वीरगञ्ज । वीरगञ्जस्थित मिनिल्यान्ड +२ कलेज म्यानेजमेन्ट, ल, एन्ड होटेल म्यानेजमेन्टले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेको घटनाले विवाद निम्त्याएको छ ।
कलेजले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सेयर गरेको एक पोस्टमा मेयर सिंहलाई लक्षित गर्दै लेखिएको “लेभल मिलेन सरसँग तिम्रो बाउ बोलाऊ” भन्ने टिप्पणीले व्यापक आलोचना भएको छ । उक्त पोस्ट अहिले हटाइए पनि विवाद भने कायमै छ ।
विवादको सुरुवात केही दिनअघि मेयर सिंहले वीरगञ्ज–२२ स्थित सामुदायिक स्कूलमा कार्यरत शिक्षक लक्ष्मण यादवमाथि निजी विद्यालयको प्रचारप्रसार गरेको आरोप लगाएपछि भएको हो । मेयर सिंहले सार्वजनिक मञ्चबाट शिक्षक यादवलाई कारबाही गर्ने चेतावनी दिएका थिए । सोही चेतावनीपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले शिक्षक यादवलाई पाँच दिने स्पष्टीकरण सोधेका थिए । शुक्रवार जारी गरिएको स्पष्टीकरणमा यादवलाई किन कारबाही नगर्ने भन्दै पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिइएको थियो ।
स्पष्टीकरण सोधिएको समाचार प्रकाशित गरेपछि मिनिल्यान्ड +२ कलेजले सोही समाचार सेयर गर्दै मेयर सिंहलाई अपमानजनक टिप्पणी गरेको हो । तर, तीव्र आलोचनापछि कलेजले उक्त फेसबुक पेज आफ्नो आधिकारिक नभएको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, “विद्यालयको नाममा विभिन्न पेज बनाई सामग्री राखिएकोप्रति हामी गम्भीर छौँ । उक्त पेज हाम्रो आधिकारिक होइन । यस्ता गतिविधि गर्नेहरूमाथि कानुनी कारबाही गरिनेछ ।”
यद्यपि, उक्त पेज सञ्चालकहरू कलेजको जिम्मेवारीमा रहेका व्यक्तिहरूसँग सम्बन्धित रहेको पाइएको छ । कारबाहीमा परेका शिक्षक यादव मिनिल्यान्ड +२ कलेजको संयोजकको रूपमा कार्यरत छन् । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले आपत्तिजनक टिप्पणी गर्नेहरू विरुद्ध कानुनी कारबाही गरिने बताएका छन् ।