काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
शुक्रवार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीको निर्देशन पछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएका थिए ।
सोही अनुसार आजै बोर्ड बैठक बसी विद्युत् सुचारु हुने समेत बताइएको छ । महसुल विवाद भने थप अध्ययन गरी निष्कर्षमा पुगिने प्रधानमन्त्री ओलीले बताएको स्रोतको भनाइ छ । प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरू अध्ययन गरी एक निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।