्यवस्था छ । तर, कालिकामाई गाउँपालिकाले आज असार १२ गतेसम्म पनि गाउँ सभाको तयारीसमेत सुरु गरेको छैन ।

गाउँपालिकाले समयमै गाउँ सभा गरेर बजेट नल्याए सङ्घीय र प्रदेश सरकारबाट राजश्व बाँडफाँड मार्फत पाउने अनुदानमा कटौती हुन्छ । बजेट कटौती हुँदा विकास निर्माणको काममा ढिलाइ हुन जान्छ । ‘गत वर्ष पनि ढिलो गरेर गाउँ सभा गर्दा एक करोड रुपैयाँ भन्दा बढी अनुदान कटौती भएर आयो, यस पटक फेरी ढिलो भइरहेको छ,’ वडा नम्बर २ का वडा अध्यक्ष सोनालाल चौरसियाले भने ।

यसैबिच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि अन्यौलता थपिएको छ । गाउँपालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको जिराभवानी गाउँपालिकामा सरुवा भएपछि उनको सट्टा आउन लागेका नमोनाथ यादवलाई पनि अध्यक्षले हाजिर हुन दिइरहेका छैनन् । यादवले केही दिनभित्रै हाजिर हुन्छन् भनेर मन्त्रलायबाट इमेल आएपनि उनि हाजिर नभएको प्रशासन प्रमुख सरोज साहले बताए । ‘गाउँपालिका आउन लाग्नुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्षजीले हाजिर नगर्न धम्की दिनुभएको छ,’ नाम नखुलाउने सर्तमा एक वडा अध्यक्षले भने ।

वडा नम्बर ४ का वडा अध्यक्ष सञ्जय साहले पनि अध्यक्ष कलवारकै कारण प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादव हाजिर हुन नसकेको बताए । ‘आइतबारदेखि नै हाजिर गर्छु भनेर नयाँ हाकिम सा’बले मलाई फोन गर्नुभएको थियो । तर उहाँलाई अध्यक्षजीले आज नआउनुहोस्, भोली सोमबारदेखि आउनु होला भनेर आउन दिनुभएन,’ साहले भने, ‘सोमबार फेरी फोन गरेर उहाँले हाकिम सा’बलाई बुधवारदेखि मात्र आउनु होला भनेर भन्नु भएको छ । अब हेरौँ बुधवार के हुन्छ ।’

साहले पनि सर्वोच्चको आदेशअनुसार स्वास्थ्य शाखाका प्रमुख योजेन्द्रप्रसाद चौरसियालाई हाजिर नहुन दिन अध्यक्ष कलवरले दर्ता, चलानी र हाजिरी पुस्तिका लुकाएर फाँटमा तालाबन्दी गरेको आरोप लगाए । ‘पछिल्लो डेढ महिनादेखि पूरै पालिका अस्तव्यस्त बनेको छ । अध्यक्षजीको अडानका कारण कुनै काम हुन सकेको छैन । कहिले के गर्नु हुन्छ, कहिले के । दर्ता, चलानी पुस्तिका लुकाउनु जस्तो काम गर्न उहाँलाई सुहाएन,’ उनले भने ।

अध्यक्षको हैकमवादका कारण गाउँपालिकाका ज्येष्ठ नागरिकले महिनौँदेखि भत्ता नपाएको, निजी स्रोतमा भर्ना गरिएका सामुदायिक स्कूलका शिक्षक र स्वयंसेवकहरूले पनि तलब नपाएको उनले बताए । उनका अनुसार अध्यक्षले आफू निकट व्यक्तिहरूलाई करारमा नियुक्ति पनि दिएका छन् । ‘प्रक्रिया केही पुर्‍याइएको छैन, सोझै आफू निकटका मान्छेहरूलाई नियुक्ति दिने काम भएको छ । नियुक्ति पाएकाहरूले कहाँ काम गर्छन् भन्ने समेत हामीलाई थाह छैन,’ उनले भने ।

यता, गाउँपालिका अध्यक्ष वासिष्ठकुमार कलवारले उनीमाथि लागेका सबै आरोप निराधार भएको बताए । विपक्षीहरूले आफूलाई असफल बनाउन आरोप लगाएको उनको दाबी छ । ‘गाउँपालिकाको सम्पूर्ण कामकाज नियमित रूपमा भइरहेको छ । दर्ता, चलानी लुकायो भन्ने सबै झुटो कुरा हुन्,’ उनले भने, ‘कर्मचारी बिरामी भएपछि एक दिन काम रोकिएको हुनसक्छ तर काम नै ठप्प भयो भन्ने आरोप सरासर गलत हो ।’

कलवारले बुधवारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतले हाजिर भएपछि असार २० गते भित्र गाउँ सभा गरेर नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने बताए । ‘अन्तिम समयमा हाकिमको सरुवा हुँदा गाउँ सभा गर्नमा हामी अलि पछाडि परेका छौँ । कालिकामाईले चालू आर्थिक वर्षमा उत्कृष्ट काम गरेको उनले दाबी पनि गरे ।

स्वास्थ्य शाखाका संयोजक योगेन्द्रप्रसाद चौरसियालाई भने कुनै पनि हालतमा गाउँपालिकामा हाजिर गर्न नदिने उनले बताए । ‘अदालतमा गलत विवरण देखाएर आदेश गराएका रहेछन्, हामीले सही कागजात अदालतमा पठाएका छौँ,’ कलवारले भने, ‘काम कम र राजनीति बढी गर्ने कर्मचारी हामीलाई गाउँपालिकामा चाहिँदैन । त्यसमाथि गलत पत्र देखाएर अदालतलाई समेत झुक्क्याएर गाउँपालिकालाई बदनाम गर्ने काम पनि उहाँबाट भएको छ ।’

तर, अध्यक्ष कलवारले दाबी गरे जस्तो गाउँपालिकामा सबै कुरा ठिक छैन । जनप्रतिनिधि र कर्मचारीले उनको दाबीलाई झुटो बताइरहेका छन् । स्रोतका अनुसार कलवारले आफ्ना एक जना काकाको निर्देशनमा निर्णयहरू लिने गरेका छन् ।

गाउँपालिकामा यसरी विवाद हुँदा त्यहाँका जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका विभिन्न विकासका योजनाहरू अलपत्र छन् । विकासको पर्खाइमा रहेका कालिकामाईवासी जनप्रतिनिधि र कर्मचारीको विवादका कारण चेपुवामा परेका छन् । दैनिक रूपमा प्राप्त गर्न सक्ने आधारभूत सेवाबाट समेत उनीहरू वञ्चित भइरहेका छन् ।