पर्सा, साउन ७ । जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको नेतृत्वमा पछिल्लो १० महिनामा आपराधिक गतिविधिहरूविरुद्ध महत्वपूर्ण सफलता हात पारेको छ। लागू औषध नियन्त्रण, भन्सार छली रोकथाम, फरार प्रतिवादी पक्राउ, काठ तथा बालुवा तस्करी नियन्त्रणलगायतका अभियानहरूबाट प्रहरीप्रति जनविश्वास थप मजबुत बनेको देखिन्छ।
करोडौं मूल्य बराबरको अबैध सामान र सवारीसाधन बरामद
श्रीपुर प्रहरी टोलीले भारतबाट अबैध रूपमा ल्याइएका करीब २९ लाख ४१ हजार रुपैयाँ बराबरका विभिन्न उपभोग्य सामग्री र ४ वटा मोटरसाइकल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
यस्तै, भारतको ड्राइपोर्ट हुँदै नेपाल भित्रिएर बिलमा उल्लेखभन्दा बढी मात्रामा लोड गरिएका १ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरका मालसामान सहितका सवारीहरू राजस्व अनुसन्धान कार्यालय, पथलैयामा पठाइएको छ।
लागूपदार्थ नियन्त्रणमा निर्णायक प्रहार
लागू औषध तस्करी तथा सेवनविरुद्ध सक्रिय श्रीपुर प्रहरीले विभिन्न मितिमा निम्न परिमाणका लागूपदार्थहरू बरामद गरेको छ:
- नाईट्राभेट ट्याब्लेट – ५९७ पिस
- ओनरेक्स सिरप – १०० बोतल
- फेनार्गन, नूर्फिन, डाइजेपाम इन्जेक्सन – ८,२०० पिस
- ट्रामाडोल क्याप्सुल – ५,९९० पिस
- खैरो हेरोइन – २४.६२ ग्राम
- गाँजा – ३४ किलो ७०० ग्राम
- चरेश – ३४ किलो १०० ग्राम
उक्त कार्यमा संलग्न २५ जनालाई (२४ पुरुष र १ महिला) पक्राउ गरि कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।
फरार प्रतिवादी नियन्त्रणमा ऐतिहासिक उपलब्धि
श्रीपुर प्रहरीले अदालतबाट फैसला भइसकेका २७३ जना फरार प्रतिवादीलाई समातेर अदालतमा पेश गरेको छ। साथै, अन्य मुद्दामा संलग्न २६ जना (२४ पुरुष, २ महिला) फरार प्रतिवादी पक्राउ गरिएका छन्।
काठ तथा बालुवा तस्करीमाथि निगरानी
पिठुवा जातका २५० क्यु. फिट काठ, ढोकाका ८ वटा चौकस, झ्यालका ४० चौकस, र तिनीहरू लोड गरिएका सवारीसाधनहरू नियन्त्रणमा लिई वन डिभिजन कार्यालय पर्सामा बुझाइएको छ।
अवैध बालुवा उत्खननमा संलग्न ९ वटा ट्याक्टर पनि नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको छ।
कालोबजारी नियन्त्रण
खसीको मासु भन्दै बाख्राको मासु विक्री गरिरहेका २ जना मासु व्यवसायी पक्राउ परी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको नेतृत्वमा श्रीपुर प्रहरीले आपराधिक गतिविधिविरुद्ध गरेका तीव्र र प्रभावकारी अभियानले सुरक्षाको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेको छ। समुदायस्तरमै सकारात्मक प्रतिक्रिया पाइरहेको यो अभियान शान्ति सुरक्षा सुनिश्चित गर्ने दिशामा प्रेरणादायी उदाहरण बनेको छ।