वीरगंज । स्नातक चौँथो वर्षको परीक्षामा चिट चोराउँदै गरेका बेला पक्राउ परेका वीरगंज १४ स्थित नृसिंह माध्यमिक विद्यालयका शिक्षक बाबुनन्द पटेललाई अन्ततः प्रहरीले छाडेको छ । मंगलबार परीक्षा चलिरहेका बेला पटेलले खाली उत्तरपुस्तिकामा आफैं टिक लगाई परीक्षार्थी संतोष यादवलाई आर्थिक लेनदेनमा अनुचित रूपमा पास गराउने प्रयास गरेको बेला प्रहरीले नै रंगेहात पक्राउ गरेको थियो ।
पटेल पक्राउ परेसँगै उनलाई छुटाउन नेपाली कांग्रेसका नेताहरु लागि परेका थिए । कांग्रेसका नेताहरुको दवाब सामु पर्साका प्रहरी प्रमुख निरिह देखिए । रंगेहात पक्राउ परेका पटेललाई कारबाही गर्नुको सट्टा प्रहरी प्रमुख मिश्रले छाडेर कांग्रेसको नुनको सोझो गरेको देखाएका छन् ।
परीक्षार्थी यादब परीक्षाबाटै निष्कासन हुनु तर चिट चोराउन सहयोग गर्ने शिक्षकलाई कारबाही नगरी रिहाई गर्नुले पर्सा प्रहरीको चरित्रमाथि प्रश्न उठेको छ ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार विद्यालयले आफैँ अनुसन्धान गर्ने सहमति अनुसार शिक्षक पटेललाई विद्यालयकै जिम्मा लगाइएको जानकारी दिए ।
रंगेहात पक्राउ परेका शिक्षकलाई आज बिहानै विद्यालयको जिम्मा लगाएर छाडिएको विषयमा भने प्रश्न उठेको छ ।
घटनाबारे प्रहरी प्रमुख मिश्रसँग जानकारी माग्दा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग थप कुरा बुझ्न आग्रह गरे । यता प्रमुख जिल्ला अधिकारी अर्यालले भने आफूलाई यस घटनाबारे जानकारी नभएको भन्दै पन्छिन खोजे ।
प्रहरी प्रमुख मिश्रले नृसिंह मा.वि.बाट निवेदन आएपछि मात्र थप कानुनी प्रक्रिया अघि बढाइने बताएका छन् । ‘उनी अझै पनि अनुसन्धानकै घेरामा छन्,’ मिश्र भन्छन्, ‘सम्बन्धित विद्यालयले सिफारिस गरेको आधारमा थप कारबाही हुन्छ, त्यताबाट के आउँछ त्यसपछि हामी अघि बढ्छौँ ।’
रातारात पक्राउ परेका शिक्षकलाई बिहान छोडिएको घटनाले प्रहरी प्रशासनप्रति गम्भीर आशंका उत्पन्न गराएको छ ।