वीरगंज २६ पुष । वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
नगरसभाको १६ औं अबिधेशनको शुक्रबार (आज) एक समारोहका बिच महानगर प्रमुखले उद्घाटन गर्नुहुदै नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताउनुभयो ।
उहाँले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताउनुभयो ।
उहाँले बजेट कार्यान्वयनकालागि आर्थिक ऐन २०८१ मा शंसोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक बर्ष ०८१÷०८२ को बार्षीक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगंज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धि प्रस्ताब र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गर्नुभएको थियो ।
नगरसभाको १६ औ अधिवेशनले नगरप्रमुखले पेश गर्नुभएको विधेयक तथा प्रस्ताबहरु सर्वसम्मतले पारित गरेको छ ।
नक्सा पास नगरी निर्माण भएका पुराना घरको अभिलेखिकरण यही चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिबाना छुट दिने प्रस्ताव पनि नगरसभाबाट पारित भएको छ । जरिबाना छुटको लाभ उठाउँदै निर्माण भएका संरचनाको अभिलेखिकरणका लागि आउँदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरवासीलाई महानगर प्रमुख सिंहले आग्रह पनि गर्नु भयो ।
नगरसभा सम्पन्न पछि सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरागर्दै नगर प्रमुख सिंहले बैभव वीरगंज बनाउने अभियानमा वीरगंजका जनप्रतिनिधीहरु एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो ।
उहाँले सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको पनि बताउनुभयो ।
नगरसभाको १६ औं अधिवेशनमा उप प्रमु्ख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंज महानगरपालिकाका ३२ वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, महानगरपालिकाका कार्यपालिका सदस्यहरु, महानगरका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
मधेश प्रदेश
जिल्लाको बालसंगठनको जग्गा कौडीको मोलमा लिज लिएका डा. दीपक शाक्यले बहाल समेत तिरिरहेका छैनन् ।
पर्सा जिल्लाको बालसंगठनको जग्गा कौडीको मोलमा लिज लिएका डा. दीपक शाक्यले बहाल समेत तिरिरहेका छैनन् । वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. शाक्य नेपाल बाल संगठन पर्साको सदस्य हुँदा आफ्नै छोरा संकल्प शाक्यको नाममा वीरगञ्जको मुटु मानिने आदर्शनगरको १२ कठा जग्गा २७ वर्षको लागि लिजमा कौडीको मोलमा लिएका थिए । त्यस जग्गामा रहेको बाल संगठनको भवन समेत सोही रकममा लिज दिएको देखिन्छ । तर उनले कबोल गरेको रकम पनि हालसम्म दाखिला गरेका छैनन् ।
डा. शाक्यले छोरा संकल्प शाक्यको नाममा लिजमा लिएको सो जग्गामा आदर्श विद्यालय चलाउँदै आएका छन् । २०६८ असार २१ गते भएको सम्झौता अनुरुप २ वर्षको लागि १ लाख ६१ हजार र त्यसपछि महिनाको २१ हजार १ सयको दरले बाल संगठनलाई दिने उल्लेख छ । सम्झौता पत्रमा प्रत्येक तीन वर्षपछि मासिक भाडामा १० प्रतिशत रकम वृद्धि हुने शर्त राखिए पनि डा. शाक्यले त्यस अनुरुपको रकम बाल मन्दिरलाई बुझाएका छैनन् ।
नेपाल बाल संगठनका केन्द्रीय सदस्य पराग सिंहका अनुसार हालसम्म डा. शाक्यले १३ वर्षको अवधिमा पटक पटक ताकेता गरेपछि जम्मा १६ लाख रुपैयाँ दाखिला गरेका छन् । जरिवाना बाहेक २१ लाख भन्दा बढी रकम असुल गर्नुपर्ने देखिएको उनले बताए । बहाल रकम जम्मा नहुँदा बाल संगठनको अडिटसमेत हुन नसकेको सिंहले बताए । आदर्शनगरको मुख्य चोकमा रहेको सो जग्गा कठ्ठाको मासिक कम्तीमा १ लाख रुपैयाँ बहाल आउने देखिन्छ ।
महिनाको १२ लाखकै दरले वर्षको १ करोड ४४ लाख रुपैयाँ बहाल आउने जग्गा शाक्यले २ लाख ५३ हजारमा उपभोग गरिरहेका छन् । २०६७ सालको चैत ९ गते बाल संगठनको तत्कालीन अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा बसेको बैठकबाट डा. शाक्यले जग्गा २२ वर्षीय छोरा संकल्प शाक्यको नाममा लिज लिएका थिए ।
डा.शाक्य समेत सदस्य रहेको बाल संगठनको जग्गा लिजमा दिने निर्णयमा ४ जना अनुपस्थित रहेका थिए । स्थानीय वासिन्दाहरुका अनुसार शाक्यले कार्य समितिलाई प्रभावमा पारी बिना सार्वजनिक सूचना जग्गा आफ्नो छोराको नाममा लिजको निर्णय गराएको देखिन्छ । पछिल्लो समय शाक्य मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयको उपकुलपति(भीसी) बनेका छन् ।
गत आम निर्वाचनको आचारसंहिता लागु भइसकेको अवस्थामा पुरानो मितिबाट शाक्यलाई तत्कालीन मुख्यमन्त्री मो.लालबाबु राउतले भीसी नियुक्त गरेका थिए । व्यापक आर्थिक चलखेल गरेर शाक्य भीसी नियुक्त भएको आरोप लागेको थियो । तलब सुबिधा मधेश विश्वबिद्यालयबाट बुझ्ने तर आफ्नो निजि वीरगञ्ज पब्लिक क्याम्पसको प्रवद्र्धन र बजारीकरण गर्दै आएका भीसी शाक्यले पछिल्लो पटक सिनेट बैठक गर्न पनि आर्थिक चलखेल गरेको आरोप लागेको छ ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरे पनि भीसी शाक्य र उनका दुतले प्रदेश सरकारलाई प्रभावित गर्न सफल भएको बताइन्छ । मधेश कृषि विश्वविद्यालयको बजेट रोक्का गरेर पटक पटक छानबिन गराइरहेको प्रदेश सरकारले भने मधेश विश्वविद्यालयको सिनेट बैठक समेत गरेको छ ।
मधेश विश्वविद्यालय स्थापना, भीसी र रजिष्ट्रार नियुक्ति सम्बन्धी निर्णयहरुको कागजात समेत प्रदेश सरकारसित दुरुस्त नरहेकाले केही दिन पूर्व सो विश्वविद्यालयलाई गैरकानुनी रहेको धम्की दिएको बताइएको थियो । मधेश विश्वविद्यालयको स्थापना नै शाक्यलाई चुनावको मुखमा भीसी बनाउन गरिएको विपक्षीहरुले आरोप लगाएका थिए । तर जनमत पार्टीका मुख्यमन्त्री सतीशकुमार सिंहलाई प्रभावमा पारेर उनले सिनेटको बैठक गरी बजेट चलाइरहेका छन् ।
शाक्य अझै वीरगञ्ज पब्लिक क्याम्पसको संस्थापक निर्देशक हुन् । विश्वविद्यालयका कयौँ कर्मचारी, प्राध्यापक र पदाधिकारी शाक्यको कलेजमा कार्यरत्त रहेका छन् । मधेश विश्वविद्यालयले हालसम्म कर्मचारी भर्ना वा प्राध्यापक भर्नाका लागि सार्वजनिक रुपमा आवश्यकताको सूचना समेत प्रकाशन गरेको छैन ।
रकमको चलखेल गरी जग्गा र पद हत्याउन खप्पिस शाक्यले प्रदेश सरकारलाई प्रभावका लिएर विश्वविद्यालयमा समेत अनियमितता गर्न थालेको बताइन्छ । यस सम्बन्धमा डा. शाक्यसित सम्पर्क गर्दा उनले नियम अनुसार नै जग्गा लिजमा लिएको र त्यसबाट कुनै प्रकारको व्यवसायिक लाभ नलिएको दाबी गरे । मधेश विश्वविद्यालय समेत व्यवस्थित रुपमा अगाडि बढेको उनले बताए ।
श्रोत:- मध्य नेपाल / राजन रौनियार
महानगर विरुद्ध एनप्याब्सनले दायर गरेको रिट खारेज, स्तर तथा शुल्क निर्धारण कार्यान्वयनको बाटो खुल्यो
वीरगंज, ५ पुष । वीरगंज महानगरपालिकालाई संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण कार्यान्वयनको बाटो खुलेको छ ।
महानगरले गरेको स्तर तथा शुल्क निर्धारणको निर्णय विरुद्ध राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) पर्साले दायर गरेको रिट उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगञ्जले शुक्रबार खारेज गरेसँगै महानगरलाई आफ्नो निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको हो ।
महानगरले २०७९ मंसिर २१ गते सूचना जारी गर्दै सोही शैक्षिक सत्रबाटै स्तर तथा शुल्क निर्धारण भए बमोजिममात्रै गर्न सबै संस्थागत विद्यालयलाई निर्देशन जारी गरेको थियो ।
महानगरले गरेको स्तर तथा शुल्क निर्धारणको विरुद्ध एनप्याब्सनले मंसिर २३ गते दायर गरेको रिट माथि सोही वर्षको पुष ७ गते सुनुवाई गर्दै महानगरको नाममा उत्प्रेषणको अन्तरिम आदेश जारी गरेको थियो ।
अन्तरिम आदेशसँगै महानगरले गरेको स्तर तथा शुल्क निर्धारण कार्यान्वनमा ल्याउन रोकिएको थियो ।
उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगञ्जका न्यायाधीश राजन भट्टराई र भरत लम्सालको संयुक्त इजलासले शुक्रबार संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण विरुद्ध एनप्याब्सनले दायर गरेको रिट खारेज गरिदिएको हो ।
शुक्रबार महानगरको तर्फबाट अधिवक्ता कमलमोहन पोखरेल र प्रमोद साहले बहस गर्नुभएको थियो ।
संस्थागत विद्यालयमा हुने गरेको शुल्क विवादलाई सँधैका लागि निराकरण गर्न स्तर वर्गिकरण गरेर महानगरले शुल्क नै निर्धारण गरेको थियो ।
महानगरपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि नेपालमै पहिलो पटक संस्थागत विद्यालयकोे स्तर वर्गिकरण गरेर शुल्क निर्धारण गर्ने प्रयास गरेको थियो ।
विद्यालय वर्गिकरणका लागि महानगरले १३० भन्दा बढी सूचक तय गरी ती सूचकलाई नम्बरिङ गरेर स्तर मापन गरेको थियो ।
वर्गिकरणमा सहभागि हुन महानगरले स्वमुल्याकंन आवेदन आह्वान गरेको थियो । महानगरमा सञ्चालित १ सय २ विद्यालयमध्ये ५८ वटाले मात्र स्वमुल्याङ्कन फारम भरेका थिए ।
फारम भरेका ५८ वटा संस्थागत विद्यालयलाई सूचकका साथै उनीहरुको भौतिक अवस्था, पठन पाठनको गुणस्तरीयता र विद्यार्थी संख्याको समग्र आधार बनाएर क, ख, ग र घ वर्ग छुट्याएर वर्गिकरण गरिएको थियो ।
वर्गिकरणमा नआएका अन्य संस्थागत विद्यालयलाई स्वत ‘घ’ वर्गमा राखिएको थियो । जस अनुसार वीरगञ्जमा नाम चलेको ग्यान्दा एकेडेमी, गौतम, नेशनल इन्फोटेक, डिएभी आरभी केडिया, लिटिल फ्लावर र जिएचपी गरी ६ वटा विद्यालय ‘क’ वर्गमा परेका थिए । २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका थिए । वर्गीकरणको प्रक्रियामा नआएका सबै विद्यालय ‘घ’ वर्गमा पर्ने भनिएको थियो ।
महानगरले स्तर तथा शुल्क निर्धारणका लागि मेयर राजेशमान सिंहको संयोजकत्वमा ७ सदस्यीय विद्यालय स्तरीकरण तथा शुल्क निर्धारण समिति गठन समेत गरेको थियो ।
बिरगंज ०१ पुस आज “पिक्स लेन्स ” ले आफ्नो ५ औं वार्षिकोत्सव धुमधामका साथ सम्पन्न गरेको छ। बिरगंजको आदर्शनगर स्थित आमाको माया छात्रावासमा आफ्नो ५ औं वार्षिकोत्सव सम्पन्न गरेको हो।सो कार्यक्रमको प्रमुख अतिथी बिरगंज उधोगबाणिज्य संघका पुर्व अध्यक्ष एवम् वरिष्ठ उधोगपति गणेश लाठ एवं पिक्स लेन्स का ब्यस्थापक सौरभ अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने
कार्यक्रम संचालन स्तुति बरनवाल गरेकि थिईन। कार्यक्रममा
निरज,मनिष लाठ, देवानन्द,अन्मोल,दिपक मानवसेवा आश्रम बिरगंजका संस्थापक अध्यक्ष दिवेश मानवसेवा,ओम कुमार झा,सन्चारकर्मी अभिलाष गुप्ता,कन्हैया पटेल, सुर्यनारायण बिक लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।
सो कार्यक्रममा आश्रमका बालबालिकाहरुको लागि कोपि,पेन,पेन्सिल,चप्पल एवं फुटबल आमाको माया छात्रावासको कोषाध्यक्ष गणेश खेतान लाई दिई बितरण गरिएको थियो भने सो आश्रमका बच्चाहरु द्वारा केक काटिएर उत्सव मनाईएको थियो र साथै आश्रमका सम्पुर्ण बच्चाहरुको लागि नास्ताको समेत ब्यवस्था गरिएको थियो।
अग्रवालका अनुसार बिगत ५ वर्ष देखि विभिन्न एन.जि.ओ. एवं आई.एन.जि.ओ. मा निशुल्क रुपमा सेवा दिदै आईरहेको छ अनि आउने दिनमा पनि सेवा दिने यहि कार्यक्रम मार्फत घोषणा समेत गरेका थिए।
बिरगंजमा बिगत ५ वर्ष देखि आफ्नो छुट्टै पहिचान बनाउन सफल यस Pics Lens ले आधुनिक तरिका बाट फोटोग्राफि र भिडियोग्राफि गर्ने काम गर्दै आएको छ। बिरगंजवासीको मनमा लोक प्रिय बन्न सफल भएको छ। पिक्स लेन्स नाम सुन्ने बितिकै आज उसले हरेक जनाको मनमा एक छुट्टै स्थान हासिल गरिसकेको छ।
उनका भनाई अनुसार
फोटोग्राफी भन्ने शब्द ग्रीक भाषाबाट आएको हो । ग्रीक भाषामा फोटोको अर्थ लाइट र ग्राफीको अर्थ स्केच हुन्छ अर्थात् प्रकाशको माध्यमद्वारा तयार गरिने चित्र नै फोटोग्राफी हो । आज हरेक मानिसले कुनै न कुनै रुपमा एवं समयमा आफूलाई फोटोग्राफरको रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । स्वतन्त्र तथा सौखिन फोटोग्राफरहरुको संख्या पनि बढ्दो छ । क्यामेराका कुनै पनि माध्यमबाट तस्बिर कैद गर्दैमा त्यस व्यक्तिलाई फोटोग्राफर मान्न भने सकिँदैन । फोटोग्राफर बन्न केही आधारभूत ज्ञान, सीप र शैली हुन जरुरी छ । फोटोग्राफर हुन क्यामेराको प्राविधिक ज्ञान तथा दृश्यको भाव एवं मर्म बुझेको हुनैपर्छ । आजको समयमा फोटोग्राफीमा ज्ञान हासिल गर्न आवश्यक शैक्षिक संस्थाहरु समेत संचालनमा छन। युट्युब जस्ता प्लेट फर्म मार्फत बाट पनि फोटोग्राफीको ज्ञान लिन सकिन्छ।सो कार्यक्रममा पिक्स लेन्स का पदाधिकारी एवं कर्मचारी तथा ग्राहकवर्ग,संचारकर्मीहरुको उपस्थिति रहेको थियोे।
१० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै वीरगंज महानगरपालिका, गिनिज बुकमा नाम दर्ज गर्ने तयारी
वीरगंज २७ कात्तिक । वीरगंज महानगरपालिकाले १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि भोली बुधबार तालिम दिन लागेको छ ।
महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायीक र निजी विद्यालय, कलेज गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।
एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड सहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उहाँले बताउनुभयो ।
यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न पनि उहाँले आग्रह गर्नुभयो ।
वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो ।
आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
भारतबाट आउनुभएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको छ ।
ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैदले व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलानमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताउनु भयो ।
भोली हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु खटाइएको छ ।
बिरगंज स्थित वडा नं १० मा रहेको घडीअर्वा पोखरीमा छठघाटको सम्पूर्ण तयारी पूरा भएको छठपूजा व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा छठपूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानूले छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको बताए । उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करीब १८ लाख ४४ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको बताए ।
त्यस्तै उनले पल्ट टेन्ट–पण्डालमा ७ लाख ८१ हजार, परिसर बाहिरको बत्ती सजावटमा ९० हजार, भिडियो ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख ८४ हजार , सरसफाइमा ७५ हजार , स्टेसनरीमा ५३ हजार , अतिथि खर्चमा ८५ हजार प्रचार प्रसारमा ३६ हजार लगायत खर्चको अनुमान गरिएको बताए।
त्यस्तै सुरक्षा उपसमितिका संयोजक मनोहर साह कानु ले छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा गरी १०० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट्स क्लबका ४० जना स्वंयसेवक परिचालन गरिने जानकारी गराए ।
यस्तै छठघाट परिसरमा २० वटा भन्दा बडि सिसिटिभी क्यामेरा जडान गरिएको र कार्यक्रम अवधिभर सुरक्षा लाई मध्यनजर गर्दै वारुणयन्त्र र एम्बुलेन्स सेवा परिचालन गरिने समिती ले जनाएको छ ।
घडिअर्वा पोखरी छठ पुजा ब्यवस्थापन समितिका अध्यक्ष दिप कुमार कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष प्रेम साह कानु र , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साह कानु , घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण घडिअर्वा छठ पुजा ब्यवस्थापन समिति प्रचार प्रसार उपसमिति का संयोजक क्रान्ति साह ले गरेका थिए ।
अख्तियारको प्रत्यक्ष निगरानीमा वीरगञ्ज यातायात कार्यालयको ट्रायल परीक्षा सम्पन्न
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी विर्तास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरमा आज तीन महिनापछि मोटरसाइकल र स्कुटर सवारी चालक अनुमतिपत्रको लागि ट्रायल परीक्षा सञ्चालन भएको छ। यस पटकको ट्रायल विशेष निगरानीमा सम्पन्न भयो, जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले प्रत्यक्ष रूपमा निगरानी राख्यो।
ट्रायल परीक्षा सञ्चालनका लागि श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेशले ट्रायल शुरू गर्ने आदेश दिएपछि यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्साले कार्तिक ४ गते सूचना जारी गरी, मोटरसाइकल तथा स्कुटर (क्याटागोरी ए) कार जिप, अटाे रिक्शा मेशिनरी का लागि आवेदन खुला गरेको थियो। सूचनाअनुसार कार्तिक ९ गते लिखित परीक्षा सम्पन्न भएको थियो भने आज शनिवार ट्रायल परीक्षा लिइएको हो।
अख्तियारको प्रत्यक्ष निगरानीमा सम्पन्न ट्रायल
शनिवार सम्पन्न ट्रायलमा अख्तियारको टोलीले प्रारम्भदेखि अन्तिम चरणसम्म कडा निगरानी राखेको थियो। टोलीको नेतृत्व प्रहरी निरीक्षक बिमल गिरीले गरेका थिए। ट्रायल प्रमुख नितेश्वर यादवसहित अन्य प्राविधिक र ट्राफिक प्रहरीका बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) गुणनीधि खकुरेल लगायतसँगै बसेर अख्तियारको टोलीले प्रत्यक्ष रूपमा प्रत्येक परीक्षार्थीको ट्रायल प्रक्रिया अनुगमन गरेको थियो। यस क्रममा परीक्षार्थीहरूले लाइन पार गर्नसाथ ट्रायल चेकलिस्टमा रातो चिह्न लगाइँदै असफल घोषित गरिएको थियो, जसले कडाईपूर्वक नियम पालना भएको संकेत गर्दछ।
आजको ट्रायल परीक्षा बिहान ७ बजे शुरू भई बेलुका ५ बजेसम्म निरन्तर सञ्चालन भयो। शुक्रवारको लिखित परीक्षामा सहभागी भएका कुल १६ सय ९० मध्ये १२ सय ४८ पास भएका थिए । ट्रायलको समयमा उपस्थित अख्तियारका अधिकारीहरूले प्रत्येक परीक्षार्थीको प्रदर्शनलाई ध्यानपूर्वक मूल्याङ्कन गरे।
अख्तियारको टोलीले सवारी चालन गर्दा हुने हरेक त्रुटिलाई सूक्ष्म रूपमा अनुगमन गरी नियम उल्लङ्घन गरेको प्रमाण देखिएमा तुरुन्त अनुतिर्ण घोषित गर्ने प्रक्रिया अपनायो।
लामो समयसम्म अवरुद्ध रहेको ट्रायल पुनः सञ्चालन हुनुले धेरै सेवाग्राहीलाई राहत मिलेको छ। कार्यालयले आगामी दिनमा ट्रायललाई थप व्यवस्थित र नियमित गर्न पहल गर्ने योजना समेत बनाएको छ।
यस विषयमा विस्तृत जानकारी लिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतम र कार्यालय प्रमुख उमाकान्त आचार्यलाई पटकपटक प्रयास गर्दा पनि उनीहरु सम्पर्कमा आउन चाहेनन् ।
वीरगन्जका जाइका बिर्यानी र ताज बिर्यानी हाउसमा सडेको मासुबाट बिर्यानी बनाएर बेच्ने गरेको भेटियो ।
वीरगन्ज,७कार्तिकःवीरगन्जका बिर्यानी हाउस(होटल)हरुले कुखुराको सडेको मासु बिक्री गर्दै आएको रहस्य खुलासा भएको छ ।
बुधबार बजार अनुगमन समितिले वीरगन्जका चार वटा बिर्यानी हाउसहरुमा छड्ेक अनुमगन गर्ने क्रममा दुई वटामा कुखुराको सडको मासु र म्याद गुज्रिएका मसालाबाट बिर्यानी बनाएर बिक्री गर्ने गरेको भेटिएको हो ।
बुधबार खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको टोलीले ताज बिर्यानी,जाईका बिर्यानी,लजिज बिर्यानी र शाम मुरादावादी बिर्यानी हाउसमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जाइका बिर्यानी र ताज बिर्यानी हाउसमा कुखुराको सडेको मासु र म्याद गुज्रिएका मसलाहरु भेटिएपछि जनही १०÷१० हजार रुपैयँ जरिवाना गर्दै एक पटकका लागि सचेत गराइएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका खाद्य अनुसन्धान अधिकृत सिंहले जानकारी दिए । साथै अनुगमनका क्रममा भेटिएको सडेका मासु , म्याद गुज्रिएका मसला लगायतका बस्तुहरु नष्टपनि गरिएको उनले बताए ।
यसका साथै नेपाल सरकारको निकायमा दर्ता नभई सञ्चालनमा रहेका बिर्यानी हाउसहरुलाई तुरुन्तै दर्ताको लागि प्रकृया थाल्न निर्देशनपनि दिइएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
अनुगमन टोलीमा वीरगन्ज महानगरपालिकाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास , वीरगन्ज उद्योग बाणिज्य संघका सचिव मनोज दास,उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष अजित भुजेल,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी लगायतकोपनि सहभागीता थियो ।
वडाध्यक्ष कानुको पहलमा बालमिन्दर विद्यालयका २३० विद्यार्थीलाई जुत्ता र खेलकुद सामग्री वितरण
वीरगन्ज,५ कार्तिक :वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई वडा समितिको कार्यालयले जुत्ता र खेलकुद सामग्री वितरण गरेको छ ।
वडाध्यक्ष सुशील साह कानुको पहलमा वडा समितिको कार्यालयले विद्यालयमा अध्ययनरत सबै २ सय ३० जना बालबालिकाहरुलाई जनही एकएक जोर जुत्ता तथा खेलकुदका सामग्री वितरण गरेको हो ।
सोमबार विद्यालय परिसररमै आयोजित कार्यक्रममा वडाध्यक्ष कानुले बालबालिकाहरुलाई जुत्ता वितरण गरे भने फुटलब, ब्याडमिन्टन,लूडो,स्किपिंग डोरी, चेस लगायतका सामग्री विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमारी सिंहलाई प्रदान गरे ।
गरिब विपन्न तथा दलित समुदायका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयका विद्यार्थीहरुलाई खेलकुद तथा व्यायमका गतिविधीमा प्रोत्साहित गर्नका लागि विद्यालयकै आग्रहमा ती सामग्री वडा कार्यालयले सहयोग गरेको वडाध्यक्ष कानुले मधेसखबरलाई बताए ।
त्यस अवसरमा विद्यालय व्यवस्थाापन समितिका अध्यक्ष नरेश टिबडेवाल, वडा सदस्यहरु सन्तोष जैशी,मिश्रादेवी नगरकोटी र प्रभु महतो, वडा कार्यालयका सचिव पवन प्रधान, घडिअर्वा स्पोट्स क्लबका अध्यक्ष सन्तोष कानु लगायतकोपनि उपस्थिती थियो ।
महानगर प्रमुखमाथि दुव्र्यवहार गर्ने लामिछानेलाई कारबाही गर्न माग गर्दै जसपाले बुझायो सिडियोमा ज्ञापन
वीरगंज । जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह माथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टीको वीरगंज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाउँदै महानगर प्रमुखमाथि दुव्र्यवहार गर्ने शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै महानगर अध्यक्ष यादवले महानगर प्रमुख सिंहमाथि दुव्र्यवहार गर्ने दुबैलाई तत्काल नियन्त्रणमा लिएर कारबाही नगरे आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।
हालै आएको अविरल वर्षापछि वीरगंज महानगरपालिकाको वडा नं. १७, २०, २४ र २६ को दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको र त्यसले आफूहरुको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएपछि महानगर प्रमुख सिंह प्राविधिक टोलीसहित सोमबार उक्त क्षेत्रमा पुगेका थिए ।
सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला महानगर प्रमुख सिंह माथि वडा नं. १७ अलौमा लामिछानेद्वयले दुव्र्यवहारको प्रयास गरेका थिए ।
महानगर प्रमुखमाथि दुव्र्यवहारको प्रयास गर्नु निन्दनीय र अराजक रहेको भएको भन्दै उनीहरुलाई कारबाही गरी त्यस क्षेत्रका डुबान पीडित नागरिकको समस्या तत्काल समाधान गर्न ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ ।
पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आपत्ति समेत जनाएको छ । साथै घटनाको बारेमा यथार्थ नबुझी गाउँलेलाई डुबानमै राखिरहने राजनीति भएको भन्दै महानगर अध्यक्ष यादबले पार्टीले त्यसको भण्डाफोर गरेर गाउँलेलाई डुबानबाट बचाउन आफूहरु लागि पर्ने पनि बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुषालले घटनाको बारेमा यथार्थ बुझेर कारबाही गर्न आफू तयार रहेको प्रतिकृया दिए । उनले त्यस क्षेत्रका नागरिक डुबानबाट वास्तवमै पीडित रहेको र आफूहरुकोमा पनि निवेदन दिएको बताउँदै डुबानबाट बचाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
ज्ञापन पत्र बुझाउन जसपा नगर अध्यक्ष इश्वर चन्द्र यादव, उमेशलाल सहनी, तुफान अन्सारी, मुस्तकिम अन्सारी, कलाम मियाँ, नुर आलम अन्सारी, विष्णु पटेल, वकिल मियाँ, हरेन्द्र साह, दिपु वर्मा, संगिता दास लगायतको सहभागिता रहेको थियो ।