आज:  | Wed, 19, Jun, 2024

कांग्रेसले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान सुरु गरेको छ ।

युथ अफ वीरगंज February 18, 2024मा प्रकाशित (४ महिना अघि) ९७०३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक शुरु हुनु अगाडि हिन्दूराष्ट्रको मुद्दा गहन रुपले उठ्ने लक्षण देखिएको छ । यसअघि यो मुद्दालाई उठाइए पनि नेतृत्वले नसुनेको सन्दर्भमा यसपालि भने मुद्दाले स्थान पाउने र हिन्दूराष्ट्रको अभियानलाई कांग्रेसले ग्रहण गर्नुपर्नेमा अभियन्ताहरुको विश्वास छ ।

शुक्रबारमात्रै पार्टीको केन्द्रीय समिति बैठकमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको मुद्दालाई पूरक प्रस्तावका रुपमा लिन आग्रह गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

शनिबार भने कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताएका हुन् । अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्यभीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन् ।

यो महाअभियानले सोमबारदेखि शुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको अजेन्डा उठाउने तयारी गरेको छ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई उपेक्षा गरिएको भन्दै यसपालि महासमिति बैठकमा हिन्दूराष्ट्रको अजेन्डा जोडतोडका साथ उठाइने नेताहरुले बताएका छन् ।