वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवको चुनावी अभियान कमजोर बन्दै गएको छ। जनतामा उनको स्वीकार्यता घट्दो क्रममा छ, जसले एमालेभित्रै चिन्ता बढाएको देखिन्छ।
‘जेन–जी उम्मेदवार’को नाममा युवालाई आकर्षित गर्ने प्रयास गरिरहेकी यादवका लागि आफ्नै पार्टी नेतृत्व बाधक सावित भएको छ। एमाले सचिव महेश बस्नेतले जेन–जीलाई ‘आतंकवादी’ भनेको अभिव्यक्ति सार्वजनिक भइसकेको छ। यही पार्टीको नाममा युवाको मत माग्नु आफैंमा विरोधाभास भएको मतदाताको बुझाइ छ। अझै गम्भीर विषय, जेन–जी आन्दोलनका क्रममा एमाले नेतृत्वको सरकारले ७६ जनाको ज्यान गएको आरोप आजसम्म जवाफबिहीन छ।
देशभर एमालेप्रति बढ्दो असन्तोष, सामाजिक सञ्जालमा बहिष्कार अभियान र सार्वजनिक आलोचनाले पर्सा–२ मा त्यसको प्रत्यक्ष असर परेको छ। मतदाताहरू अब पार्टीको नाम भन्दा उम्मेदवारको काम खोजिरहेका छन्, तर यादवको हकमा त्यो काम देखिँदैन भन्ने आरोप छ।
स्थानीय बुद्धिजीवी र युवाहरू स्पष्ट भन्छन्, यादवको जनसम्पर्क सतही छ, कार्यसम्पादन प्रश्नको घेरामा छ र चुनावी प्रतिबद्धता कागजमै सीमित देखिन्छ। भाषणमा परिवर्तन, व्यवहारमा पुरानै शैली हावी छ।
पर्सा–२ का एक मतदाताले आक्रोश व्यक्त गर्दै भने,
“हामीलाई पाँच वर्ष गायब हुने नेता चाहिँदैन। भोट माग्ने बेलामा मात्रै देखिने राजनीति अब अस्वीकार्य छ।”
विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मुद्दामा एमाले उम्मेदवारले कुनै ठोस रोडम्याप प्रस्तुत गर्न नसक्दा जननिराशा झन् गहिरिएको छ। विशेषगरी युवाहरू सामाजिक सञ्जालमार्फत खुलेर भन्न थालेका छन्, नयाँ अनुहार मात्रै काफी हुँदैन, नयाँ सोच र हिम्मत चाहिन्छ।
महिला र किसान वर्गले पनि आफूहरू केवल भोट बैंकको रूपमा प्रयोग भएको गुनासो गरेका छन्। उनीहरूको दाबी छ, यादवको अभियानले वास्तविक समस्या सम्बोधन गर्न सकेको छैन, जसको असर प्रत्यक्ष रूपमा उनको मताधारमा देखिन थालेको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, मतदाताको भरोसा खस्किनु कुनै सामान्य संकेत होइन। जनभावना बुझ्न नसक्ने र समयको मागअनुसार आफूलाई सुधार्न नसक्ने उम्मेदवार निर्वाचनमा गम्भीर धक्का खाने जोखिममा हुन्छन्।
पर्सा–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गए पनि एउटा कुरा स्पष्ट हुँदै गएको छ— मतदाता अब भ्रमण र भाषणले होइन, काम, स्पष्टता र जवाफदेहिताले मात्रै प्रभावित हुने मूडमा छन्। यही मूडले यसपटकको चुनावी नतिजा तय गर्ने संकेत देखिएको छ।