
वीरगन्ज, ०६ पुस: सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय अस्वीकार गर्ने घोषणा गर्दै पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले संघ सरकारलाई खुला चुनौती दिएका छन्।
गत मंगलबार संघ सरकारअन्तर्गत सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो। सो क्रममा कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरिलाई जिराभवानी गाउँपालिकामा र जिराभवानीका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको थियो।
तर अध्यक्ष चौधरीले गिरिलाई जिराभवानी गाउँपालिकामा हाजिर गर्न नदिने अडान लिँदै सरकारको उक्त निर्णय नमान्ने चेतावनी दिएका छन्। आफूले चाहेको कर्मचारीको सट्टा गिरिलाई सरुवा गरेर पठाइएको भन्दै उनले सरकारको निर्णय अस्वीकार गर्ने धम्कीसमेत दिएका हुन्।
आफ्नो असन्तुष्टि विधिसम्मत रूपमा सम्बन्धित मन्त्रालयमा राख्नुको सट्टा अध्यक्ष चौधरीले पुस ३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेका छन्। उनले गिरिलाई जिराभवानीमा पठाउने सरकारको निर्णय रद्द गरी आफ्नै सहमतिमा मात्र अर्को अधिकृत पठाउन आदेशात्मक आग्रहसमेत गरेका छन्। अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मन्त्रालयले लिनुपर्ने चेतावनी पनि उनले दिएका छन्।
तर जिराभवानी गाउँपालिकाका उपाध्यक्ष, पाँचै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत अन्य जनप्रतिनिधिहरू भने सरकारको निर्णयप्रति सन्तुष्ट देखिएका छन्।
गत मंसिर १५ गते अध्यक्ष चौधरी बाहेकका जनप्रतिनिधिहरूको उपस्थितिमा गाउँकार्यपालिका बैठक बसेको थियो। अध्यक्षले करिब एक वर्षदेखि बैठक नबोलाएको अवस्थामा बसेको उक्त बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनप्रतिनिधिहरूको कुरा नटेरेको र लामो समयदेखि कार्यालय नआएकाले कामकाज प्रभावित भएको निष्कर्ष निकालेको थियो। बैठकले कुशवाहालाई अन्त सरुवा गरी अमित गिरिलाई जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
त्यही निर्णयअनुसार मन्त्रालयले राज कुशवाहालाई कालिकामाई र अमित गिरिलाई जिराभवानी गाउँपालिकामा सरुवा गरेको एक कार्यपालिका सदस्यले जानकारी दिए। अध्यक्ष बाहेक सबै जनप्रतिनिधिहरूको सहमतिमै गिरिको सरुवा भएको उनको भनाइ छ।
यसअघि पनि करिब डेढ वर्षअघि गिरि जिराभवानी गाउँपालिकामै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। सो अवधिमा अध्यक्ष चौधरीले अनुचित आर्थिक लाभका काम गर्न दबाब दिँदा गिरिले अस्वीकार गरेकाले उनीप्रति अध्यक्ष असन्तुष्ट बनेको गाउँकार्यपालिका सदस्यहरूको दाबी छ।
गिरि सरुवा भएर गएपछि करिब डेढ वर्षसम्म अध्यक्ष चौधरीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई आफ्नो प्रभावमा राखेर नियमविपरीतका काम गराएको आरोपसमेत उनीहरूले लगाएका छन्। अहिले कुशवाहाको सरुवा भई गिरि पुनः जिराभवानी फर्किएपछि अध्यक्ष चौधरी असन्तुष्ट बनेको उनीहरूको भनाइ छ।
