वीरगंज । वीरगंज महानगरपालिकाले शहरलाई कुरुप बनाउने गरी विद्युतका पोल तथा खाली भित्ताहरुमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्न सुरु गरेको छ ।
केही समयदेखि नै महानगरपालिकाले जथाभावी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरे पनि अटेर गरी टाँस्नेलाई समातेर कारबाही गर्न सुरु गरेको हो ।
आइतबार राति जथाभावी पर्चा, पम्प्लेट टास्दै गरेको अवस्थामा महानगरको सरसफाई टोलीले एक जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाएको छ ।
छिमेकी देश भारत रक्सौलका चिकित्सकको नाममा हाइड्रोसिल, बबासिर, भकन्दर, गुप्त रोग, चर्म रोग लगायतको रोगको उपचार हुने भन्दै वीरगंजका विभिन्न स्थानमा जथाभावी पम्प्लेट टाँस्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको महानगरको सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको जिल्ला लुधियाना ग्राम सिक्रीका संजय मलिक रहेका छन् । उनलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको मियाँले जानकारी दिए ।
विभिन्न शिक्षण संस्था, इन्स्टिच्युट, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाका साथै भारतीय झोले छाप डाक्टरहरुले यसप्रकारको प्रचार सामग्री शहरका पोलपोल र भित्ताहरुमा टाँस्नुका साथै वितरण गर्ने गरेको पाइएको छ ।
महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको सरसफाई शाखा प्रमुख मियाँले जानकारी दिए ।
घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा बनाउने अभियानलाई महानगरले तिब्रता दिएको हो । शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न महानगरले रोक लगाएको मियाँले बताए ।
मियाँका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ । ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन विशेष योजनाका साथमा हामी लागेका छौँ ।’
शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्प्लेटको बिगबिगी हटाउन लागिएको बताउँदै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा नियन्त्रणमा नै लिएर कडा कारबाही गर्ने चेतावनी दिए ।
स्वास्थ्य/जीवनशैली
पछिल्लो समय मिर्गौला रोग एक प्रमुख स्वास्थ्य समस्या बनिरहेको छ । मिर्गौलासम्बन्धी रोग सुरुवाती चरणमै पत्ता लागे उपचार सहज हुन्छ । तर धेरैमा जटिल अवस्थामा पुगेपछि मात्रै पत्ता लाग्दा डायलाइसिस र प्रत्यारोपणको आवश्यकता पर्छ ।
मिर्गौलाको काम शरीरको तरल पदार्थको स्तरलाई विनियमित गर्नु, रगतबाट फोहोर र विषाक्त पदार्थहरू फिल्टर गर्नु, रक्तचाप नियन्त्रण गर्ने हार्मोन निकाल्नु, स्वस्थ हड्डीहरू कायम राख्न भिटामिन डी सक्रिय गर्नु, हार्मोन जारी गर्नु (जसले रातो रक्त कोशिकाहरूको उत्पादनलाई निर्देशित गर्दछ) हो । रगतको खनिज सन्तुलनमा राख्न (सोडियम, फस्फोरस, पोटासियम) मिर्र्गौलाको महत्वपूर्ण भूमिका हुन्छ ।
मिर्गौला खराब पार्ने कारक तत्व
मधुमेह, उच्च रक्तचाप, हृदयरोग, मिर्गौला फेलको पारिवारिक इतिहास भएमा मिर्गौला खराब हुनसक्छ । यस्तै मोटोपन, ६० वर्षभन्दा माथि उमेर भएकालाई, जन्मिंदा तौल कम हुनु, एनएसएआईडीएस (दुखाइ कम गर्ने एक किसिमको औषधि) को लामो समयसम्म प्रयोग गर्नाले, लुपस, अन्य अटोइम्युन रोगहरू (लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग)का कारण पनि मिर्गौलामा समस्या आउन सक्छ ।
मूत्रप्रणालीमा हुने पुरानो किसिमको संक्रमण भएमा, मिर्गौलाको पत्थरी भएमा पनि मिर्गौला रोगको जोखिम उच्च हुन्छ ।
प्रारम्भिक अवस्थामा मिर्गौला रोगको कुनै लक्षण नहुन सक्छ । तर पनि थकान, कमजोरी महसुस हुने, गाह्रो, पीडादायी पिसाब आउने, दुगन्धित पिसाब आउने, गुलाबी, गाढा पिसाब (पिसाबमा रगत) हुने, तिर्खा लागिरहने, पटक-पटक पिसाब गर्नुपर्ने (विशेष गरी रातमा) हुने मिर्गौलामा समस्या आएको लक्षण हुन सक्छन् ।
यस्तै आँखा पोल्ने, अनुहार सुन्निने, हात, पेट, खुट्टा दुख्ने मिर्गौला रोगका लक्षण हुन् ।
केही सरल तर जीवन बचाउने स्वास्थ्य परीक्षणहरू
रक्तचाप (बीपी परीक्षण)
उच्च रक्तचापले मिर्गौलामा रहेका साना रक्तनलीहरू (ग्लोमेरुली)लाई क्षति पुर्याउन सक्छ । त्यसैले समय-समयमा रक्तचाप परीक्षण गरिरहनुपर्छ । राम्रो रक्तचाप स्कोर १४०/८० धेरै मानिसका लागि राम्रो हुन्छ । यदि पुरानो मिर्गौला रोग छ भने १३०/८० राम्रो हुन्छ । १२०/८० सबै भन्दा राम्रो मानिन्छ । त्यस्तै मधुमेहको परीक्षण पनि गराइरहनुपर्छ ।
पिसाबमा प्रोटिन मापन (पिसाब परीक्षण)
पिसाबमा एक प्रकारको प्रोटिन एल्बुमिन (अल्बुमिनुरिया) मिर्गौला रोगको प्रारम्भिक लक्षण हुनसक्छ । पिसाबमा एल्बुमिन र अन्य प्रोटिनको नियमित मात्रा (प्रोटिन्युरिया)ले मिर्गौलामा क्षति भएको संकेत गर्छ ।
जीएफआर (रक्त परीक्षण)
यसले मिर्गौलाले रगतलाई कत्तिको राम्रोसँग फिल्टर गरिरहेको छ भनेर मापन गर्छ । डाक्टरहरूले रगतमा क्रिएटिनिनको स्तर नाप्छन् र ग्लोमेरुलर फिल्टरेसन रेट (जीएफआर) अर्थात् मिर्गौलाको काम गर्ने क्षमता नाप्ने गर्छ ।
जसमा राम्रो स्कोर ९० भन्दा बढी राम्रो छ । ६०-८९ अनुगमन गर्नुपर्छ । तीन महिनाका लागि ६० भन्दा कमले मिर्गौला रोगलाई जनाउँछ ।
मिर्गौला रोग भएकाले गर्नैपर्ने केही कुरा
उच्च रक्तचाप नियन्त्रणमा राख्नु, रगतमा चिनीको मात्रा व्यवस्थापन गर्नु, नुन सेवन कम गर्नु, एनएसएआईडीएस (एक प्रकारको दुखाइ कम गर्ने औषधि) सेवनबाट बच्नु, मध्यम प्रोटिन खपत, वार्षिक फ्लु शट (फ्लु खोप) लिने गर्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
नियमित व्यायाम गर्ने, तौल नियन्त्रण गर्ने, सन्तुलित आहार पालना गर्ने, धुम्रपान गर्दै नगर्ने, पूर्ण रुपमा छोड्ने, हाइड्रेटेड रहने, कोलेस्टेरोल स्तर समय-समयमा परीक्षण गर्ने, परिवारका अन्य सदस्यको रोग र उपचारको बारेमा ज्ञान राख्ने गर्नुपर्छ ।
श्री गुरु दक्षिना कार्यक्रम अन्तर्गत बिन्दबासिनी गापा र महानगरको वडा नम्बर २ मा सम्पन्
बिरगंज १५ साउन । श्री गुरुदक्षिणा कार्यक्रम अन्तर्गत मंगलबार हिन्दु स्वयंसेवक संघ पर्साले बिन्दबासिनी गाउँपालिकामा सम्पन्न भएको छ।
हिन्दु स्वयंसेवक संघका जिल्ला कार्यवाह कृष्ण चौरसियाले आफ्नो आशिरबचनमा हिन्दु स्वयंसेवकको स्थापना र हिन्दु समाजलाई संगठीत गर्ने उदेश्य लिई संघले कार्य गदै आइरहेको चौरसियाले बताएका छन् । उनलेे भने अहिले गुरु दक्षिणा संघका स्वयंसेवकहरुबाट मात्र समपर्ण लिने काम मात्र भइरहेको बताए।
हिन्दु स्वयंसेवक संघले परमपबित्रा भागवा धवजलाई गुरु हुन संघले ब्यक्ति पुजालाई बन्चित गदै आइरहेकोले संघको मुख्य कार्यक्रम मध्ये गुरु दक्षिना एक कार्यक्रम भएको जिल्ला कार्यवाह चौरसियाले बताएका हुन ।
उनको भनाइ अनुसार संघले कुनै जातीय विभेद विरुद्ध संघले काम गदै आइरहेको र समाजमा समाजिक सदभाव कायम गर्ने मुख्य उदेश्य रहेकोले सामाजिक सदभावलाई मुल आधार मानेर विभिन्न पवित्र समुदायलाई जनजाति बिच कार्य गदै आइरहेको जिल्ला कार्यवाह चौरसियाले बताएका छन् ।
हिन्दु स्वयंसेवक संघले अरु संघसंस्था जस्तो जथाभावी चन्दा ,चिठ्ठा लिने कार्य गर्दैन र यसले संघसंग जोडिएका ब्यक्तिहरु र हिन्दु स्वयंसेवक संघका स्वयंसेवहरु संग मात्र गुरु दक्षिणा लिने काम भएको बताए ।
गुरु दक्षिणाका मुख्य बक्ता संघका बिभाग धर्मजागरण प्रमुख सशिकान्त मनि त्रिपाठीले हिन्दु स्वयंसेवक संघ किन स्थापना गरिएको हो र यसको महत्त्वपूर्ण उदेश्य के हो भनेर बताएका थिए । उनलेे भने यो हिन्दु स्वयंसेवक संघले आफ्नो धर्म संस्कार ,संस्कृतिको रक्षा तथा परामपरागत संस्कृतिको संरक्षण स गर्ने जिम्मेवारीका साथ लागि परेको बताए सनातन धर्मलाई विश्वभर चिनाउने काम डाक्टर केशव बलिराम हेडकेवारले आज भन्दा ९९ वर्ष पहिला स्थापना गरेर जानुभएको हो अब २०२५ मा १०० वर्ष पुग्दै गर्दा विश्वभर विभिन्न कार्यक्रम गरि मनाउने तयारी भइरहेको बताए ।
हिन्दु स्वयंसेवक संघ पर्साका जिल्ला संघचालक माधवराजपालले गुरु दक्षिणा कार्यक्रम पर्सा जिल्ला भरि भइरहेको बताएका छन् ।उनलेे भने अहिले महानगरपालिका भित्र र पालिका भित्र छुट्टाछुट्टै जिम्मेवारी दिएको र स्वयंसेवकहरु आफ्नो काममा लागि रहेका छन् । मंगलबार बिन्दबासिनी गाउँपालिकामा र बीरगज महानगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको जिल्ला संघचालक माधवराजपालले जानकारी दिएका छन् ।
सिमलताल पहिरो अपडेट : गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक
वीरगंज । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् । उनी कलंकीमा ब्यवसाय गरेर बस्ने गरेको खुलेको छ । उनी वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
यस्तै पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् । भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीले जनाएको छ । ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् ।
यही असार २८ गते बिहान भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।
वेपत्ता भएकाहरुमध्ये हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भैसकेको छ । शनिवार ३ जनाको र आज २ जनाको शव भेटिएको हो ।
निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप यादवविरुद्ध प्रकाशित झूटा समाचारको खण्डन
काठमाडौँ, २७ असार । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवविरुद्ध अनलाइन समाचार पोर्टल “उकेरा डट कम” मा प्रकाशित समाचारमा गरिएको झूटा र आधारहीन आरोपप्रति मन्त्री यादवको सचिवालयले गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ । असार २४ गते प्रकाशित उक्त समाचारमा निवर्तमान मन्त्री यादवको कार्यकालमा सरुवा र बढुवाका क्रममा भ्रष्टाचार भएको आरोप लगाइएको थियो ।
मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले सम्पादकलाई पठाएको पत्रमा समाचारमा लगाइएका आरोपहरू पूर्ण रूपमा झूटा, आधारहीन र प्रमाणविहीन रहेको बताएका छन् । निवर्तमान मन्त्री यादवले आफ्नो कार्यकालमा कुनै पनि किसिमको घूस नलिएको र समर्पित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरेको पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा लेखिएको छ, ‘मन्त्री यादवले आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रीको रूपमा पारदर्शिता र निष्पक्षताको साथ सबै सरुवा, नियुक्ति र पदस्थापनहरू कानुनी प्रक्रिया अनुसार नै गरेका थिए ।’ समाचारमा उल्लेख गरिएको घूस प्रकरणबारे कुनै प्रमाण प्रस्तुत नगरिएको र सम्पूर्ण आरोपहरू निराधार भएको स्पष्ट पारिएको छ ।
स्वास्थ्य सेवा सुधारका लागि निवर्तमान मन्त्री यादवले विभिन्न महत्त्वपूर्ण कामहरू गरेको पनि पत्रमा उल्लेख गरिएको छ । सरकारी अस्पतालहरूको निरीक्षण गरी त्यहाँका समस्या समाधान गर्न र गम्भीर बिरामीहरूको उपचारका लागि विशेष कदम चालेको पत्रमा जनाइएको छ ।
निवर्तमान मन्त्री यादवले जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै काम गर्ने व्यक्ति भएको र यस्ता झूटा समाचारहरूले जनतालाई भ्रमित पार्न सक्ने भन्दै पुनः यस्ता निराधार समाचारहरू प्रकाशित नगर्न अनुरोध गरिएको छ ।
वीरगन्ज,२२असार:वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा शनिबार बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
गहवामाई रथ यात्राकाे दाेस्राे वर्षकाे अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपाेर्टदेखि परवानीपुर जाने ६ लेन सडककाे डिभाइडरमा विभिन्न प्रजातिका ९ सय वटा विरुवा राेपिएकाे हाे ।
साहिब दरबार संस्था र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरकाे सहकार्यमा वीरगन्ज महानगरपालिकाले आयाेजना गरेकाे बृहत वृक्षारोपण कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलेपनि विरुवा राेपेका थिए।बिहानैदेखि लगातार झरी परिरहेको भएपनि वृक्षरोपण कार्यक्रममा उत्साहजनक सहभागीता रहेकाे थियाे।
ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा मेयर सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे वृक्षारोपण कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देव सहाय मीना,साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडा,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाईका साथै नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना, वीरगन्ज महानगरपालिकाका कर्मचारी ,विद्यार्थी ,सञ्चारकर्मी लगायतको सहभागीता रहेकाे थियाे।
वीरगन्ज :सार्वजनिक बोरीङबाट पानी लैजान नदिनेको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर
वीरगन्ज,२० असारः वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार साह कानुले सार्वजनिक स्थानमा गाडिएको डीप बोरिङको धाराबाट छिमेकीलाई पानी नदिने व्याक्तिको घर अगाडि ट्याक्टरबाट फोहोर लगेर थुपारि दिएका छन् ।
वरिगन्ज–१० रानीघाटको गायत्री मन्दिर टोलका सन्जय कुमार कलवारको घर अगाडी बिहीबार बिहान वडाध्यक्ष कानुले वडाबाट संकलित फोहोर ट्याक्टरमा लगेर थुपारी दिएका हुन् । वडाध्यक्ष कानुका अनुसार,टोलभरीकै चापाकलह सुकेपछि छिमेकीहरुलाई पानी लग्ने दिने शर्तमा वडा कार्यालयबाट लिखित रुपमै अनुमति लिएर कलवारले गत बैशाख २० गते आफनो घर अगाडिको सडकमा डीप बोरीङ गाडेका थिए ।तर उक्त डीप बोरीङबाट कलवारले छिमेकीका घरमा पानी लैजान नदिएपछि छिमेकीहरु गुनासो लिएर वडा कार्यालयमा पुगेका थिए ।
त्यसपछि कलवारलाई फोन गरेर छिमेकीलाईपनि पानी दिन आग्रह गर्दा कलवारले आँफुसहित चार जनाले खर्च गरेर बोरीङ गाडेकोले अरुलाई पानी दिन नसक्ने ठाडो जवाफ दिएको वडाध्यक्ष कानुले बताए । वडासदस्यहरु पनि कलवारकै घरमा पठाएर सम्झाई बुझाई गर्न खोज्दापनि अटेर गरेपछि बाध्य भएर उनको घर अगाडिको दैलोमा कचरासहितको फोहोर लगेर थुपार्न लगाएको वडाध्यक्ष कानुले बताए ।
वडाध्यक्ष कानुले भने,‘ एक त वडा कार्यालयबाट कलवारले छिमेकीहरुलाईपनि पानी दिने लिखित शर्त गरेरै सडकमा बोरीङ गाडेका हुन् । अर्को कुरा उनले आफनो निजी जग्गामा नभई घर अगाडिको सडकमा बोरीङ गाडेका हुन् । सडक सार्वजनिक स्थान हो । सार्वजनिक स्थानमा गाडिएको धारा वा बोरीङ कसैको निजी वा पेवाको सम्पति हुनै सक्दैन । सडकमा गाडिएको बोरीङ सार्वजनिक हुन्छ । सबैले पानी प्रयोग गर्न पाउनु पर्छ । ’
अहिले वीरगन्जभरी नै चापाकलहरु सुकेर पानीको संकट भइरहेका बेला कलवारले बदमाशी गरेपछि आँफुले पहिलो पटक चेतावनी दिनका लागि वडाबाट संकलन गरिएको कचरा सहितको फोहोर ट्याक्टरमा लगेर उनको दैलोमा खसाल्न लगाएको वडाध्यक्ष कानुले बताए । उनले भने,‘ यो चेतावनीको संकेत मात्रै हो । यदि कलवारले छिमेकीलाई पानी दिएनन् भने सार्वजनिक स्थानमा गाडिएको बोरीङ उखेल्न लगाउँछु । त्यसपछि स्थानीयका लागि पानीको संकट टार्न अर्को विकल्पको व्यवस्थापन गर्छु ।‘
गत बैशाखदेखि वीरगन्जको शहरी क्षेत्रमा चापकलहरु सुकेर खानेपानीकै संकट सुरु भएपछि रानीघाटका कलवार छिमेकीहरुलाई आवश्यकता अनुसार बोरीङबाट पानी लैजान दिने शर्तमा वडा कार्यालयको अनुमति लिएर आफनै घर अगाडिको सडकमा डीप बोरिङ गाडेका थिए । त्यसमा लागेको खर्च कलवारसहित चार जनाले ब्यहोरेका थिए । उक्त डीप बोरीङबाट कलवार र बोरीङ गाड्न खर्च दिएका व्याक्तिहरुको घरमा मात्र अहिले पाइप जोडेर पानीको आपुर्ति भइरहेको छ ।
अहिले चापाकल सुकेर खानेपानीको संकट झन् बढ्दै गएपछि उक्त बोरीङमा पाइप जोडेर पानी लैजान खोज्दा कलवार र उनका साझेदारले लैजान नदिएको स्थानीय अक्षय कुमार सर्राफले बताए ।५० हजार रुपैयाँ दिएमात्र पानी लैजान दिने शर्त कलवार र उनका साझेदारले राखेको सर्राफले बताए ।उनले भने,‘ त्यत्रो पैसा हामीले कहाँबाट ल्याउँ ? पैसा दिएमात्र पानी दिने नत्र नदिने यो कहाँको न्याय हो ?’
वडा कार्यालयमा गुनासो लिएर पुगेका सर्राफले भने,‘ चापाकल सुकेर पानी आएको छैन । घर छेउमै डीप बोरीङ छ । तर हामीले पानी पाएका छैनौं । बोरीङमा पाइप जोड्न जाँदा कलवारसहितका मान्छेले ५० हजार दिने भए पानी लैजाउ । नत्र पानी छैन भनेर धम्क्याउछन् ।’
केहिदिन पहिलेमात्रै पानीको संकट भएपछि कलवारकै छिमेकका राजकुमार सर्राफले कलवारलाई ४० हजार रुपैयाँ दिएपछिमात्रै बोरीङमा पाइप जोडेर पानी लैजान दिएको उनका दाजु बलिराम सर्राफले बताए ।

कलवारकै अर्का छिमेकी सन्तोष साह कानुलेपनि कलवारे मागे अनुसारको पैसा दिन नसक्दा पानी लान नपाएको दुखेसो पोखे । उनले भने,‘ सार्वजनिक प्रयोगका लागि वडाध्यक्षले पठाइदिएको ५ हजार लिटरको ट्यांकीमा पनि कलवारले पानी भर्न दिएका छैनन् । यो त सरासर अन्याय हो ।’
यता कलवारले भने आँफुहरुले साढे ३ लाख रुपैयाँ खर्च गरेर डीप बोरीङ गाडेकाले उक्त बोरीङबाट पाइप जोडेर अरुलाई पानी लैजान नदिने बताए । बोरीङ गाड्नका लागि खर्च दिएका व्याक्तिहरुको घरमा मात्रै पाइप जोडेर पानीको आपुर्ति गरिएको भन्दै उनले भने,‘ बोरीङ गाड्ने बेला छिमेकका घर घरमा गएर हामीले पैसा मागेका थियौं त्यो बेला कसैलेपनि एक सुका झारेन ।जसलाई पानी चाहिएको छ मेरो दैलोको धारमा आएर बाल्टी थापेर लगे हुन्छ । हामी रोक्दैनौं । तर बोरीङमा पाइप जोड्न दिदैनौ । वडाध्यक्ष होस् वा जो सुकै होस् पाइप जोड्न दिदैनौं ।’
वडाध्यक्षले अबपनि दबाब दिए आँफुहरुले वडाभरीकै बोरीङको पाइप उखेलेर फयाँकी दिने धम्कीपनि उनले दिए । उनले भने,‘ अब हामीपनि हेर्छौ को आएर हामीलाई टर्चर गर्छ । वडाध्यक्ष वा अरु कसैले जोरजबरस्ति पाइप जोडेर पानी लैजान खोज्यो भने पुरै वडाभरका बोरीङ उखलेर फालिदन्छौ । पाइप काटी दिन्छौ ।’
नेपाली औषधी उद्योगमा सुधारका लागि स्वास्थ्य मन्त्री यादवद्वारा उच्चस्तरीय अनुगमन समिति गठन
काठमाडौँ, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपाली औषधी उद्योग, औषधी थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ ।
स्वास्थ्य मन्त्री यादवले औषधी ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए/नभएको सुनिश्चित गर्न समिति गठन गर्नुभएको हो ।
समितिको मुख्य उद्देश्य मधेस प्रदेशको वीरगञ्ज र कोसी प्रदेशको इटहरीमा रहेका औषधी उद्योग, थोक विक्रेता र फार्मेसीहरूको स्थलगत निरीक्षण गरी उत्पादन, विक्री वितरण, निकासी पैठारी र सञ्चय प्रक्रियामा रहेका समस्याहरूको पहिचान गर्नु रहेको छ । त्यस्तै समितिले औषधी उत्पादनमा गुणस्तर मापदण्डको पालना, औषधीको प्रभावकारिता र सुरक्षाको निरीक्षण पनि गर्नेछ । औषधी थोक विक्रेताहरूले तय गरिएको स्तरको औषधी विक्री वितरण गरिरहेको छ कि छैन भन्ने विषयलाई समेत समितिले जाँच गर्ने छ ।
मन्त्रीस्तरीय निर्णयबाट गठित समितिको संयोजकमा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा रहनुभएको छ । सदस्यहरूमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, राष्ट्रिय औषधी प्रयोगशालाका वरिष्ठ औषधी व्यवस्थापक सङ्गीता साह, नेपाल फार्मेसी काउन्सिलका प्रतिनिधि, सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि र सम्बन्धित क्षेत्रका औषधी व्यवस्था विभागका शाखा कार्यालयका प्रमुख रहनुहुनेछ । त्यस्तै, समितिको सदस्य सचिवमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा रहनुभएको छ ।
अनुगमनले नेपालमा उत्पादित औषधी उत्पादन र विक्री वितरणमा तोकिएको गुणस्तरको पालना गराउन, उपभोक्तालाई सुरक्षित औषधी पाइरहेको सुनिश्चितता गराउन, औषधीको मूल्य र उपलब्धता नियन्त्रण गर्न र औषधी उद्योगप्रति विश्वास बढाउन सहयोग गर्ने मन्त्री यादवले विश्वास लिनुभएको छ ।
त्यसै गरी अनुगमनले औषधीको गुणस्तर सुधार गर्न र बजारमा गलत औषधीको विक्री रोक्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले भन्नुभयो, “जनगुनासो सम्बोधनसँगै उपभोक्ताले सुरक्षित र गुणस्तरीय औषधी प्राप्त गर्नेछन् । यसले औषधी उद्योगमा व्यापक सुधार ल्याउन सहयोग गर्नेछ ।”
समितिलाई १५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारी समेत गरेको छ ।

चितवन, ३२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन् ।
शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रुपमा भरतपुर अस्पतालको सेवा प्रवाहको अनुगमन गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले दुबै अस्पतालमा उपचार गराइरहेका बिरामी, कुरुवासहित अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, अन्य स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन् । ‘छलफलका क्रममा अस्पताललाई सेवा प्रवाहका क्रममा आइरहेको विभिन्न समस्याका बारेमा बुझेँ । अस्पतालमा उपकरण, जनशक्ति र बजेट अभावमा कारण पनि समस्या आइरहेको पाएँ । त्यस्तै फार्मेसीमा पनि पर्याप्त औषधि उपलब्ध नरहेको देखियो,’ उनले भने ।
मन्त्री यादवले नेपालसहित भारतसमेतबाट आउने क्यान्सर रोगीहरूको उपचारको केन्द्रका रूपमा स्थापित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पूर्ण रूपले सबल बनाउनका निमित्त आवश्यक जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै औषधि अभावको समस्यालाई तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको उनले जानकारी दिए ।
भरतपुर अस्पतालमा नर्सिङ कक्षामा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको भन्दै मन्त्री यादवले सीमित स्रोतका बाबजुद पनि अस्पतालले दिइरहेको सेवा प्रशंसनीय रहेको बताए । ‘यस अस्पतालको सेवा प्रवाहका क्रममा जनशक्ति र जग्गा अभावमा कारण आएका चुनौतीहरूलाई सम्बोधन गर्न म कटिबद्ध छु,’ उनले भने । अस्पताललाई यसै वर्षदेखि एमबीबीए, एमडीएमएसलगायत कक्षा सञ्चालन गर्न र तत्कालै हुनसक्ने कामहरूको थालनी गर्न मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूलाई निर्देशन दिएको उनले जानकारी दिए ।
शारदा माविमा सर्राफको संयोजकत्वमा “प्राविधिक शिक्षा प्रवर्द्धन सहयोग समिति” गठन

वीरगन्ज । वीरगन्ज महानगरपालिका- २४ मा रहेको श्री शारदा माध्यमिक बिद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन भएको छ ।
मंगलबार बिद्यालयमा प्रधानाध्यापक विनोद मेहताको अध्यक्ष्तामा बसेको बैठकले प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सर्व सहमतिमा ९ सदस्यीय सहयोग समिति गठन गरेको हो ।
श्याम सर्राफको संयोजकत्वमा गठन गरिएको सहयोग समितिको सदस्यमा प्रकाश थारु, संजिव मिश्रा, राजेन्द्र सिंह, अनिशकान्त कुशवाहा, प्रेम पटेल, सन्नी कुमार दुवे, कृष्ण कुशवाहा रहनुभएको छ ।
गठित समितिले सो बिद्यालयको प्राविधिक लगायतका शैक्षिक धारको प्रवर्द्धनका लागि आवश्यक पहल प्रयास तथा कार्य गर्न गराउन सहयोग गर्नेमा आफू विस्वस्त रहेको प्रधानाध्यापक मेहताले बताउनुभयो ।
समितिले आवश्यकता अनुसारको कार्यक्रम बनाउने रणनीति तय गर्ने तथा सो बमोजिमको कार्य गर्ने गराउने निर्णय गरिएको समेत थप्नुभयो ।
सो बिद्यालयले २०७३ सालमा सम्बन्धन प्राप्त गरि प्राविधिक शिक्षा तर्फको ३ वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमा तह कृषि बाली विज्ञान (जेटिए) तथा भेटनरी (भिजेटिए) अध्यन अध्यापन गराउँदै आइरहेको जनाइएको छ ।