वीरगंज । सार्वजनिक हितका लागि निर्माण गरिएको नारायणी स्पोट्र्स क्लब वर्षौंसम्म निजी स्वार्थले कब्जामा रहँदै आएकोमा अन्ततः वीरगंज महानगरपालिका–५ को पहलमा क्लबलाई मुक्त गराउँदै स्थानीय समुदायको स्वामित्वमा पुनःस्थापित गरिएको छ ।
आफूलाई वरिष्ठ पत्रकार, लेखक र स्तम्भकारका रूपमा चिनाउँदै आएका कुमार रुपाखेतीले क्लब भवनलाई लामो समयदेखि व्यक्तिगत रुपमा नियन्त्रणमा राख्दै आएका थिए । क्लब भवन सार्वजनिक उद्देश्यका लागि निर्माण गरिएको भए पनि उनले प्रयोग गर्न नदिई कब्जामा राख्दै आएका थिए ।
वडा अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा वडाका भद्रभलाद्मी, जनप्रतिनिधि तथा नगर प्रहरीको उपस्थितिमा क्लब भवनको ताल्चा खोल्दै यसलाई औपचारिक रूपमा वडा कार्यालयको मातहत ल्याइएको हो । यो प्रक्रिया वडाले अतिक्रमण विरुद्ध लिएको कडा निर्णयका रूपमा हेरिएको छ ।
वडाले यसअघि धेरै पटक सार्वजनिक सूचना जारी गर्दै क्लबको चाबी फिर्ता गर्न अनुरोध गरेको थियो । तर लगातार बेवास्ता भएपछि वडास्तरीय छलफल र सर्वसम्मत निर्णयअनुसार प्रत्यक्ष हस्तक्षेप गर्दै सार्वजनिक सम्पत्तिमा नागरिकको स्वामित्व सुनिश्चित गरिएको वडा अध्यक्ष चौरसियाले जानकारी दिए ।
उनका अनुसार, ‘कसैले पनि पत्रकार भएको नाममा सार्वजनिक सम्पत्ति कब्जा गर्न सक्दैन । अरूलाई आरोप लगाउनेहरू आफैं अनैतिक क्रियाकलापमा संलग्न हुनु दुःखद हो । अब क्लब वडाबासीको हितमा, पारदर्शी रूपमा सञ्चालन हुनेछ ।’