१० वैशाख, रुपन्देही — भारतको जम्मु–कश्मीरको पहलगामस्थित पर्यटकीय क्षेत्रमा भएको आतंकवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमध्ये एक नेपाली नागरिक पनि रहेको समाचार सार्वजनिक भएपछि खोजी सुरु गरिएको थियो।
गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलनमा बोल्दै २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको र उनी आमा रिना, बहिनी सुष्मा तथा ज्वाइँ युवराजसँग घुम्न गएका बेला आक्रमणमा परेको जानकारी दिए। मृतकका परिवारका सदस्यहरूले पनि यो पुष्टि गरेका छन्।
परिवारजनका अनुसार सुदीपसहित उनीहरू शनिबार बुटवलबाट पहलगाम घुम्न गएका थिए। त्यही क्रममा मंगलबार दिउँसो ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक आतंकवादी समूहका बन्दुकधारीले पर्यटकहरूमाथि एक्कासी आक्रमण गर्दा सुदीपको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको बेलामा आमा, बहिनी र ज्वाइँ भने भागेर ज्यान जोगाउन सफल भएका थिए। भाग्ने क्रममा सुदीपकी आमा सामान्य रूपमा घाइते भएकी छन्। उनीहरू बुधबार साँझसम्म काठमाडौं फर्कने क्रममा जम्मु कश्मीरको विमानस्थलमा पुगेको वडाध्यक्ष तथा सुदीपका नाता पर्ने दधिराम न्यौपानेले जानकारी दिए।
सुदीपको शव पनि आज साँझसम्म काठमाडौं ल्याइने तयारी भएको छ। उनी हाल बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए भने पहिले बुटवल–१४ बेलभरियामा परिवारको बास थियो। पुर्ख्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका–४ मा पर्छ।
सन् २०२४ सालतिर परिवार बुटवल सरेको स्थानीय थानेश्वर पौडेलले बताए। पौडेलले भने, ‘घुम्न गएका एक निर्दोष युवकको ज्यान गएको खबरले बेलभरिया गाउँ शोकमा डुबेको छ।’
भारतीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमै सुदीपको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फेला परेको छ। आक्रमण भएको पहलगाम क्षेत्र ‘मिनी स्वीट्जरल्यान्ड’ भनेर चिनिन्छ र श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ।
यो हमला विगत केही वर्षयताकै सर्वसाधारणमाथिको सबैभन्दा ठूलो आक्रमण मानिएको छ। यस घटनापछि भारतभर, विशेषगरी दिल्ली र मुम्बईमा उच्च सतर्कता अपनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण छोट्याएर भारत फर्किएपछि यस हमलालाई कडा रुपमा निन्दा गर्दै दोषीलाई नछोड्ने चेतावनी दिएका छन्।