वीरगंज । वीरगंज महानगरका नेकपा एमाले नगर सचिव लियाकत अलीले आफ्ना सहोदर भान्जाहरू सैफ अली ठकुराई (उर्फ अलीराजा चौहान) र मुराद अली ठकुराई (उर्फ मुराद अली चौहान) लाई झुटा विवरण पेश गरी नेपाली नागरिकता दिलाएका छन् । उनले आफ्नो राजनीतिक प्रभावको फाइदा लिँदै भारतीय नागरिक रहेका भान्जाहरुको नेपाली नागरिकता बनाइदिएका हुन् ।
उनीहरूको आमा हप्सा खातुन हुन् । जो एमाले नगर सचिव समेत रहेका वीरगंज ३ छपकैयाँ निवासी लियाकत अलीकी दिदी हुन् । उनीहरूका बाबु भने भारतीय नागरिक नसिमुल गनी हुन्, जसको स्थायी ठेगाना भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको आदापुर पंचायत, लक्ष्मीपुर पोखरी, वडा नंं १० रहेको प्राप्त प्रमाणबाट स्पष्ट हुन्छ । उनीहरू हाल वीरगंज महानगरपालिका–३, छपकैयाँमा बसोबास गरिरहेका छन् ।
सैफ अली र मुराद अलीले धनुषा जिल्लाको हरिने गाउँपालिका–३ मा स्थायी वासिन्दा भनी झुटा विवरण पेश गरेर २०७० जेठ १३ मा वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । तर, उनीहरूको जन्मदर्तामा बाबु भारतीय नागरिक रहेको स्पष्ट उल्लेख छ । पछिल्लो समय, २०७८ भदौ ३० मा, उनीहरूले वीरगंज महानगरपालिका–३ मा बसोबास गरिरहेको देखाएर जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकताको प्रतिलिपि हात पार्न सफल भएका छन् । धनुषाबाट जारी नागरिकतामा आमाको नाम उल्लेख गरिएको भए पनि पर्साबाट लिएको नागरिकतामा आमाको नाम हटाइएको छ । यसले पनि नागरिकता प्राप्तिमा नियोजित रुपमा विवरण लुकाइएर लिएको पुष्टि हुन्छ ।
यस प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएको २०८० फागुन मै उजुरी दर्ता भएको थियो । उजुरीमा झुटा विवरण पेश गरी नागरिकता लिएको भन्दै दुवै जनाको नागरिकता बदर गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।
सैफ अली र मुराद अली नेकपा एमालेको नगर सचिव लियाकत अलीका सहोदर भान्जा हुन् । लियाकत अलीले आफ्नी दिदीका छोराहरूलाई झुटा विवरण पेश गरेर नेपाली नागरिकता दिलाउन सफल भएका थिए ।
सैफ र मुराद एमाले नगर सचिव लियाकत अलीका नातेदार भएको कारण राजनीतिक संरक्षणमा नागरिकता मुद्धामा अहिलेसम्म कारबाहीबाट उम्कन सफल हुँदै आएका छन् ।
यस घटनाले नेपालको नागरिकता वितरण प्रणालीमा देखिएको कमजोरी, प्रशासनिक कमजोरी र राजनीतिक पहुँचको दुरुपयोग उजागर गरेको छ । यस घटनामा निष्पक्ष छानबिन र कडा कानुनी कारबाही नगरीए यसले राष्ट्रिय सुरक्षा, जनसंख्या तथ्यांक र सार्वभौमसत्ता मै असर पार्ने निश्चित छ ।