
वीरगन्ज, २३ मंसिरः आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा युवा नेता राकेश यादवलाई पनि संभावित दावेदारमा अघि सारेको छ। क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको तीन नाममध्ये यादवको नाम पनि समावेश छ।
सोमबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री तथा तीन कार्यकालका सांसद अनजकुमार चौरसिया, एक कार्यकालका सांसद राजेन्द्र बहादुर अमात्य र युवा नेता यादवलाई जिल्ला कार्यसमितिमा सिफारिस गरेको क्षेत्रीय सभापति महमद साहबुद्धिनले बताए।
४३ वर्षीय यादव पर्साको बहुदरमाई नगरपालिका २ सिसियाडी बैरियाका स्थायीबासी हुन्। कक्षा ९ मै नेविसंघमा सक्रिय भएका उनी ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सचिवमा विजयी भएका थिए। क्याम्पस इकाई सचिव र जिल्ला सचिव हुँदै उनी नेविसंघ जिल्ला सभापति बनेका थिए।
पर्सा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फका लागि गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रुपा श्रेष्ठ र जुनमाया बलको नाम सिफारिस गरिएको सभापति साहबुद्धिनले जानकारी दिए।
त्यस्तै, आउँदो राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि यस क्षेत्रबाट हिरा साह कानु, सुखल हजरा, प्रेमचन्द्र दुबे र कन्हैयालाल बानियालाई सिफारिस गरिएको उनले थप बताए।