सुख्खाग्रस्त मधेसमा धान खेती हुने जमिनको आधा भागमा पनि अहिलेसम्म रोपाइँ हुन सकेको छैन। यो याममा लगाइएको धानसहित अन्य बालीहरू पनि सप्रिने छाँट छैन। खेतवालीमा मात्र होइन कि सामान्य दिनचर्याका लागि आवश्यक पानीको पनि चरम अभाव भइरहेको छ। आकासे र भू-सतह दुवैको पानीले ‘धोका’ दिएपछि कष्टकर बनेको मधेसको जनजीवन सहज बनाउन तत्कालै गर्नुपर्ने कामहरूको प्राथमिकीकरणमा हाम्रा सरकारहरू चुकेका छन्।
खुद्रे कार्यक्रमहरू ल्याएर थोकभर हल्ला गरिरहेका प्रदेश र कतिपय स्थानीय सरकारहरूभन्दा सङ्घीय सरकारको कृत्य पनि अहिलेसम्म खासै फरक भन्न लायक रहेन। विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि सोअनुरूप सङ्घीय सरकार र त्यसका इकाईहरूबाट जुन कार्यात्मक गतिविधि हुनुपर्थ्यो, त्यो देखिएन। सरकार र सरकारका जिम्मेवार इकाईहरूले हाललाई विपद् सङ्कटग्रस्त क्षेत्रको जनजीवन कम कष्टकर गराउन र प्रभावित समुदायलाई सक्दो चाँडो पुरानै लयमा फर्काउने जुक्ति खोज्नेतर्फ अग्रसरता लिनुपर्थ्यो। अर्थात्, सुख्खाका कारण सबैभन्दा ज्यादा मारमा परेको/पर्ने गरिब र किसानहरूका साथै अन्य प्रभावितहरूका लागि समेत प्राथमिकताअनुसार रणनीति,योजना र कार्यक्रमहरू तय गर्नुपर्थ्यो। ।
खेतीपाती नै कम भएको र भएका पनि नसप्रिने भइसकेपछि चाँडै नै त्यसका आर्थिक असरहरू प्रत्यक्ष रूपमा मधेसमा देखिनेछ। देशका अन्य भू-भागले पनि अप्रत्यक्ष असर भोग्ने नै छन्। अर्थात् आज ‘तिर्खाएको’ मधेस भोलि ‘भोकाउने’ निश्चित छ। सुख्खाका कारण सबैभन्दा बढ्ता कृषि क्षेत्र प्रभावित भइरहँदा हाम्रा सङ्घीय सरकारका कृषि मन्त्री यही २७ तारिखदेखि आयोजना हुने युएनको कार्यक्रममा सहभागी हुन इथियोपिया जाने तयारीमा हुनुहुँदो रहेछ। त्यता जानुअघि एक पटक मधेस दौरा गरेर यहाँको वस्तुस्थिति पनि एक पटक प्रत्यक्ष बुझ्ने हो कि मन्त्री ज्यू? किनभने अहिले देशको कृषि क्षेत्रको नेतृत्वकर्ताका हिसाबले यो तपाईँकै प्रमुख जिम्मेवारी पनि हो ।
अन्तमा,
सङ्घीय सरकारले गरिब र किसानहरू (जो खेतीपातीमा आश्रित छन्) को उचित वर्गीकरण गरी समयमै न्यायोचित राहत प्याकेज उपलब्ध गराउनेतर्फ तत्कालै पहलकदमी लेओस्। सुख्खाले निम्त्याएको नोक्सानीको पूर्ण पुनर्भरणका लागि निश्चित समयसम्म उनीहरूलाई आर्थिक रूपमा सहज र सस्तोमा खेतीपाती गर्ने वातावरण (खेतीका लागि आवश्यक सामग्री खरिदमा छुट) बनाइदिने नीति-कार्यक्रम सरकारको प्राथमिकतामा परोस्। र, पानी अभावमा असहज बनेको अन्य मानिसहरूको दिनचर्या सहज बनाउन तत्कालै प्रभावकारी उपाय पनि खोजियोस्।




