तनहुँ र चितवनमा सत्ता गठबन्धनको सर्मनाक हारसँगै सम्भावित राष्ट्रिय राजनीतिक घटनाक्रमबारे बहस छेडिएको छ। बहसको केन्द्रमा नेपाली कांग्रेस पनि छ, जसको भविष्यबारे चिन्ता-चासो, खिसीटिउरी-खुच्चिङ भावहरू ह्वारह्वार्ती फैलिएको छ। बिरक्तिएकाहरू कांग्रेस सकिएको दाबी गरिरहेका छन्। शुभचिन्तकहरू वैशाख १० को पराजय पार्टी सुध्रने कडी बनोस् भन्ने शुभेच्छा राखिरहेका छन्। बहसको केन्द्रमा अर्को छ, राष्ट्रिय स्वतन्त्र पार्टी। तनहुँ-चितवनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कैयौँले देशकै भविष्य देख्न थालेका छन्। कतिपय भने अझै राष्ट्रिय राजनीतिमा रास्वपाको परीक्षणको पर्खाइमा देखिन्छन्।
जस्तो दृष्टि, त्यस्तै सृष्टि भनेझैँ यो उप चुनावी नतिजाप्रति फरक-फरक नजरियाले फरक-फरक दृश्य देखिएला। म ती सम्भावित सबै नजरबाट यो उप चुनावी नतिजाको समग्र सन्देश व्याख्या गर्न त सक्दिन, तर कांग्रेसको रूपान्तरण चाहने इमानदार कार्यकर्ताले यो नतिजालाई कुन नजरले हेरिरहेका छन् भन्ने चाहिँ जरुर बुझ्न सक्छु। म पनि निरन्तर कांग्रेसको रूपान्तरणको अभियानमा लागेको एक कार्यकर्ता हुँ। अतः पार्टीमा रूपान्तरण चाहिरहेको एउटा कार्यकर्ताका नाताले कांग्रेसले हिँड्नुपर्ने बाटो र मनन गर्नुपर्ने पाटोबारे केही चर्चा गर्छु।
कांग्रेस अहिले मुख्य गरी २ समस्याले थलिएको छ। एउटा आन्तरिक (सांगठनिक) र अर्को गठबन्धन अर्थात् कार्यनीतिक।
सांगठनिक समस्या
देश चलाएको र चलाउने दाबा गर्ने नेपाली कांग्रेसले नीति-नियम र कानुनअनुसार आफ्नै पार्टी चलाउन नसकिरहेको लाजमर्दो अवस्था छ। उसले नेतृत्व छान्न मात्रै महाधिवेशन गर्ने गर्छ। त्यो पनि गर्नै पर्ने भएपछि मात्र, जहाँ पार्टीको नीतिबारे कुरै हुँदैन। महाधिवेशन भएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनेर नीतिगत बहस टारिन्छ। तर डेढ वर्ष पुगिसक्दा पनि नीति महाधिवेशनको सुरसार हुँदैन। ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग/समिति/निकायको अत्तोपत्तो हुँदैन। शुभेच्छुक र भ्रातृ संस्थाहरू प्राय: मरे तुल्य छन्। समग्रमा भन्दा पार्टी सङ्गठनका कुनै पनि अवयव चुस्त छैनन्।
यस्तो दुरावस्थाबाट गुज्रिरहेको कांग्रेसलाई अब कसरी चलायमान बनाउने त? काँग्रेसलाई यो अवस्थामा पुर्याउने जिम्मेवारहरू के सच्चिएलान् त? उनीहरूको सच्याइले पार्टी सुध्रिएला त? अहँ! विल्कुलै सुध्रिँदैन। उनीहरूको अधोगति यति बिघ्न खराब छ र सिन्डिकेटको जालो यतिसम्म जेलिएको छ कि उनीहरूलाई त्यसबाट उम्कनै असम्भव प्राय: छ।
अब के गर्ने?
पार्टीको पुनर्संरचना गर्ने। पार्टीको बिस्तार र विश्वासमा ऐजेरु बनेर उम्रिएका ‘व्यवधानहरू’को प्रतिस्थापन नै काँग्रेसलाई पुनर्संरचित गर्दै जीवनन्तता दिने एक मात्र विकल्प हो।
त्यसका लागि सबैभन्दा पहिले नेपाली कांग्रेसभित्रको सिन्डिकेट तोड्न नीतिगत सुधारको खाँचो देखिन्छ। सिन्डिकेट सञ्चालकहरूले अहिले आफू वा आफूले चाहेको बाहेकका काम हुनै नसक्ने पार्टी ‘इको सिस्टम’ निर्माण गरेका छन्।
इतरका वा उनीहरूले नचाहेका व्यक्तिहरू अगाडि आउनै नसक्ने तारतम्य मिलाएका छन्। क्रियाशील सदस्यता दिने बेलादेखि नै त्यो सुरु हुन्छ। नेपाली कांग्रेसका नेता एवम् चिन्तक स्व. प्रदीप गिरी कांग्रेसमा नेतृत्व चयनको प्रक्रियाबारे व्यङ्ग्य गर्दै प्राय: भन्ने गर्नुहुन्थ्यो, ‘नेपाली कांग्रेसमा क्रियाशील सदस्यता आफूले चाहेको व्यक्तिलाई मात्र दिने र, उनीहरूकै मतबाट चुनिएर नेता बन्ने ‘अजीबोगरीब’ काइदा छ।’
हुन पनि हो, नयाँ र सक्षम व्यक्ति, जो नेपाली कांग्रेसमा आबद्ध भएर राजनीतिमा सक्रिय हुन चाहन्छन्, उनीहरूलाई सुरुमै छेकबार गरिन्छ। अर्थात् पर्याप्त आधार हुँदाहुँदै पनि उनीहरूलाई क्रियाशील सदस्य बन्नबाट रोकिन्छ। ताकि आफ्ना आसेपासे र भारदारहरू नै नीति बनाउँदा र नेतृत्व चयन गर्दा निर्णायक भइरहुन्! आफ्ना भारदारहरू मात्र हुल्ने यो गलत व्यवस्था तत्कालै बदल्नु आवश्यक छ।
विगतको ब्याज भजाउने बाहेक आगतप्रति आशा जगाउने सञ्चार त अहिलेको कांग्रेसले गरेकै छैन। नयाँ र सक्षम पुस्ताका लागि कांग्रेस आकर्षण बन्न सकिरहेको छैन। कयौँ सक्षम कार्यकर्तालाई समयमै नेतृत्वमा पुग्न नदिने गरी समयकै पाबन्दी लगाइएको छ। समय बन्धनरूपी विधानको प्रावधानले नयाँ र सक्षम पुस्ताको अवमूल्यन गरेको छ। अनि पार्टीमा भएकै हरूको पनि भविष्य सुनिश्चित छैन। यस्तोमा कोही किन कांग्रेससँग जोडिन्छ, जोडिइरहन्छ?
कोही सक्षम छ र पार्टीमा क्रियाशील भएको २/४ वर्षमै जिल्ला/प्रदेश को सभापति वा केन्द्रीय कार्यसमिति मै पुग्न योग्य क्षमता दर्साउँछ भने उसलाई १० वर्षे प्रावधानले रोक्ने किन? कोही पार्टीमा आबद्ध भएको पहिलो दिनदेखि नै क्रियाशील हुन चाहन्छ भने उसलाई क्रियाशील सदस्यता किन नदिने? अनलाइन माध्यमबाटै सदस्यता लिन्छु र विधि-विधानअनुसार नै पार्टी हितमा गतिविधिहरू गर्छु भन्ने चाह राख्न कसैले किन नपाउने? अतः काँग्रेसलाई पुनर्जागृत गर्ने नै हो भने अब नेतृत्वरूपी मात्र नभई विधिवत् र नीतिगत अड्चनलाई पनि चाँडै निप्टारा लगाउनै पर्छ।
सबैको चासो र चिन्ता रहेको युवासहित आम मानिसको जीविकोपार्जनको मुद्दाबाट समेत नेपाली कांग्रेस भड्किएको छ। युवा, मजदुर, महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न कांग्रेसले प्रभावकारी र व्यवहारिक योजना बनाउनै सकेको छैन। कांग्रेसभित्र अहिले युवा नेतृत्व प्रतिस्पर्धामा भए पनि समग्रमा युवाको विद्यमान अवस्थालाई बेवास्ता गरिएको छ। धेरै नेपाली युवा या त विदेशमा काम गरिरहेका छन् वा लागु औषध दुरुपयोग र आपराधिक सञ्जालको सिकार भएका छन्। जसलाई कांग्रेसले राष्ट्रिय राजनीतिक मुद्दा बनाउन सकिरहेको छैन।
अहिले नेपाली कांग्रेसको मिडियासँगको सम्बन्ध र व्यवस्थापन पनि उचित ढङ्गले भएको देखिँदैन। पार्टीका पदाधिकारी र मुख्यालय आफूलाई पारदर्शी, सञ्चारमाध्यममैत्री बनाउन र सामाजिक सञ्जालमा आफ्नो प्रभावकारी उपस्थितिको अनुभूति गराउनबाट चुकेका छन्। युवापुस्तासँग जोडिन कांग्रेसले अब तत्कालै सशक्त ‘सोसल मिडिया विङ’ स्थापना गर्नु जरुरी भइसकेको छ।
यी सबैका लागि पार्टी चलायमान गराउने महत्त्वपूर्ण निकाय नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई सक्रिय बनाउनुपर्ने हुन्छ।
गठबन्धनको गलपासो
हाम्रा धेरै नेतागण भन्छन्, गठबन्धनरूपी कार्यनीति नेपाली कांग्रेसका लागि न निल्नु न ओकल्नु भएको छ। तर कांग्रेसका हामीजस्ता कार्यकर्ताको बुझाइ भने त्योभन्दा विल्कुलै फरक छ। हामीलाई लाग्छ, यो गठबन्धनलाई यथावस्थामा अड्याएर राखिरहँदा बरु कांग्रेस थप मक्किँदै जानेछ। र, गठबन्धनलाई दीर्घकालसम्म अपनाउँदा त झन् मृत्युशय्यामै पुग्ने निश्चित छ। त्यसैले गठबन्धनलाई नेपाली कांग्रेसले यथाशक्य चाँडो ओकल्नु नै उचित हुन्छ।
गठबन्धन संस्कृतिलाई बढावा दिँदा नेपाली कांग्रेसको आफ्नोपना नै हराउँदै गएको छ। आफू बलियो हुनेभन्दा पनि परनिर्भरताको मानसिकता हुर्कँदो छ। गठबन्धनमा आबद्ध अन्य दलहरूको दोषको भागिदारी कांग्रेस हुनुपरेको छ। पार्टीको विचार र सिद्धान्त विपरीतका नीति-कार्यक्रममा अमुक राजनीतिक दलको पिछलग्गु बन्नुपरिरहेको छ। प्रस्ट भन्दा गर्वका साथ ‘कांग्रेस हुँ’ भन्न सङ्कोच मान्नुपर्ने अवस्था छ।
त्यसैले अहिलेको सत्ता गठबन्धन नेपाली काँग्रेसलाई डुबाउने दलदल हो। यसबाट निस्कने बुद्धिमत्तापूर्ण उपाय नखोजेर मूर्खतापूर्ण रूपमा यसैमा जालोमा अल्झने हो भने कांग्रेस भासिने निश्चित छ।
अब वैधानिक प्रक्रियामा जाने
संगठन सुदृढ पार्ने र गठबन्धनबाट बाहिरिने एजेन्डालाई मूर्तरूप दिन नेपाली कांग्रेस यथाशक्य चाँडो वैधानिक प्रक्रियामा जानै पर्छ। त्यसका लागि सबैभन्दा उपयुक्त मञ्च हो पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय केन्द्रीय महाधिवेशन। कांग्रेसले अघिल्लो वर्ष मंसिरमा महाधिवेशन हुँदा नीतिबारे पछि छलफल गर्ने भन्दै ६ महिनाभित्रै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर डेढ वर्ष बितिसक्दा समेत नीति महाधिवेशन त भएकै छैन, सांगठनिक इकाईहरूको गठन र गतिविधि पनि शून्य छन्। डेढ वर्षसम्म पनि पार्टीलाई गति दिने सुरुआत गर्न नसक्नु वर्तमान केन्द्रीय कार्यसमितिको अक्षमता नै हो।
अब पनि ६ महिनापछि नीति महाधिवेशन गर्ने र त्यसको २/३ वर्षपछि केन्द्रीय महाधिवेशन गर्ने परम्परामै अल्झिने समय छैन। त्यसैले विद्यमान विधानअनुसार विशेष महाधिवेशन गराउनेतर्फ ‘सुदृढ कांग्रेस’का हिमायतीहरूले पहलकदमी लिनै पर्छ। यसका लागि केन्द्रीय कार्यसमितिबाटै निर्णय भए सबैभन्दा उत्तम हुन्छ। अन्यथा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले लिखित रूपमा निवेदन दिएमा पनि ३ महिनाभित्र विशेष महाधिवेशन गर्न केन्द्रीय कार्यसमिति बाध्य हुन्छ। मजस्ता कांग्रेसका आम कार्यकर्तालाई कांग्रेसको सुदृढीकरण चाहने महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्या ४० प्रतिशतभन्दा कम होला भन्ने लाग्दैन।
अर्को कुरा, अहिले गठबन्धन तोडिँदा मुलुकमा ठूलै संकट आइपर्ने भाष्य बग्रेल्ती आउने निश्चित छ। लोकतन्त्र, संघीयता र गणतन्त्र नै धरापमा पर्ने जस्ता चिन्ता र चासोहरू घनिभूत हुन सक्छन्। तर त्यस्ता सम्भावित भाष्य अनि चिन्ता र चासो यथार्थपरक होइनन्। सत्ता र पार्टीमा हालीमुहाली गरिरहेकाहरूको रोजीरोटी खोसिने भएपछि यस्ता भयहरू सृजना गर्ने प्रयास गरिएका हुन्।
हामी त बरु के बुझ्छौं भने यो गठबन्धन भई रहँदासम्म माथि उल्लिखित व्यवस्थाहरूमा संकट छ। किनभने अहिले सत्ता गठबन्धनका स्वेच्छाचारी र अलोकतान्त्रिक गतिविधिले नै प्रतिगमनका भूतहरूलाई सलबलाउन दुरुत्साहन गरिरहेको छ। कांग्रेस गठबन्धनबाट बाहिरिँदैमा अर्को सरकार नै नबन्ने अवस्था कदापि आउँदैन। त्यसैले विशेष महाधिवेशनमार्फत कांग्रेसले वर्तमान गठबन्धन तोडेर ठूलो दलको हैसियतमा सरकार बनाउने ध्येय राखोस्। कदाचित आफ्नो नेतृत्वमा सरकार गठन हुन सकेन भने पनि प्रतिपक्षमा बसेर राजनीतिक उपलब्धि जोगाउनेतर्फ भूमिका खेल्न मानसिक रूपमा नेपाली कांग्रेस तयार रहोस्।
(झा नेपाली कांग्रेसका युवा नेता र तराई-मधेस समन्वय विभागका निवर्तमान केन्द्रीय सदस्य हुन्।)