वीरगञ्ज । वीरगञ्जमा बिहीबारदेखि तीन दिने चित्रकला प्रदर्शनी सुरु भएको छ । भोजपुरी प्रतिष्ठान वीरगञ्जको सहकार्यमा वीरगञ्ज कलाकार समाजले आयोजना गरेको कार्यक्रमले “कलर अफ वीरगञ्ज” नाम दिएर स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने लक्ष्य राखेको छ ।
प्रदर्शनी वीरगञ्जको आदर्शनगरस्थित रानीसती अतिथि सदनको सभा हलमा जारी छ । प्रदर्शनीमा १८ वटा विद्यालयका करिब १८७ बालबालिकाले बनाएका चित्रहरू राखेर आफ्नो प्रतिभालाई रङ्ग, ब्रस र कल्पनामार्फत व्यक्त गरेका छन् ।
समाजका अध्यक्ष मुकेश महतो नुनियाका अनुसार, प्रदर्शनीको मुख्य उद्देश्य स्थानीय परिवेश, गाउँठाउँ र संस्कृतिलाई चित्रमार्फत उजागर गर्नु रहेको छ । स्थानीय कलाकार र कला प्रेमीहरूको भावनालाई बुझेर वीरगञ्ज कलाकार समाज मञ्च गठन गरिएको पनि उनले सुनाए।
प्रदर्शनीले बालबालिकाको सृजनशीलतालाई प्रोत्साहन गर्नुका साथै कला क्षेत्रको विकासमा टेवा पुर्याउने उनको विश्वास छ ।
कार्यक्रमको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रदर्शनीमा राखिएका चित्रहरूको तारिफ गर्दै भने, “यी चित्रहरू हेर्दा लाग्छ, यो चित्र हो कि फोटो खिचिएको हो, छुट्ट्याउनै गाह्रो छ । विद्यार्थीहरूले समाज, वातावरण र गहन विषयलाई क्यानभासमा अत्यन्त प्रभावकारी ढङ्गले उतारेका छन् ।”
कर्णले आफूले पनि एउटा चित्र कोरेर सहयोग गरेको बताउँदै आयोजक र सहभागी सबैलाई धन्यवाद दिए । उनले भोजपुरी प्रतिष्ठानको सहकार्यलाई पनि उत्साहजनक भने ।
तीन दिने कार्यक्रम फरक-फरक ढङ्गले आयोजना गरिएको छ । पहिलो दिन बिहीबार बालबालिकाले बनाएका चित्रहरूको अवलोकन गरियो भने दोस्रो दिन शुक्रवार १८ विद्यालयका विद्यार्थीहरूले सहभागी चित्रहरू हेर्न आउने छन् । तेस्रो दिन शनिवार भने चित्रकला प्रतियोगिता र अभिभावकहरूको सहभागिता रहनेछ ।
समाजका सदस्य रितेश महतोले भने तेस्रो दिन अभिभावकहरूलाई पनि चित्रकलामा सहभागी गराइने जानकारी दिए । उनले भने, “व्यस्त जीवनमा आफ्नो प्रतिभा देखाउने अवसर कमै हुन्छ, त्यसैले यो मञ्चमार्फत उहाँहरूलाई पनि रमाइलो र सृजनशील बनाउने वातावरण बनाउन खोजेका हौँ ।”
कार्यक्रममा शिक्षक, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र कला प्रेमीहरूको उपस्थिति थियो । भोजपुरी प्रतिष्ठानका श्याम सरार्फ र शिक्षक रितेश महतोले सहजीकरण गरेका थिए ।
प्रदर्शनीले वीरगञ्जको कला क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । बालबालिकादेखि अभिभावकसम्मको सहभागिताले यो कार्यक्रमलाई थप विशेष बनाएको छ । “हाम्रा विस्मृत विभूतिहरूलाई पनि चित्रमा समेटेर जबाफदेही समाज निर्माण गर्न खोजिएको छ,” अध्यक्ष नुनियाले थपे ।
तीन दिने उत्सवले वीरगञ्जको कला, संस्कृति र बाल प्रतिभालाई नयाँ उचाइ दिने विश्वास आयोजकको छ ।