आज:  | Tue, 25, Jun, 2024

जीबी राईका साझेदार प्रहरीले पूर्व डिआइजी छविलला जोशीको घरमा छापा मारेको छ।

युथ अफ वीरगंज February 8, 2024मा प्रकाशित (४ महिना अघि) ३०८८ पाठक संख्या

उनको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेर सहकारी र नेचर हबसम्बन्धी महत्त्वपूर्ण कागजात बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं परिसरको टोलीले छापा मारेको हो।

पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका रवि लामिछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्र बाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात बरामद गरेको जनाएको छ।

गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर कायम हुँदा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत सेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । ४ करोड २० लाख रुपैयाँको उक्त सेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी उनी बाहिरिएका हुन् ।

जोशीको घरमा हालसम्म जीबी राईसम्बद्ध कम्पनी र सूर्यदर्शन सहकारीका कागजात तथा कम्प्युटर फेला परेका हुन् । उनको घरमा नेचर हर्ब प्रालिको कार्यालयसमेत छ । यही कार्यालयबाट सूर्यदर्शन सहकारीका सम्पूर्ण कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ । ‘सूर्यदर्शन सहकारीको अनुसन्धान सुरु गरेपछि त्यससँग सम्बन्धित दस्ताबेज तथा कम्प्युटर उपकरणहरू लुकाईछिपाई राखिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले बुधबार दिउँसो अप्रेसन गरी ४ कम्प्युटरका हार्डड्राइभ नियन्त्रणमा लिएका हौं । ती हार्डड्राइभमा सहकारीको कारोबार हुने सफ्टवेयर फेला परेको छ ।’

नियन्त्रणमा लिइएका उक्त सामग्री लिनका लागि बुधबार नै कास्की प्रहरीको टोली काठमाडौं आइसकेको छ । ‘सहकारीको रकम हिनामिना गर्नेमाथि छानबिन हुनुपर्‍यो भनेर उजुरी दर्ता भएपछि कास्की प्रहरीले सूर्यदर्शन सहकारीको बचत हिनामिनाको विषयको अनुसन्धानलाई तीव्रता दिएको छ,’ कास्की प्रहरी स्रोतले भन्यो, ‘उजुरी परेका र ऋण प्रवाह भएका व्यक्तिहरूमाथि हामीले अनुसन्धान केन्द्रित गरेका छौं ।’ पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतमाथि जाहेरी दिएका छन् ।
श्रौत :- कान्तिपुर