कार्यक्रममा आफूहरूविरुद्ध नाराबाजी भएपछि ओली र देउवाले मञ्चबाटै त्यसको प्रतिवाद गरेका थिए । सिसिक्यामेराका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी वसन्त रजौरेले सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको बताए ।
‘दुईजनालाई सोधपुछका लागि मात्र पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धान गरेपछि मात्र मुद्दा चल्ने–नचल्ने बुधबार प्रस्ट हुन्छ ।’ पक्राउ परेकालाई अदालत तथा जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको छैन ।
नाराबाजीमा संलग्न अन्यलाई पनि प्रहरीले खोजिरहेको छ । नेताहरूविरुद्ध नाराबाजी गरेकै आधारमा पक्राउ गरेर थुनिएको भन्दै उनीहरूका परिवारले आपत्ति जनाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहकै वेला सहभागी युवाहरूले विरोधमा नाराबाजी गरेका थिए । काठमाडौं महानगर प्रमुख बालेन शाहको पक्षमा हुटिङ गर्दै युवाहरूले ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए । कतिपय युवाले एमालेबाट किनारामा पारिएका नेता भीम रावलको मञ्चमा प्रवेश हुने वेला ‘वी वान्ट भीम रावल’ भन्दै चर्काे नाराबाजी गरेका थिए ।
कार्यक्रममा बोल्दै ओलीले सो घटनाको आलोचना गरेका थिए । नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको उनको भनाइ थियो ।
त्यस्तै, कांग्रेस सभापति देउवाले नाराबाजीका कारण बोल्नै अवरोध भएपछि यो नेपालीहरूको सांस्कृतिक चलन नभएको भन्दै प्रतिवाद गरेका थिए । कांग्रेस सभापति देउवा त नाराबाजी गर्नेलाई बदमासहरू भन्दै रिसाएका थिए । नाराबाजीले बोल्नै अवरोध भएपछि देउवाले भनेका थिए ‘तपाईंहरू जति बोले पनि बोल्नेवाला छु । जति कराउनुुहुन्छ, कराउनुस् । लाज पनि छैन ? कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति, चलन ? यही सिकेर आएको हो ? बदमासहरू ।’