वीरगञ्ज । भारतको विश्वविद्यालय अनुदान आयोग र राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषद्द्वारा ‘ए प्लस’ मान्यता प्राप्त शारदा विश्वविद्यालय भोली चैत २७ गतेका दिन नेपाली नयाँ वर्ष २०८२ को भव्य उत्सव आयोजना गर्न लागेको छ ।
“सँगै नयाँ बिहानी अँगालौँ” भन्ने मूल नाराका साथ आयोजित विश्वविद्यालयको आनन्द स्वरूप सभाकक्षमा आयोजना हुन लागेको हो ।
शारदा विश्वविद्यालयमा रहेको नेपाली समुदायका विद्यार्थीहरूद्वारा आयोजना गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । कार्यक्रम आयोजनाको लागि विश्वविद्यालयको अन्तर्राष्ट्रिय शाखा र नेपाल क्षेत्रीय कार्यालयसँग विद्यार्थीहरूले सहकार्य गरेका छन् ।
कार्यक्रमले विद्यार्थी, प्राध्यापक र पाहुनाहरूलाई नेपाली संस्कृति र परम्पराको समृद्ध अनुभव प्रदान गर्ने प्रतिबद्धता रहेको आयोजकहरूको दाबी छ ।
शारदा विश्वविद्यालय ९५ भन्दा बढी देशका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी भएको भारतकै पहिलो विश्वविद्यालयको रूपमा परिचित छ । विश्वविद्यालयले यस्ता कार्यक्रममार्फत विश्वव्यापी एकता र सांस्कृतिक आदान-प्रदानलाई प्रोत्साहन गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारतका लागि नेपालका मन्त्री, उप-प्रमुख मिसन र पूर्ण अधिकारप्राप्त प्रतिनिधि नेपाल दूतावासका प्रमुख डा. सुरेन्द्र थापाले सहभागिता जनाउने छन् । डा. थापाको उपस्थितिले नेपाल र भारतबिचको गहिरो सम्बन्धलाई झल्काउने र उनको सहभागिताले उपस्थित सबैलाई नेपाली नयाँ वर्ष उत्साह र आशावादका साथ स्वागत गर्न प्रेरणा दिने विश्वविद्यालयले अपेक्षा गरेको छ ।
भारतको राजधानी दिल्लीको आगरा र उज्बेकिस्तानमा आफ्ना शैक्षिक केन्द्रहरू रहेको शारदा विश्वविद्यालय लामो समयदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको साझा थलो बनेको छ । विश्वविद्यालयले समावेशी वातावरणलाई प्रोत्साहन गर्छ र सांस्कृतिक विविधतालाई उत्सवको रूपमा मनाउने परम्परालाई कायम राख्दै आएको छ । नेपाली नयाँ वर्षको उत्सव विश्वविद्यालयको विश्वव्यापी समुदाय सिर्जना गर्ने प्रतिबद्धताको अर्को उदाहरण हो ।