वीरगंज । वीरगंज महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा सहरलाई डुबानबाट जोगाउन मुख्य नालाको सफाइ कार्यलाई तीव्रता दिएको छ।
हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको प्रमुख नालामा अहिले सफाइ धमाधम भइरहेको छ। छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फको सफाइ कार्य सकिएपछि अहिले दक्षिणतर्फ भन्सार क्षेत्रसम्म सफाइको काम जारी छ।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार वर्षाको समयमा डुबानको समस्या नआओस् भनेर पूर्वतयारीस्वरूप अहिले नै मुख्य र सहायक नालाहरूको सफाइलाई उच्च प्राथमिकतामा राखिएको छ। उनले सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नालाको नियमित सफाइ नै डुबान नियन्त्रणको प्रमुख उपाय भएको बताए।
तीव्र सफाइका लागि महानगरका तीनवटा स्काभेटर र थप एउटा चेन स्काभेटरसहित स्काभेटरले पुग्न नसक्ने स्थानमा जनशक्ति परिचालन गरी सफाइ भइरहेको जानकारी दिइएको छ। हाल दैनिक रूपमा २५ जना सफाइकर्मी यो कार्यमा खटिइरहेका छन्।

महानगर प्रमुख सिंहले नालाको आधा भन्दा बढी भाग माटोले पुरिएकोले पानी सहज रूपमा नबग्दा डुबानको समस्या हुने गरेको बताए। उनले अघिल्ला दुई वर्षमा नियमित सफाइका कारण वीरगंज बजार क्षेत्रमा डुबान नपरेको उल्लेख गर्दै यसपटक पनि सुरुदेखि अन्तिम बिन्दुसम्म नालाको सफाइ गरिने बताए।
त्यस्तै, प्रमुख सिंहले नगरबासीलाई नालामा जथाभावी फोहोर नफाल्न आग्रह गर्दै सफाइ अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। “महानगरपालिकाले मात्र गरेर पुग्दैन,” उनले भने, “नागरिकमा चेतना र जिम्मेवारी आवश्यक छ। हामी जनचेतना फैलाउने छौं र पटक–पटकको अटेरमा कारबाही पनि गरिनेछ।”
महानगरका हरियाली तथा सरसफाइ संयोजक जयप्रकाश खेतानले मुख्य नालाको निरन्तर सफाइले गर्दा पछिल्ला दुई वर्षदेखि वीरगंज बजार क्षेत्रमा डुबानको समस्या नआएको जानकारी दिएका छन्।