पछिल्लो समय मिर्गौला रोग एक प्रमुख स्वास्थ्य समस्या बनिरहेको छ । मिर्गौलासम्बन्धी रोग सुरुवाती चरणमै पत्ता लागे उपचार सहज हुन्छ । तर धेरैमा जटिल अवस्थामा पुगेपछि मात्रै पत्ता लाग्दा डायलाइसिस र प्रत्यारोपणको आवश्यकता पर्छ ।
मिर्गौलाको काम शरीरको तरल पदार्थको स्तरलाई विनियमित गर्नु, रगतबाट फोहोर र विषाक्त पदार्थहरू फिल्टर गर्नु, रक्तचाप नियन्त्रण गर्ने हार्मोन निकाल्नु, स्वस्थ हड्डीहरू कायम राख्न भिटामिन डी सक्रिय गर्नु, हार्मोन जारी गर्नु (जसले रातो रक्त कोशिकाहरूको उत्पादनलाई निर्देशित गर्दछ) हो । रगतको खनिज सन्तुलनमा राख्न (सोडियम, फस्फोरस, पोटासियम) मिर्र्गौलाको महत्वपूर्ण भूमिका हुन्छ ।
मिर्गौला खराब पार्ने कारक तत्व
मधुमेह, उच्च रक्तचाप, हृदयरोग, मिर्गौला फेलको पारिवारिक इतिहास भएमा मिर्गौला खराब हुनसक्छ । यस्तै मोटोपन, ६० वर्षभन्दा माथि उमेर भएकालाई, जन्मिंदा तौल कम हुनु, एनएसएआईडीएस (दुखाइ कम गर्ने एक किसिमको औषधि) को लामो समयसम्म प्रयोग गर्नाले, लुपस, अन्य अटोइम्युन रोगहरू (लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग)का कारण पनि मिर्गौलामा समस्या आउन सक्छ ।
मूत्रप्रणालीमा हुने पुरानो किसिमको संक्रमण भएमा, मिर्गौलाको पत्थरी भएमा पनि मिर्गौला रोगको जोखिम उच्च हुन्छ ।
प्रारम्भिक अवस्थामा मिर्गौला रोगको कुनै लक्षण नहुन सक्छ । तर पनि थकान, कमजोरी महसुस हुने, गाह्रो, पीडादायी पिसाब आउने, दुगन्धित पिसाब आउने, गुलाबी, गाढा पिसाब (पिसाबमा रगत) हुने, तिर्खा लागिरहने, पटक-पटक पिसाब गर्नुपर्ने (विशेष गरी रातमा) हुने मिर्गौलामा समस्या आएको लक्षण हुन सक्छन् ।
यस्तै आँखा पोल्ने, अनुहार सुन्निने, हात, पेट, खुट्टा दुख्ने मिर्गौला रोगका लक्षण हुन् ।
केही सरल तर जीवन बचाउने स्वास्थ्य परीक्षणहरू
रक्तचाप (बीपी परीक्षण)
उच्च रक्तचापले मिर्गौलामा रहेका साना रक्तनलीहरू (ग्लोमेरुली)लाई क्षति पुर्याउन सक्छ । त्यसैले समय-समयमा रक्तचाप परीक्षण गरिरहनुपर्छ । राम्रो रक्तचाप स्कोर १४०/८० धेरै मानिसका लागि राम्रो हुन्छ । यदि पुरानो मिर्गौला रोग छ भने १३०/८० राम्रो हुन्छ । १२०/८० सबै भन्दा राम्रो मानिन्छ । त्यस्तै मधुमेहको परीक्षण पनि गराइरहनुपर्छ ।
पिसाबमा प्रोटिन मापन (पिसाब परीक्षण)
पिसाबमा एक प्रकारको प्रोटिन एल्बुमिन (अल्बुमिनुरिया) मिर्गौला रोगको प्रारम्भिक लक्षण हुनसक्छ । पिसाबमा एल्बुमिन र अन्य प्रोटिनको नियमित मात्रा (प्रोटिन्युरिया)ले मिर्गौलामा क्षति भएको संकेत गर्छ ।
जीएफआर (रक्त परीक्षण)
यसले मिर्गौलाले रगतलाई कत्तिको राम्रोसँग फिल्टर गरिरहेको छ भनेर मापन गर्छ । डाक्टरहरूले रगतमा क्रिएटिनिनको स्तर नाप्छन् र ग्लोमेरुलर फिल्टरेसन रेट (जीएफआर) अर्थात् मिर्गौलाको काम गर्ने क्षमता नाप्ने गर्छ ।
जसमा राम्रो स्कोर ९० भन्दा बढी राम्रो छ । ६०-८९ अनुगमन गर्नुपर्छ । तीन महिनाका लागि ६० भन्दा कमले मिर्गौला रोगलाई जनाउँछ ।
मिर्गौला रोग भएकाले गर्नैपर्ने केही कुरा
उच्च रक्तचाप नियन्त्रणमा राख्नु, रगतमा चिनीको मात्रा व्यवस्थापन गर्नु, नुन सेवन कम गर्नु, एनएसएआईडीएस (एक प्रकारको दुखाइ कम गर्ने औषधि) सेवनबाट बच्नु, मध्यम प्रोटिन खपत, वार्षिक फ्लु शट (फ्लु खोप) लिने गर्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
नियमित व्यायाम गर्ने, तौल नियन्त्रण गर्ने, सन्तुलित आहार पालना गर्ने, धुम्रपान गर्दै नगर्ने, पूर्ण रुपमा छोड्ने, हाइड्रेटेड रहने, कोलेस्टेरोल स्तर समय-समयमा परीक्षण गर्ने, परिवारका अन्य सदस्यको रोग र उपचारको बारेमा ज्ञान राख्ने गर्नुपर्छ ।