काठमाडौं, वैशाख २१ – नेपाल विद्युत् प्राधिकरण (ने.वि.प्रा.) पछिल्लो समय ५ अर्ब २६ करोड रुपैयाँ घाटामा पुगेको छ। शुक्रबार आयोजित एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा श्वेतपत्र सार्वजनिक गर्दै उक्त घाटाबारे जानकारी दिएका हुन्।
श्वेतपत्रअनुसार, आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कूल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। तर आयकर ऐनअनुसारको लेखा प्रणाली प्रयोग गरी गरिएको समायोजनपछि प्राधिकरण घाटामा देखिएको हो। विशेष गरी ‘डेप्रिसिएसन’ अर्थात् सम्पत्तिको ह्रासकट्टी र आय–व्ययको वास्तविक विश्लेषण गर्दा संस्थाको आर्थिक अवस्थाले घाटा देखाएको कार्यकारी निर्देशक शाक्यले स्पष्ट पारे।
शाक्यले भने, “विगतमा देखाइएको नाफा लेखाविधिको सीमित परिभाषामा आधारित थियो। तर आज हामीले प्राधिकरणको सम्पूर्ण वित्तीय अवस्थालाई पारदर्शी ढंगले प्रस्तुत गरेका छौं।”
यो तथ्यसँगै अघिल्लो कार्यकालका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा गरिएको आठ अर्ब रुपैयाँभन्दा बढी नाफाको दाबी विवादमा परेको छ। घिसिङले प्राधिकरणलाई लाभजनक अवस्थामा पु¥याएको भन्दै सार्वजनिक प्रशंसा पाइरहेका थिए। तर अहिलेको नयाँ तथ्यांकले विगतमा प्रस्तुत विवरणहरूमाथि प्रश्न उठाएको छ।
श्वेतपत्रले प्राधिकरणको प्रमुख आर्थिक चुनौतीहरू पनि संकेत गरेको छ—जसमा विद्युत् चोरी, प्रणाली क्षति, ठूला परियोजनाको ढिलाइ, बजारमा विद्युत् बिक्रीका चुनौती, र विद्युत् मूल्य निर्धारणजस्ता विषयहरू प्रमुख छन्।
प्राधिकरणले आगामी दिनमा घाटा न्यूनीकरण गर्ने तथा आर्थिक पारदर्शिता र दिगोपनामा जोड दिने योजना बनाएको जनाएको छ। दीर्घकालीन योजनाहरू, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, र लगानीको उचित व्यवस्थापनमार्फत सुधार सम्भव हुने भन्दै कार्यकारी निर्देशक शाक्यले सबल नीतिगत कदमहरू आवश्यक रहेको बताए।
यो श्वेतपत्रले प्राधिकरणको पारदर्शिताप्रति प्रतिबद्धता देखाए पनि, आगामी दिनमा राजनीतिक हस्तक्षेप, कार्यक्षमता सुधार, र लेखापरिक्षणको स्वतन्त्रता सुनिश्चित नगरेसम्म यस्ता आर्थिक संकट बारम्बार आउने खतरा रहेको विशेषज्ञहरूले बताएका छन्।