वीरगन्ज महानगरपालिकाका विपन्न किसानहरु पछिल्लो समयमा जग्गा लिजमा लिएर ब्यवसायीक खेती गर्न थालेका छन ।
महानगरपालिकाको कृषि शाखाले उनीहरूलाई विभिन्न ब्यवसायीक खेती गर्न तालिम दिएपछि किसानहरु यसतर्फ अग्रसर भएका हुन् ।
वीरगन्ज महानगरपालिकाका २५ खाल्वाटोला श्रीसिया निवासी रामनाथ पासवानले कृषि फर्म दर्ता गरेर ब्यवसायीक खेती गर्न थालेको बताएका छन ।
उनले श्रीसीया कृषि फर्म प्रालि दर्ता गरेर ६ कट्ठा १० धुरमा सामुहिक रूपमा र एक कठ्ठामा निजि ब्यवसायीक च्याउ खेती गर्न थालेको बताए ।
उनका अनुसार विगत तीन बर्ष देखि च्याउ खेती गर्दै आएकोमा अहिले महानगरको कृषि शाखाले प्राविधिक सहयोग पनि गरिरहेको छ ।
महानपालिकाको प्राविधिक सहयोगमा किसान पासवानले संस्थागत र निजि च्याउ खेती गर्न १५ देखि १६ लाख सम्म लगानी लगाएको कृषि शाखा कि अधिकृत रोशनी यादवले जानकारी दिइन् ।
उनका अनुसार किसानले गाँउ घरमा पाईने बास र खरको प्रयोग गरी २ वटा ठुलो फुसको घर र १४ वटा बासको टनेल बनाई ३ हजार पोको डल्लो राखेका छन ।
किसान पासवानले गएको कातिक देखी अगामी बैशाख देखि जेष्ठसम्ममा ७ देखी ८ लाख सम्म आम्दानी गर्ने लक्ष्य राखेको कृषि शाखाका प्राविधिक ओमप्रकाश रामले बताए ।
यस्तै गएको कात्तिक देखि चलिरहेको पुस महिना सम्ममा तीन क्विन्टलको हराहारीमा उत्पादन गरेर ५० हजार आम्दानी गरिसकेका छन ।
रामका अनुसार अहिले पासवानले लगाएको च्याउ खेती हेर्न अन्य क्षेत्रका किसानहरु पनि पुग्ने गरेका छन ।
शुक्रबार च्याउ खेती निरीक्षणको क्रममा महानगरका आर्थिक विकास महाशाखा प्रमुख प्रतिज्ञा बैद्य, कृषि अधिकृत रोशनी यादव , प्राविधिक ओम प्रकाश राम , ना .प्रा.स प्रभु राम ,ना. प्रा. स सलिना क्षत्री लगायतको उपस्थित रहेको थियो ।