वीरगञ्ज । भारतको चर्चित स्यानेटरीवेयर ब्रान्ड ‘सेरा’ले नेपालमा आफ्नो बजार विस्तार गर्दै वीरगञ्जमा नयाँ आधिकारिक आउटलेट सञ्चालनमा ल्याएको छ। चार दशकभन्दा बढी समयदेखि गुणस्तर, आधुनिक डिजाइन र भरपर्दो प्रदर्शनका कारण अन्तर्राष्ट्रिय रूपमा स्थापित सेराले अब स्थानीय ग्राहकसम्म सेवा विस्तार गरेको हो।
वीरगञ्जको लिंक रोडमा जय नेपाल ग्रुपको व्यवस्थापनमा ‘जय नेपाल सेनिटरी’ नामक आउटलेट बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। उक्त आउटलेटको उद्घाटन सेराका अन्तर्राष्ट्रिय बिक्री प्रमुख सन्दीप अब्रहामले गरेका छन्।
उद्घाटन कार्यक्रममा अब्रहामले आउटलेटमा सेराका सबै प्रमुख उत्पादनहरू उपलब्ध रहेको जानकारी दिए। उनका अनुसार यहाँ विट्रियस चाइना स्यानेटरीवेयर, क्रोम प्लेटेड फसेट, शावर प्यानल, बाथटब, ज्याकुजी, मिरर लगायतका वेलनेस तथा होम सोलुसन सामग्रीहरू पाइन्छन्।
सेराका उत्पादनहरू उन्नत प्रविधि, टिकाउपन र आकर्षक डिजाइनका लागि चिनिने बताउँदै उनले ती सामग्रीहरू साना तथा ठूला दुवै प्रकारका बाथरुमलाई आधुनिक र उपयोगी बनाउन सक्षम रहेको उल्लेख गरे। उनले सेराले कडा प्रयोगसमेत सजिलै सहन सक्ने गुणस्तर प्रदान गर्ने दाबी गरे।
भारतसहित मध्यपूर्व र अफ्रिकामा आफ्नो उपस्थिति विस्तार गरिसकेको सेराले अब नेपालमा पनि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको उनले बताए। आगामी दिनमा नेपाली बजारमा थप विस्तार गर्ने योजना समेत रहेको उनको भनाइ थियो।
जय नेपाल ग्रुपका संस्थापक मनोज रौनियारले यो आउटलेट वीरगञ्ज मात्र नभई मधेस प्रदेशभरका लागि सेराको आधिकारिक विक्रेता र वितरकको रूपमा रहने जानकारी दिए। निर्माण सामग्री क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको आफ्नो समूहले सेरासँगको सहकार्यबाट थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
उनले सबै वर्गका ग्राहकलाई लक्षित गरी विभिन्न मूल्यका उत्पादनहरू उपलब्ध गराइएको उल्लेख गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्ने सेराका सामग्रीहरू ढुक्क भएर खरिद गर्न आग्रह गरे। साथै, सेराको बिक्रीपछिको सेवा पनि उत्कृष्ट रहेको बताउँदै उनले ग्राहकको विश्वास जित्नेमा आफूहरू विश्वस्त रहेको धारणा राखे।
सेराको आगमनसँगै नेपालको निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्रमा आधुनिक, प्रिमियम र प्रविधियुक्त विकल्प थपिएको छ। अब वीरगञ्ज र आसपासका क्षेत्रका उपभोक्ताहरूले उच्च गुणस्तरका स्यानेटरीवेयर तथा बाथरुम फिटिङ्स सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।