
वीरगञ्ज । पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेको छ। यसैबीच पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवप्रति मतदाताको रुचि घट्दै गएको चर्चा व्यापक बन्दै गएको छ।
स्थानीय बासिन्दा, बुद्धिजीवी र युवामाझ उम्मेदवार यादवको कार्यसम्पादन, जनतासँगको सम्पर्क र चुनावी प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको हो। स्थानीय मतदाताका अनुसार चुनावका बेला गरिने ठूला–ठूला आश्वासन व्यवहारमा कार्यान्वयन हुनेमा उनीहरूलाई शंका छ।
पर्सा–२ का एक मतदाताले भने, “चुनावमा भोट माग्न आउँदा मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं।”
स्थानीयहरूको भनाइमा विकास निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा अपेक्षित काम नदेखिएकाले जनतामा निराशा बढेको छ। विशेषगरी युवाहरूले सामाजिक सञ्जालमार्फत खुलेर असन्तोष व्यक्त गरिरहेका छन्। उनीहरूका अनुसार नयाँ सोच, ऊर्जा र स्पष्ट कार्ययोजना नदेखिएकाले परिवर्तन आवश्यक भइसकेको छ।
यसैगरी महिला र किसान वर्गले समेत आफ्ना समस्या समाधानमा उम्मेदवारले चासो नदेखाएको आरोप लगाएका छन्। उनीहरूका गुनासोले यादवको चुनावी अभियानमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मतदाताको रुचि घट्नु कुनै पनि उम्मेदवारका लागि गम्भीर संकेत हो। जनताको भावना र अपेक्षा बुझ्न नसक्दा निर्वाचन परिणाममा असर पर्न सक्ने उनीहरूको विश्लेषण छ।
पर्सा जिल्लामा अहिले चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। मतदातामा देखिएको असन्तुष्टि र परिवर्तनको चाहनाले आगामी निर्वाचनको परिणाम कस्तो आउला भन्ने चासो बढेको छ। जनताले यसपटक आफ्नो मत सोचविचार गरेर प्रयोग गर्ने संकेत देखिएको स्थानीयहरूको भनाइ छ।