वीरगञ्ज । पप्पु कन्सट्रक्सनका पूर्व सञ्चालक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि सुनुवाइ भइरहेको मुद्दामा आज पनि सुनुवाइ नटुंगिएपछि भोलिका लागि पुनः तोकिएको हो ।
गुणस्तरहीन पुल निर्माण गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेपछि हरिनारायण रौनियारसहित ८ जनाले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ११ जनालाई प्रतिवादी बनाएर पुनरावेदन दायर गरेको थियो । सर्वोच्चले दुवै पक्षको पुनरावेदनलाई एकसाथ राखेर सुनुवाइ गरिरहेको छ ।
विशेष अदालतले पप्पु कन्सट्रक्सनले बनाएका पुलको गुणस्तर नपुगेको ठहर गर्दै अख्तियारले दायर गरेको मुद्दामा हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार (पप्पु) लाई दोषी ठहर गरेको थियो ।
अदालतले उनीहरूलाई जनही साढे तीन करोड रुपैयाँ जरिवाना तोकेको थियो । मुद्दाको सुनुवाइ भोलि पनि जारी रहने सर्वोच्च अदालतले जनाएको छ ।
सौरभ साह
वीरगंज — गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सोमबार वीरगंजमा आयोजित पत्रकार सम्मेलन नेपाली कांग्रेसका नेता मोहम्मद साहबुद्दिनको व्यवहारका कारण विवादास्पद बनेको छ । पत्रकारहरूले गृहमन्त्रीसँग प्रश्न गरिरहेकै बेला साहबुद्दिनले पत्रकारलाई नै गाली गर्दै अवरोध गर्ने प्रयास गरेपछि माहोल तातेको हो ।
पत्रकारहरूले साहबुद्दिनको विगतका विवादास्पद क्रियाकलापबारे प्रश्न उठाउँदा उनी असमञ्जसमा परेर आक्रामक बनेका थिए । विशेषगरी युथ्स अफ वीरगंजका पत्रकार सौरभ साहले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी) लाई ‘५० जुत्ता हान्छु’ भनी धम्की दिएको घटनामा किन अहिलेसम्म कारबाही नभएको भन्ने प्रश्न उठाएका थिए । यस्तै, मुस्लिम समुदायको दाह कार्यक्रममा उनले प्रहरीमाथि गाडी हुइक्याएको घटनामा समेत कारबाही हुन नसकेको विषयमा प्रश्न सोध्दा साहबुद्दिन उत्तेजित भएका थिए ।
त्यसैगरी, अदालतमा फर्जी नागरिकता सम्बन्धी मुद्दा विचाराधीन भइरहँदा पनि कांग्रेस पार्टीले उनलाई किन संरक्षण गरिरहेको छ भन्ने प्रश्न उठ्दा साहबुद्दिन थप असहज बनेका थिए । उनकी पत्नी नजमा बेगममाथि आर्थिक ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराले पक्राउ पुर्जी जारी गरिसके पनि साहबुद्दिनले आफ्नो राजनीतिक हैसियतको आडमा पटक–पटक उनलाई कारबाहीबाट जोगाउँदै आएको आरोप पनि पत्रकारहरूले सार्वजनिक गरेका थिए।
पत्रकारहरूले उठाएका ती प्रश्नका कारण मन्त्रीकै सामु साहबुद्दिनको ‘कालो चिट्ठा’ खुलेको देखिन्थ्यो । ठगी आरोपमा पत्नी फरार भएको प्रसंग उठेपछि साहबुद्दिनले पत्रकारलाई अश्लील गाली गर्दै धम्क्याएपछि केहीबेर पत्रकार सम्मेलन नै अवरुद्ध हुने स्थिति आएको थियो ।
साहबुद्दिनमाथि अरूको नागरिकताको वैधता प्रश्न गर्ने तर आफू भने फर्जी नागरिकताको आधारमा राजनीतिक सक्रियता देखाइरहेको आरोपसमेत सार्वजनिक भएको छ ।
आजको पत्रकार सम्मेलनमा कांग्रेस नेता साहबुद्दिनको विवादित चरित्र पुनः सतहमा आएको छ ।
बीरगंज, १५ भदौ । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने व्यवस्था लागू नहुने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार प्रतिनिधिसभामा पेश भएको शिक्षा विधेयकमा राखिएको निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने प्रावधान हटाइनेछ। गृहमन्त्री लेखकले भने, “निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने भन्ने व्यवस्था हटाइन्छ। निजी क्षेत्रका विद्यालयलाई समाप्त गर्ने कुनै योजना छैन।”
आईतबार बीरगंजमा निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै सुनुवाइको मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। त्यस अवसरमा गृहमन्त्री लेखकले यस विषयमा कुनै द्विविधा नरहेको र मन्त्रिपरिषदमा पनि छलफल भइसकेको जानकारी दिनुभयो। उहाँले सरकारी विद्यालयलाई सक्षम बनाउँदै निःशुल्क शिक्षा दिने लक्ष्य राखिएको र चाहनेले निजी विद्यालयमा पनि पढ्न पाउने व्यवस्था हुने बताए।
निजी विद्यालय सञ्चालकहरूको टोलीमा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, नगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सदस्य विजय बल, एन-प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, नगर अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर, सन्नी दूबे लगायत सहभागी थिए। उनीहरूले शिक्षा विधेयकमा निजी विद्यालयलाई कमजोर बनाउने गरी सिफारिस गरिएका बुँदा संशोधन गरी मात्र प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए।
वीरगंज । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइल फोनमार्फत ज्यान मार्ने धम्की दिँदै अपशब्द प्रयोग गरेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकी युवती बाराको कलैया उपमहानगरपालिका–२६ सिसुवा महेशपुरकी निवासी तथा हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरी किरण साह हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार मन्त्री यादव र मेयर सिंहले आफूहरूलाई किरणले धम्की दिएको गुनासो गरेपछि उनलाई पक्राउ गरिएको हो। हाल उनीसँग सोधपुछ जारी छ। प्रारम्भिक अनुसन्धानमा किरणले वीरगञ्जमा फैलिएको भनिएको हैजा सङ्क्रमणप्रति असन्तुष्टि जनाउने क्रममा धम्कीपूर्ण अभिव्यक्ति दिएको देखिएको छ। उनले आफ्ना परिवारका सदस्य हैजाका कारण आईसीयूमा भर्ना भएको दाबी गरेकी थिइन्। तर अनुसन्धानमा उनका कुनै पनि परिवारजन हैजा वा झाडापखालाका कारण अस्पतालमा भर्ना नभएको पुष्टि भएको छ। किरणका बुवा तुलसी साह भने दमको पुरानो रोगका कारण उपचारमा भर्ना भएका थिए, तर हाल डिस्चार्ज भइसकेका छन्। किरणले पनि अहिले उनका परिवारका सदस्य अस्पतालमा नरहेको स्वीकार गरेकी छिन्।
यसबीच, मन्त्री यादव र किरण साहबीचको अभद्र फोन संवादको अडियो क्लिप शुक्रबारदेखि सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ। प्रहरीले यो धम्की मन्त्री यादव र मेयर सिंहको छवि धुमिल गर्ने उद्देश्यले दिइएको हुन सक्ने आशंका गरेको छ। साथै, किरण कुनै समूह वा व्यक्तिबाट प्रेरित भएको सम्भावनामा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
वीरगन्ज,१२भदौं :वीरगन्ज जेसीज वर्ष २०२५ का अध्यक्ष सरोज चौरसिया एसिया प्यासिफिक विकास परिषदको डेभलपमेन्ट अफिसरमा नियुक्त भएका छन् । नेपाल जेसीजको सिफारिसमा चौरसिया एसिया विकास परिषदको डेभलपमेन्ट अफिसरमा नियुक्त भएका हुन् ।
एसिया प्इासिफिक परिषद , जेसिआइ वल्र्ड अन्तर्गत एसिया प्यासिफिकमा पर्ने देशहरुको साझा संगठन हो ।परिषदको अध्यक्ष मंगोलिलयाका जेसीज अभियन्ताले गरिरहेका छन् भने सचिवालय जेसीआइ जपान अन्तर्गत रहेको छ ।
यस भन्दा पहिले परिषदको सदस्यमा प्रायजसो जेसीजका रास्ट्रिय पदाधिकारीहरु मनोनित हुने गरेकोमा जेसिआइ नेपाल अन्तर्गत कुनै शाखा अध्यक्ष (वीरगन्ज शाखाका अध्यक्ष चौरसिया) पहिलो पटक मनोनित भएका हुन् । वीरगन्ज जेसीजको ५२ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय पदमा मनोनित हुने चौरसिया पहिलो व्याक्ति पनि हुन् ।
एसिया प्यासिफिक विकास परिषदमा विभिन्न उपसमुहहरु रहेकामा चौरसिया म्यानमार र श्रीलंकाको समुहमा रहेका छन् । पहिलो चरणमा एसिया प्यासिफिक विकास परिषदले आफ्नो सदस्यहरुलाई समय समयमा जेसिआइ अभियानलाई अझै बलियो र शाखा विस्तारको निम्ति तालिम र निर्देशन दिदैं दिने र ती उपसमुहका टोलीहरुले आफुले पाएको जिम्मेवारी अनुरुप विभिन्न एसियाली मुलुकहरुमा गई त्यहाँका स्थानिय जेसीज शाखाका सदस्यहरुलाई तालिम दिने र नयाँ शाखाहरु खोल्न अभिप्रेरित गर्ने बताइएको छ ।
वर्ष २०२६ को अन्त्य सम्म अध्यक्ष चौरसिया ताइवान , टुनिसिया , मलेसिया, जापान , म्यान्मार, श्रीलंका लगायतका देशहरुको भ्रमणमा रहने बतायएको छ ।
वीरगंज — आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेश प्रमुख रविशंकर सर्राफलाई भव्य सम्मानसहित बिदाइ गरेको छ। सर्राफ लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएपछि आइतबार एक विशेष कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सर्राफले मधेश प्रदेशमा रहँदा कम्पनीको व्यवसायिक हितमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको थियो। करिब ६ वर्षे कार्यकालमा उनले प्रदेशलाई प्रतिस्पर्धात्मक चरणमा पुर्याउँदै बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै विशेष सम्मान गरिएको हो।
आई.एम.ई लाइफ इन्स्योरेन्सका अधिकारीहरूले सर्राफको नेतृत्वमा कम्पनीले मधेशमा व्यवसायिक दायरा विस्तार मात्र नभई ग्राहक सेवामा विश्वास जित्न सफल भएको बताएका थिए। कम्पनीले उनलाई लुम्बिनी प्रदेशमा व्यवसाय प्रवर्द्धन र विस्तार गर्ने जिम्मेवारी दिइएको जनाउँदै त्यहाँ पनि उत्तिकै सफल हुने विश्वास व्यक्त गरिएको थियो।
बिरगंज शाखा प्रमुख शिव दास, जितपुर शाखा प्रमुख अनोज कानु, कलैया शाखा प्रमुख नितेश गुप्ता, मधेश प्रदेश प्रमुख एजेन्सी म्यानेजर भगवती घिमिरेसहितका एजेन्सी म्यानेजर र अभिकर्ताहरूले सर्राफको योगदानको प्रशंसा गर्दै उपहार तथा मायाको चिनो प्रदान गरी भव्य बिदाइ गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास आवश्यक रहेको धारणा समेत व्यक्त गरेका थिए।
वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि शहरका नाला, पोखरी तथा पानी जम्ने स्थानमा पम्प–स्प्रे मार्फत औषधि छर्ने अभियान भोलि (बुधबार) देखि सुरु गर्ने भएको छ।
महानगरको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सर्फुदिन मियाँका अनुसार तालिका बनाई ३२ वटै वडामा चरणबद्ध रूपमा औषधि छर्ने कार्यक्रम तयार गरिएको छ। पहिलो दिन वडा नं. १, २ र ३ मा स्प्रे अभियान सञ्चालन गरिनेछ। बिहान १० बजेदेखि नै जनशक्ति परिचालन गरी नाला तथा पानी जमेको स्थानमा पम्प–स्प्रे प्रयोग गरेर औषधि छर्किने उनले जानकारी दिए।
डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग लामखुट्टेको टोकाइबाट फैलिन सक्ने भएकाले रोकथामका लागि यो अभियान सुरु गर्न लागिएको महानगरले जनाएको छ। मियाँका अनुसार असोज ५ गतेसम्म यो अभियान निरन्तर चल्नेछ।
महानगरले लामखुट्टे नियन्त्रणका लागि वर्षमा दुईपटक नियमित रूपमा औषधि छर्ने गरेको छ। हाल लामखुट्टेको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएकाले यसपटक समयमै पहल थालिएको हो।
लामखुट्टे नियन्त्रण टोलीलाई सहज रूपमा काम गर्न नगरवासीलाई सक्रिय सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ।
वीरगन्जका धार्मिक सम्पदा संरक्षणका लागि समिति गठन, सबै धार्मिक स्थलहरु अनिवार्य सूचिकृत हुनुपर्ने
वीरगन्ज,५ भदौं :वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण तथा व्यवस्थापनको कामलाई संस्थागत रूपमै अघि बढाउने भएको छ। यसका लागि महानगरले विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ।
महानगरले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित सम्पदा व्यवस्थापन सम्बन्धी ऐन नै निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। अब महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको अभिलेख संकलन गरी सूचिकृत गर्ने तयारी गरिएको छ।
यसका लागि प्रत्येक वडा कार्यालयमार्फत तथ्यांक संकलनको प्रक्रिया सुरु हुनेछ। अभिलेख संकलन कार्य सम्पन्न भएपछि सम्पदाहरूलाई अनिवार्य रूपमा सूचिकृत गरी संरक्षण र संवद्र्धनका लागि दीर्घकालीन कार्ययोजना अघि बढाइने महानगरले जनाएको छ।
समितिको संयोजक महानगरका मेयर राजेशमान सिंह रहेका छन्। उउक्त समितिमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा अध्यक्षहरु जगत साह कानु र प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्यका रूपमा रहेका छन् ।सदस्य सचिवमा शाखा अधिकृत सुशीला देवकोटा रहेकी छन् । समितिका सदस्यहरूलाई बिहीबार पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदानसमेत गरिएको छ।
महानगरका मेयर सिंहका अनुसार धार्मिक सम्पदाहरू व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न अनिवार्य रूपमा सूचिकृत गरिनेछ। हाल महानगरभित्र रहेका कतिपय मठ–मन्दिर, मस्जिद तथा गुम्बाहरू व्यक्तिगत स्वार्थअनुसार मनपरी ढंगले सञ्चालन हुँदै आएको बताउँदै मेयर सिंहले अब भने ती सम्पदाहरूलाई नियमन गर्ने र श्रद्धालु भक्तजनहरूले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडाइका साथ प्रावधानहरू लागू गरिने जानकारी दिए ।
सिंहले भने, “हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो। भक्तजनले गरेको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवद्र्धनमै खर्च हुने वातावरण सिर्जना गर्नुपर्छ।”
समितिले आगामी दिनमा प्रत्येक वडामा रहेका सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र त्यसका आधारमा संरक्षण तथा व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको दीर्घकालीन संरक्षण हुने अपेक्षा छ।
साथै यसले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमार्फत शहरको पहिचान सुरक्षित हुने विश्वास महानगरको रहेको छ ।
नारायणी अस्पतालमा मृत्युको मुखबाट फर्किए धर्मपाल, डा. अभिषेक सुमनको उपचारले दियो नयाँ जीवन
वीरगञ्ज । Toxic Epidermal Necrolysis (TEN) नामक दुर्लभ र जटिल छालासम्बन्धी रोगबाट ज्यानको सङ्कटमा पुगेका एक बिरामी नारायणी अस्पतालमा १४ दिनको उपचारपछि पूर्णरूपमा स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मपाल भण्डारी साउन ८ गते अत्यन्तै गम्भीर अवस्थामा नारायणी अस्पताल भर्ना भएका थिए । आगोले डढेको जस्तो गरी शरीरको करिब ८० प्रतिशतभन्दा बढी भागको छाला झरेको थियो । प्रारम्भिक अवस्थामै उनको जीवनरक्षा कठिन हुने अनुमान गरिँदै आएको थियो ।
यस्तो विकराल अवस्थामा पनि नारायणी अस्पतालका छाला, यौनरोग, कुष्ठरोग तथा कोस्मेटिक सर्जन डा. अभिषेक सुमनको नेतृत्वमा सुरु गरिएको उपचारले धर्मपालको ज्यान जोगाउन सफल भएको हो । डा. सुमनसँगै अस्पतालको आईसियु विभाग, स्टाफ नर्स, मेडिसिन विभाग लगायतको टोलीको समन्वय र अथक प्रयासले धर्मपालले नयाँ जीवन पाएका हुन् ।
डा. सुमनले धर्मपाल अब पूर्णरूपमा खतरामुक्त भएको जानकारी दिँदै भने, “धेरैजसो यस्तो समस्या झोलाछाप औषधि र घरेलु उपचारका कारण देखिन्छ । तर हामीले समयमै रोग पहिचान गरेर उपचार थालेकै कारण उहाँको जीवन बचाउन सक्यौं ।”
स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएपछि धर्मपालको अनुहारमा चमक फर्किएको छ । भावुक हुँदै डा. सुमनले भने, “बिरामीको अनुहारमा देखिएको मुस्कान नै डाक्टरको सफलता हो ।”
धर्मपालका दाजु, भाउजु र दिदी मञ्जु जोशीले डा. सुमनप्रति आभार प्रकट गर्दै भने, “भगवान भनेका यस्तै त होलान् । हाम्रो परिवार उहाँप्रति सधैं ऋणी रहनेछ ।”
वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ इनर्वास्थित करिब एक विघा जग्गा हडप्ने भूमाफियाको प्रयासमा उच्च अदालत वीरगंजले अंकुश लगाएको छ ।
साविक इनर्वा भाठा वडा नं. २ मा पर्ने कित्ता नं. ५३ को १९ कट्ठा १० धुर जग्गा “गौरक्षणी गौशाला” को नाममा लालपुर्जा कायम रहेको छ । सोही जग्गामा “गौरक्षणी गौशाला पशुपालन सहकारी संस्था लिमिटेड, वीरगंज–३” नामको संस्थामार्फत केही भूमाफिया समूहले दाबी गर्दै निषेधाज्ञा मागसहित गएको साउन १५ गते उच्च अदालत वीरगंजमा मुद्दा दायर गरेका थिए ।
उक्त सहकारी संस्था मूल गौशालाको नामसँग मिल्दोजुल्दो राखेर, नामको भ्रम सिर्जना गर्दै भूमाफियाले जग्गा कब्जा गर्न खोजेका थिए । प्रमोद कुमार सिंह नेतृत्वको समूहले यो योजना अघि बढाएका थिए । सिंहले नै अदालतमा निषेधाज्ञा माग गर्दै मुद्धा दायर गरेका थिए ।
वर्षौँअघिदेखि केही व्यक्तिहरूले सोही जग्गामा टहरा बनाएर व्यापार गरिरहेकोमा महानगरले अतिक्रमण हटाउँदै सो जमिनलाई अतिक्रमणमुक्त बनाएको थियो । अहिले महानगरले सोही स्थानमा सार्वजनिक शौचालय निर्माणको तयारी थालेको छ ।
सार्वजनिक उपयोगको संरचना बन्न लागेपछि भूमाफियाहरुले त्यसलाई अवरुद्ध गर्न अदालतको शरण लिएका थिए । तर उच्च अदालत वीरगंजका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र ऋषिराम निरौलाको संयुक्त इजलासले भूमाफियाको माग खारेज गर्दै निषेधाज्ञा नजारी गर्ने आदेश दिएको छ ।
यस निर्णयसँगै भूमाफियाको योजना विफल भएको छ र वीरगंज महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणको कार्य निर्वाध रूपमा अघि बढाउने बाटो खुलेको छ ।
महानगरले यस स्थानमा अत्याधुनिक र सर्वसुलभ सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको हो । नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको यो स्थान हुँदै दैनिक सयौं यात्रु, व्यापारी, मजदुर, महिला, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको आउजाउ हुने गर्छन् ।
शहरको दैनिक गतिविधि, जनसंख्या चाप र सार्वजनिक स्थलहरूमा मानिसहरूको बाक्लो उपस्थितिका बीच शौचालय जस्ता आधारभूत संरचनाको अपरिहार्यता बढ्दै गएको बेला महानगरले यो स्थानमा सार्वजनिक सौचालय निर्माणको काम अघि बढाएको हो । वीरगंजजस्तो व्यापारिक, पर्यटकीय र सीमावर्र्ती शहरका लागि सार्वजनिक शौचालय अपरिहार्य रहेकाले महानगरले यहाँसँगै अन्य तीन स्थानमा यस्ता सार्वजनिक शौचालय निर्माणको काम भइरहेको छ ।