वीरगञ्ज । बीरगञ्ज कन्सल्टेन्सी एशोसिएसन अफ नेपाल (बीसीएएन) पर्साको अध्यक्षमा नवीन कार्की चयन भएका छन्। वीरगञ्जको घडिअर्वा पोखरी नजिक रहेको म्याजिक बेलामा बसेको एशोसिएसनको बैठकले कार्कीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश यादव, सचिवमा बिनय कुमार गिरी, सहसचिवमा सोनु पटेल (अमन) तथा कोषाध्यक्षमा एमडी रहिस चयन भएका छन्। साथै अन्य सदस्यहरू पनि बैठकबाट चयन गरिएको जनाइएको छ।
अध्यक्षमा चयन भएका कार्की वीरगञ्जको पानीटंकीस्थित प्रभु अस्पताल नजिक रहेको इडूकाया इन्टरनेशनल प्रा.लि.का सहायक प्रमुख हुन्। शिक्षा तथा परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका कार्कीले बीसीएएन पर्सालाई अझ सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष कार्कीले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने बताउँदै कन्सल्टेन्सी क्षेत्रमा पारदर्शिता, गुणस्तरीय सेवा र संस्थागत एकतालाई प्राथमिकता दिने उल्लेख गरे। उनले शिक्षा परामर्श क्षेत्रमा देखिएका समस्या समाधान गर्दै विद्यार्थी तथा अभिभावकको विश्वास कायम राख्न सबै सदस्यसँग सहकार्य गरेर अघि बढ्ने बताए।
उनले बीसीएएन पर्सालाई व्यवस्थित, मर्यादित र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।