वीरगंज । वीरगंजको पिपरास्थित नृसिंह माध्यमिक विद्यालयमा चलिरहेको स्नातक चौथो वर्षको परीक्षाका क्रममा उत्तरपुस्तिका हेरफेर गर्दै गरेको अवस्थामा विद्यालयकै शिक्षक बाबुनन्द पटेल रंगेहात पक्राउ परेका छन्।
मंगलबार परीक्षा चलिरहेको बेला पटेलले खाली उत्तरपुस्तिकामा आफैं टिक लगाई विद्यार्थी संतोष यादवलाई आर्थिक लेनदेनमा अनुचित रूपमा पास गराउने प्रयास गरेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको हो । प्रहरीले घटनास्थलमै हस्तक्षेप गरी पटेललाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको पुष्टि गर्दै दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
परीक्षा प्रणालीको दुरुपयोग गरेको ठहर गर्दै परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी संतोष यादवलाई समेत परीक्षा प्रणालीबाट निष्कासन (expelled) गरेको छ।
पक्राउ परेका पटेल सोही विद्यालयमा प्राविधिक शिक्षकको रुपमा कार्यरत रहेका थिए ।