नेपाल बहु सांस्कृतिक, बहु-धार्मिक र बहु-जातीय समाज हो, जहाँ हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन लगायत विभिन्न समुदायहरू मिलेर बसेका छन् । संविधानले सबै धर्म, भाषा र संस्कृतिको सम्मान गर्ने नीति लिएको छ, जसले हरेक नागरिकलाई आफ्नो धार्मिक आस्थाअनुसार पर्व मनाउने अधिकार दिएको छ । तर, जब मुस्लिम समुदायको महान् पर्व इद आउँछ, त्यही दिन कतिपय विद्यालय तथा कलेजहरूले परीक्षा तोकिदिँदा मुस्लिम विद्यार्थीहरू ठूलो तनावमा पर्छन् ।
उनीहरूका लागि इद केवल चाड मात्र होइन, धार्मिक आस्था, परिवारसँगको पुनर्मिलन र आध्यात्मिक महत्वको प्रतीक हो । जसरी हिन्दु समुदायका लागि दसैँ विशेष छ, त्यसरी नै मुस्लिम समुदायका लागि इद उत्तिकै महत्त्वपूर्ण छ । तर, विद्यालय तथा कलेजहरूले इदको दिन परीक्षा तोक्दा मुस्लिम विद्यार्थीहरूलाई आफ्नै पर्व मनाउने अवसरबाट वञ्चित गरिन्छ ।
नेपालमा दसैँका लागि विद्यालयहरूमा लामो बिदा दिने परम्परा छ । विद्यार्थीहरू रमाइलो वातावरणमा चाड मनाउँछन्, आफन्तहरूसँग भेटघाट गर्छन्, आशिष् लिन्छन्, खानपानमा विशेष व्यवस्था गर्छन् । तर, मुस्लिम विद्यार्थीहरूका लागि यस्तो सुविधा हुँदैन । इदको दिन उनीहरूले बिहानै विशेष नमाज पढ्ने, नयाँ लुगा लगाउने, आफन्तहरूसँग समय बिताउने, मिठाइ तथा विशेष परिकार खाने चलन छ । यो धार्मिक तथा सांस्कृतिक अभ्यास हो, जसलाई बाध्यात्मक रूपमा परीक्षा दिएर छुटाउनुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा मुस्लिम विद्यार्थीहरूको हुन्छ ।
विद्यालय तथा कलेज प्रशासनहरूले परीक्षा तालिका बनाउँदा धार्मिक विविधताको ख्याल गर्न आवश्यक छ । मुस्लिम समुदायका चाडहरूलाई बेवास्ता गर्नु धार्मिक असहिष्णुताको सङ्केत हो । यदि हिन्दुहरूको महान् पर्व दसैँको समयमा परीक्षा तोकिन्न भने, मुस्लिम समुदायको महान् पर्व इदमा परीक्षा तोक्नु कतिको उचित छ? के मुस्लिम विद्यार्थीहरूका चाडपर्वको कुनै मूल्य छैन?
विद्यालय तथा कलेजहरूले परीक्षा तालिका बनाउने क्रममा सबै समुदायका चाडपर्वलाई ध्यानमा राख्नुपर्छ । इदकै दिन परीक्षा तोक्दा विद्यार्थीहरू चाड मनाउने वा परीक्षा दिने भन्ने दोधारमा पर्छन्, जसले उनीहरूको मानसिक स्वास्थ्य र शैक्षिक प्रदर्शन दुवैमा असर गर्छ । यदि परीक्षाको तालिका इदअघि वा इदपछि सारियो भने मुस्लिम विद्यार्थीहरू ढुक्क भएर चाड मनाउन सक्नेछन् ।
नेपाल सरकारले पनि धार्मिक विविधतालाई सम्मान गर्न शिक्षा मन्त्रालयमार्फत स्पष्ट निर्देशन जारी गर्न आवश्यक छ । विद्यालय तथा कलेजका प्रशासनिक निकायहरूले मुस्लिम विद्यार्थीहरूको भावनालाई बुझ्नुपर्छ र उनीहरूका पर्वलाई उचित सम्मान दिनुपर्छ । इदको दिन अनिवार्य रूपमा परीक्षा नहुने गरी नीति बनाउन सकेमा मात्रै सबै धर्मलाई समान रूपमा हेर्ने हाम्रो संविधानको भावना व्यवहारमा स्थापित हुनेछ ।
नेपालको वास्तविक पहिचान भनेकै धार्मिक सहिष्णुता हो । सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान दिने परिपाटी विकास गर्न अब ढिलाइ गर्नु हुँदैन । धार्मिक स्वतन्त्रताको सम्मान गर्दै मुस्लिम विद्यार्थीहरूलाई इद पर्व शान्तिपूर्वक मनाउन दिनुपर्छ । सबै धर्म समान, सबै पर्वको सम्मान— यही हो असली नेपालीपन !