वीरगंज । वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस पछाडीबाट ड्राइपोर्ट चोक निस्कने वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सियाको सडक समयमै निर्माण हुन नसक्दा नागरिकले वर्षौँदेखि सास्ती खेप्दै आइरहेका छन् । सघन सहरी कार्यालय वीरगंजले २०७४/०७५ मा नै उक्त सडक निर्माणका लागि ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले समयमै काम नगरिदिँदा नागरिकले सास्ती खेप्न बाध्य भएका हुन् ।
उक्त सडक सहित महानगरपालिकाको करिब १७ वटा सडक (करिब २६ किलोमिटर) पप्पु स्वच्छन्द युनाइटेड जेभीले ठेक्का पाएर पप्पु कन्सट्रक्सनले निर्माणको जिम्मा लिएर काम गरिरहेको सघन सहरी कार्यालय वीरगंजका प्रमुख विनोद सिंहले जानकारी दिनुभयो ।
ठेक्का लिएको करिब ६ वर्ष वितिसक्दा पनि जिम्मा लिएको मध्ये जम्मा ११ किलोमिटर निर्माण सकेको र बाँकी सडकहरु अलपत्र अवस्थामा रहेको पनि उनले जानकारी दिए ।
यता यसै विषयमा प्रकाशित ‘सघन सहरी कार्यालयले ठेक्का लगाएको काम समयमै नगरी नागरिकलाई सास्ती दिने पप्पुलाई के भन्ने ?’ शीर्षकको समाचारप्रति पप्पु कन्स्ट्रक्सनले भने आपत्ति जनाउँदै खण्डनका लागि पठाएको पत्र प्राप्त भएको छ ।
सघन सहरी कार्यालयले ठेक्का लगाएर काम गराइरहेको सडकको उसैसँग जानकारी लिएर समाचार प्रकाशन गरिएको हुँदा यसमा आफूहरुको कसैलाई कुनै प्रकारको बदनाम गर्ने नियत नरहेको स्पष्ट पार्दै प्रकाशित समाचारमा भूलवस पप्पु कन्स्ट्रक्सनका पूर्व संचालक समेत रहेका पूर्व संघीय सांसद हरिनारायण रौनियारको नाम र तस्वीर प्रकाशित हुन गएको प्रति भने हामी क्षमाप्रार्थी छौँ ।
प्रेस काउन्सिल ऐन एवं पत्रकार आचार संहिता बमोजिम सम्बन्धित पक्षले खण्डनका लागि जानकारी दिने प्रावधान भए अनुसार पप्पु कन्स्ट्रक्सनले खण्डनको लागि पठाएको पत्र जस्ताको तस्तै ।