वीरगंज।फागुन १४ । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रूगंटाले आज आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको छ। उम्मेदवार रूंगटाले निर्वाचित भएको ५ वर्षभित्रमा आफ्नो निर्वाचन क्षेत्रमा १ खर्ब रूपैयाँ औद्योगिक लगानी भित्र्याउने दाबीसहित १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको हो।
वीरगंजमा आयोजित प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा रूगंटाले राजनीतिमार्फत वीरगंजको समुन्नति र सुशासनको थिति बसाल्न आफू कटिबद्ध रहेको भन्दै वीरगंजलाई साँचो अर्थमा आर्थिक राजधानी बनाउने योजनासहितको आफ्नो प्रतिज्ञा सुनाउनुभयो।
त्यस्तै वीरगंज क्षेत्रमा व्याप्त खाने पानी समस्यालाई पनि रूंगटाले महत्व दिनुभएको छ। ‘पहिले पानी अभियान’ शीर्षकमा ‘शिलान्यास होइन, परिणाम चाहियो’ नाराका साथ रूगंटाले खानेपानीको समस्या सम्बोधन गर्ने प्रतिज्ञा गर्नुभएको छ। पानी नक्साङ्कन तथा अडिट, बिग्रेका खानेपानी लाइनहरू मर्मत, पानीको दोहन भएका क्षेत्रहरूमा पुनर्भरण (रिचार्ज) लगायतका विषयहरू पानी अभियानमा समेटिएको छ।
स्वास्थ्यतर्फ ‘स्वास्थ्य सम्मान कार्यक्रम’ चलाउने रूगंटाको प्रतिज्ञा छ। वहाँले यो कार्यक्रम अन्तर्गत नारायणी अस्पतालको स्तरोन्नतिसहित स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना, अत्याधुनिक ट्रमा सेन्टर तथा प्रसुति सेवाको सुदृढीकरण गर्ने विषय उल्लेख गर्नुभएको छ। व्यवसायी समेत रहनुभएका रूगंटाले औद्योगिक क्षेत्रबाट प्रभावित बस्तीहरूमा नियमित स्वास्थ्य शिविर चलाउने पनि प्रतिज्ञा गर्नुभएको छ।
शिक्षा र सीप विकास अन्तर्गत रूगंटाले सामुदायिक विद्यालयमा डिजिटल पूर्वाधार विस्तार, अभिभावकसहित सार्वजनिक समीक्षा प्रणाली, विपन्न विद्यार्थी सहयोग कोष र स्थानीय उद्योगसँग जोडिएको पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने योजना अघि सार्नुभएको छ। “किताब मात्र होइन, सीप पनि आवश्यक छ,” वहाँको भनाई छ।
आर्थिक क्षेत्रका लागि रूगंटाले ‘वीरगंज आर्थिक स्वतन्त्रता योजना’ प्रस्तुत गर्नुभएको छ। आर्थिक क्षेत्र अन्तर्गत विशेष वित्तीय क्षेत्र बनाउने पहल, एकद्वार व्यवसाय सेवा केन्द्र सुरु, सीमा व्यापार सहजीकरण समिति तथा एक खर्ब बराबरको औद्योगिक लगानी वहाँको प्राथमिकतामा छ। १ खर्बको लगानी भित्र्याएर ४ हजार स्थानीयलाई प्रत्यक्ष रोजगारी दिने रूंगटाको महत्वाकांक्षी योजना पनि प्रतिज्ञा पत्रमा उल्लेख छ। स्थानीय युवालाई प्राथमिकता दिने रोजगारी सम्झौता र लगानी तत्पर भूमि बैंक निर्माणमा पहल गर्ने रूंगटाको प्रतिज्ञा छ।
महानगरभित्रका वडा नं. २०, २१, २२, २३ र ३२ का लागि विशेष ‘परिधीय विकास कोष’ स्थापना, आधारभूत स्वास्थ्य चौकी सुदृढीकरण तथा सडक–ढल पूर्वाधार सुधारलाई प्राथमिकता दिने उम्मेदवार रूगंटाको भनाइ छ।
वातावरण संरक्षणअन्तर्गत हरित वीरगंज अभियान, केन्द्रीय पार्क निर्माण पहल, फोहर र हावा गुणस्तर अनुगमन तथा सार्वजनिक शौचालय विस्तार योजना पनि प्रतिज्ञामा समेटिएका छन्।
संरक्षणतर्फ वहाँले नारायणी रंगशालाको पुनर्निर्माण, धरोहर संरक्षण र वार्षिक सांस्कृतिक महोत्सव सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। महिला सुरक्षाका लागि सडक बत्ती विस्तार, सहयोग सञ्जाल निर्माण, मातृ स्वास्थ्य सेवा सुदृढीकरण र महिला उद्यम प्रबर्द्धन कार्यक्रम अघि बढाउने रूगंटाको प्रतिज्ञा छ।
त्यस्तै ‘स्वच्छ शासन’ अवधारणा अघि सार्दै रूगंटाले आफ्नो कार्यालयलाई ‘जनता कार्यालय’का रूपमा सञ्चालन गर्ने बताउनुभएको छ। उजुरी दर्ता प्रणाली, १५ दिनभित्र जवाफ दिने व्यवस्था, सार्वजनिक बजेट ट्र्याकिङ, त्रैमासिक नागरिक बैठक र अनलाइन ड्यासबोर्डमार्फत पारदर्शिता कायम गर्ने प्रतिज्ञा रूगंटाले गर्नुभएको छ।
व्यापार-व्यवसाय क्षेत्रमा हासिल अनुभवलाई देशको आर्थिक समुन्नतिमा लगाउने उद्देश्यसहित आफू राजनीतिमा आएको बताउनुभएका रूगंटाले प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा भन्नुभएको थियो- ‘नेपाली कांग्रेस मेरो आधार हो। तर पर्सा-१ मेरो प्राथमिकता हो। वीरगंजले देशलाई अघि बढायो, अब आर्थिक उन्नति गर्दै वीरगंज आफैं पनि सम्मानसहित अघि बढ्नुपर्छ।’