आज:  | Sat, 22, Jun, 2024

भन्सार क्लियरिङ एजेंट मनोज कुर्मीको कालोधन लुकाउने अनेक तिकडम

युथ अफ वीरगंज February 6, 2024मा प्रकाशित (४ महिना अघि) ४९५७ पाठक संख्या

वीरगंज । जनताको सेवक हुनुपर्ने जनप्रतिनिधि कालोधन्दामा लिप्त रहेर अकुत आर्जन गर्न तल्लिन भएको पाइएको छ । वीरगंज महानगरपालिका वडा नं. १ का वडाअध्यक्ष रहेका कमल राउत कुर्मीका छोरा मनोज राउत कुर्मी अकुत आर्जन गर्न कालोधन्दामा लिप्त रहेको भेटिएको हो । 

वीरगंज भन्सारमा क्लियरिङ दलाल (एजेंट) रहेका कुर्मीले नुनदेखि सुनसम्मका वस्तु तस्करी गराउने गरेको पाइएको छ । भन्सारकै अधिकृतसँगको सेटिङमा उनले एउटै प्रज्ञापनपत्रबाट पटक पटक मालसामान छुटाउने तथा न्यून विजकिकरण गरेर महंगो मूल्यका मालसापान छुटाउने गरेको स्रोतको दावी छ । 

वीरगंज भन्सारमा चर्चित रहेको ‘बालाजी क्लियरिङ’ मनोज र उनका बुवा कमल राउत कुर्मीले संचालन गर्ने गरेका छन् । यही क्लियरिङमार्फत छुटाइएका साधनमा नुनदेखि सुनसम्मका वस्तुहरु नेपालका विभिन्न शहरमा पुर्याइने गरिएको छ । भन्सार कर्मचारीलाई दुरुपयोग गरेर कुर्मीले अकुत आर्जन गरिरहेका छन् । उनी जस्तै क्लियरिङ दलालको काम गर्नेहरु भन्छन् यहाँको भन्सारमा कुर्मी नै हर्ताकर्ता हुन् ।  

कुर्मीको कालाधन्दा भने अनेक छन् । वीरगंज आउने भन्सार अधिकृतलाई ‘बालाजी क्लियरिङ’ को ध्वांस दिँदै प्रलोभनमा पर्ने र पछि उनै अधिकृतको मिलेमतोमा भन्सार छली गराएर कुस्त कमाइ गर्ने गरेकोे खुलेको छ ।

यति मात्रै होइन कुर्मीले भन्सारमा थन्केका पुराना गाडी हाकिमसंगको मिलेमतोमा लिलाम गर्न लगाएर सेटिङ मार्फत आफुले सकार गर्ने र लिलामीको गाडीमा भारतबाट चोरीका गाडी ल्याई पार्टपुर्जा फेरेर मोटो रकममा बिक्री गर्ने गरेको तथ्य समेत फेला परेको छ । यसका लागि उनले वीरगंज बसपार्क चोक नजिकै रहेका एउटा ग्यारेजलाई प्रयोग गर्ने गरेका छन् ।  

कुर्मीले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणासंग घनिष्ट सम्बन्ध रहेको बताउँदै पदको चरम दुरूपयोग गर्ने गरेका छन् । पदको दुरुपयोग गर्दै कालोधन्दामा लिप्त कुर्मीको वीरगंजको प्रत्येक चोक र काठमाडौमा गरि दर्जनौ आवासीय तथा व्यवसायीक भवन छन् ।  

अकुत सम्पत्तिको स्रोत छानविन गर्ने हो भने उनले जोडेका घर जग्गा र अकुत पैसा जफत हुने वीरगंजबासीहरु बताउँछन् । दर्जनौं भवन भएका कुर्मीले घर बहाल लगाउने गरेको तर घरबाहल कर भने नतिर्ने गरेको बीरगञ्ज महानगरपालिका स्रोतले जनाएको छ ।