वीरगंज । आदर्शनगरमा हालै सञ्चालनमा आएको केएफसी रेष्टुराँमा बिहीबार वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले अनुगमन गरेको छ ।
आदर्शनगरस्थित स्काइलाइन मलमा खुलेको केएफसी रेष्टुराँमा गुणस्तरहीन र अस्वस्थ्यकर खानपिनको सामग्री बिक्री वितरण भइरहेको जनगुनासो आएपछि बिहीबार महानगरको अनुगमन समितिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उक्त रेष्टुराँमा कुनै त्रूटी फेला नपरेको अनुगमन टोलीमा सहभागी वीरगन्ज महानगरपालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए ।
उनका अनुसार, मंगलबार केहि मिडिया र सोसल मिडयामा केएफसीले गुणस्तरहीन र अस्वस्थ्यकर खाने कुरा बिक्रीवितरण गरिरहेको फोटो सहितका खबरहरु सार्वजनिक भएको थियो ।
त्यसैलाई मध्नजर गरी बिहीबार उक्त रेष्टुराँमा पुगेर अनुगमन गरिएको ठाकुरले बताए ।
ठाकुरले भने,‘रेष्टुराँ, किचेन, स्टोर सबैमा हामीले एक एक सामानको निरीक्षण गर्यौ । तर बाहिर समाचारमा आएकोजस्तो कुनैपनि त्रूटी भेटिएन । कागजपत्र पनि सबै चुस्त नै पायौं।’
फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्रालिले वीरगन्जको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा केएफसी रेष्टुराँ केहिदिन अघिदेखि मात्रै सञ्चालनमा ल्याएको हो ।
बिहीबार केएफसीमा गरिएको अनुगमन टोलीमा वीरगन्ज महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दास,खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका सुरेश कुमार सिंह,वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी मनोज दास,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव लगायतकोपनि सहभागीता रहेको थियो ।