वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ६२ करोड ४० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब १० करोड रुपैयाँले बढी हो।
कार्यालय प्रमुख कुसेश्वर साहका अनुसार, अघिल्लो वर्ष १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो।
सबैभन्दा बढी राजस्व सवारी साधन करबाट उठेको छ, जसको रकम १ अर्ब २२ करोड १९ लाख ९ हजार रुपैयाँ रहेको छ। चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता र अन्य दस्तुरहरूबाट ३२ करोड १६ लाख १६ हजार रुपैयाँभन्दा बढी संकलन गरिएको छ।
त्यस्तै, रुट परमिट, पाटके, प्रदूषण जाँच लगायतका सेवाबाट ८ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको हो। प्रशासनिक जरिवाना तथा जफत शीर्षकबाट १४ हजार ५ सय रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोका अनुसार, प्रदेश सरकारले सवारी नवीकरणमा जरिवाना छुटको व्यवस्था गरेपछि बक्यौता तिर्ने सेवाग्राहीको संख्या बढेको र यसले राजस्व वृद्धिमा सकारात्मक असर परेको हो।