अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा चिनियाँ कम्पनीसँग मिलेमत्तो भएको भन्दै कांग्रेस र एमालेका नेताहरूलाई समेटेर मुद्दा दायर गरेपछि देशको राजनीतिक वातावरण चर्किएको छ। मुद्दा सार्वजनिकसँगै दुवै दल संसद पुनर्स्थापनाकाे एजेन्डामा नजिकिँदै गएको देखिन्छ।
शुक्रबार शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भएको भेटपछि कांग्रेसले पनि सर्वोच्च अदालतमा संसद पुनर्जीवनको मागसहित रिट दायर गर्ने तयारी थालेको छ। एमाले भने यसअघि नै संसद पुनर्स्थापनाको माग लिएर अदालत पुगेको थियो। कांग्रेसको निर्णयले पुराना ठूला दलहरू एउटै धारमा उभिएको संकेत मिलेको छ, जसले जेनजी आन्दोलनलाई कमजोर पार्ने उद्देश्य रहेको विश्लेषकहरूको बुझाइ छ।
अख्तियारले दायर गरेको मुद्दाले कांग्रेस र एमालेका पुराना नेताहरूलाई राजनीतिक जोखिममा पारेको मानिन्छ। पोखरा विमानस्थल मात्र नभई अरू ठूला परियोजनामा भएका अनियमिततासमेत छानबिनको दायरामा परेपछि, सम्भावित गिरफ्तारीको डरले देउवा र ओली एकअर्कातिर झुकिरहेका विश्लेषकहरूको भनाइ छ। विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका निर्णय नै आज खुल्दै गएका भ्रष्टाचार फाइलहरूको मूल कारण भएको विशेषज्ञहरू बताउँछन्।
यही दबाबबीच तीन दिनअघि भएको ओली–देउवा भेटमा संसद पुनर्स्थापना, निर्वाचन रोक्ने सम्भावना राख्ने र जेनजी आन्दोलनलाई कमजोर बनाउने विषयमा छलफल भएको स्रोतहरूको दाबी छ। अख्तियारले थप मुद्दा अघि बढाउन सक्ने संकेत पाएपछि पुराना दलका नेताहरू अदालतमार्फत सुरक्षित मार्ग खोज्दै गएको भनाइ छ।
यसबीच, नयाँ दलहरू र स्वतन्त्र राजनीतिक शक्तिहरूले भने यो कदमलाई पुराना दलहरूको ‘बचाउ अभियान’ को रूपमा व्याख्या गरेका छन्। जेनजी आन्दोलनका अगुवाहरूले देउवा–ओली मिलेर भ्रष्टाचारविरुद्ध उठेको जनआवाज दबाउन खोजेको आरोप लगाएका छन्। उनीहरूको धारणा अनुसार, संसद पुनर्जीवनको माग संवैधानिकभन्दा बढी, पुराना नेताहरूलाई बचाउने रणनीति हो।
फागुनमा तोकिएको निर्वाचनमा यसको सिधा प्रभाव पर्न सक्ने संकेत बढ्दैछ। विश्लेषकहरू भन्छन्, नयाँ दल र स्वतन्त्र शक्तिहरू एकजुट नभए पुराना दलहरूले मुद्दा रोक्ने, चुनाव पछाडि सार्ने र संसद पुनर्जीवनमार्फत अहिलेको सत्ता संरचना जोगाउने सम्भावना बढ्नेछ। भ्रष्टाचारका मुद्दा पूर्ण रूपमा उजागर गर्न र राजनीतिक उत्तरदायित्वको मागलाई बलियो बनाउन सबै नयाँ शक्ति एकसाथ उभिनुपर्ने समय आएको उनीहरूको सुझाव छ।