वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक लक्ष्मण यादवसँग स्पष्टिकरण सोधिएको छ ।
सामुदायिक विद्यालयको शिक्षक भएर पनि निजी शैक्षिक संस्थाको संयोजकको जिम्मेवारी निर्वाह गरेको र त्यसको प्रचारप्रसार गरेको आरोपमा उनलाई कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।
वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार, यादवलाई पाँच दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिइएको छ ।
शुक्रवार प्याब्सन वीरगञ्जद्वारा आयोजित एक छात्रवृत्ति कार्यक्रममा यादवले आफू संयोजक रहेको निजी शैक्षिक संस्थाले वीरगञ्जका अन्य विद्यालयहरूभन्दा राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने दाबी गर्दै प्रचार गरेको पाइएको छ ।
सोही कार्यक्रममा उपस्थित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले यादवको उक्त व्यवहारप्रति आक्रोश व्यक्त गरे । उनले भने, “सरकारको तलब खाएर निजी विद्यालयको प्रचार गर्नु र आफ्नो संस्था उत्कृष्ट भएको भन्दै घमण्ड गर्नु लज्जास्पद छ । यदि तपाईंले आफू कार्यरत सामुदायिक विद्यालयको गुणस्तर उत्कृष्ट छ भनेर प्रचार गर्नुभएको भए म खुसी हुने थिएँ ।”
नगर प्रमुख सिंहले शैक्षिक प्रशासन महाशाखाका प्रमुख लामिछानेलाई शिक्षक यादवमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
महाशाखाले यादवलाई किन कारबाही नगर्ने भन्दै पाँच दिनभित्र लिखित जवाफ पेस गर्न पत्राचार गरेको छ ।