वीरगन्ज, २१ असार – वीरगन्जको होटल दियालोमा Women’s Creation द्वारा आयोजित 21औं समर एक्जिबिशन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्र, विधा र व्यापारिक दृष्टिकोणलाई समेट्दै करिब ५० वटा स्टलहरू राखिएका थिए भने १००० भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएका छन्।
Women’s Creation की अध्यक्ष अञ्जु रूंगटाले नयाँ व्यापारिक सोच, महिला उद्यमशीलताको प्रवर्द्धन र महिलालाई सफल उद्यमीका रूपमा स्थापित गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको बताउनु भएको छ।
कार्यक्रम कृष्ण जन्माष्टमी, रक्षाबन्धन तथा मारवाडी समुदायको सिन्धारा पर्वलाई लक्षित गरी आयोजना गरिएको थियो। प्रदर्शनीमा महिला श्रृंगार सामग्री, पूजा सामग्री, महिलाका पहिरन, सजावटका सामग्री, परिकारहरू, कस्मेटिक तथा गहना जस्ता विभिन्न स्टलहरू राखिएका थिए।
प्रदर्शनीमा नेपालका काठमाडौँ, नारायणगढ, सिराहा लगायतका स्थानहरूबाट सहभागीता जनाइएको थियो भने भारतको मुजफ्फरपुर, बेतिया, कलकत्ता र सिमावर्ती क्षेत्रहरूबाट समेत व्यापारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य प्रायोजक Royal Enfield रहेको थियो भने सह–प्रायोजकमा Bigmaster, Quest Pharmia, Galaxy र Premia रहेका थिए।
Women’s Creation की स्थायी सदस्य अपर्णा पटवारीले यो कार्यक्रम व्यापारिक उद्देश्य मात्र नभई, उचित स्थान नपाएर व्यापार गर्न नसकेका महिला समूहलाई विना शुल्क स्टल प्रदान गरेर सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको बताउनु भयो।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथि रहनु भएको थियो। साथै, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक तेमानी, सशस्त्र प्रहरी बल (APF) का एस.पी. रधिश्याम समाल, तथा जिल्ला प्रहरी कार्यालयका उपरीक्षक गौतम मिश्रको समेत उपस्थिति रहेको Women’s Creation की सदस्य नूतन सरावगीले जानकारी दिनुभयो।