पर्सा, २०८२ जेठ ४ — विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ स्थित छपकैया गाउँका तीनवटा घरमा छापा मारी ठूलो परिमाणमा अबैध तयारी कपडा बरामद गरेको छ।
भारतबाट चोरीपौडारी तथा भन्सार छली गरी लुकाई छिपाई गोदाममा राखिएको तयारी कपडा बरामद गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
सिंहका अनुसार, बरामद कपडाको भन्सार मूल्य ६,९८,८०० रुपैयाँ बराबरको रहेको छ। नियन्त्रणमा लिइएको सम्पूर्ण सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
यस प्रकारको संयुक्त कारबाहीले सीमा क्षेत्र हुँदै हुने अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्ने सशस्त्र प्रहरी बलको विश्वास छ। पछिल्लो समय वीरगंज क्षेत्रमा भन्सार छलीका घटनामा वृद्धि भइरहेको जनाउँदै, सुरक्षाको दृष्टिकोणले निगरानी अझ कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध कारोबार विरुद्ध निरन्तर निगरानी
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्नका लागि समय समयमा विशेष सूचना संकलन तथा साझा अपरेशन गर्दै आएको छ। सिमा पारवाट हुने भन्सार छली, लागू औषध ओसारपसार लगायतका क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरीको सक्रियता प्रशंसनीय रहेको स्थानीयहरूले बताएका छन्।
यस किसिमका कारबाहीले सीमा सुरक्षा मजबुत हुनुका साथै राज्यको राजस्व संरक्षणमा समेत टेवा पुग्ने विज्ञहरू बताउँछन्।