वीरगंज । वीरगंजको मुख्य नाला सफाई हुँदा वीरगंजको आदर्शनगर, अशोकवाटिका लगायतको क्षेत्र डुबान हुन बाट जोगिएको छ ।
सिर्सिया नदीमा आएको बाढी ओभरफ्लो भएर एडिबीले बनाएको नालामार्फत बजार क्षेत्रमा छिरेको भए पनि मुख्य नाला सफाई भएका कारण त्यही बाट निकास हुँदा डुबान हुनबाट जोगिएको हो । वर्षातको पानी निकास गर्न बजार क्षेत्रका सहायक नालाहरु सिर्सिया नदीसँग जोडिएको छ ।
गए राति बाराको पथलैया तथा रामबन क्षेत्रमा परेको अविरल वर्षाका कारण सिर्सिया नदीमा बाढी आएको थियो । नदीको मुहान रामबनमा पर्ने भएकाले त्यहाँ वर्षा हुँदा सिर्सिया नदीमा बाढी आउने गर्छ ।
वर्तमान नेतृत्वले वीरगंज बजार डुबान हुन नदिन मुख्य नाला सफाईलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मुख्य नाला अतिक्रमण गरेर बनाइएको संरचना हटाउँदै नाला सफाईलाई महानगरले तिब्रता दिएकाले सिर्सियाबाट बाढी बजार छिरेको भए पनि डुबानबाट जोगिएको ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान बताउँछन् ।
महानगरपालिकाले गएको वर्ष नाला अतिक्रमण गरी बनाइएका पक्कि संरचना हटाएको थियो । क्लासिक होटल र कर्पोरेट बैंकको भवन नालामाथि नै बनाइएको कारण वर्षातको समयमा विगतमा हरेक वर्ष आदर्शनगर क्षेत्र डुबानमा पर्ने गरेको थियो । महानगरले मुख्य नाला अतिक्रमण गरेर बनाएको दुबै भवन भत्काएर हटाएसँगै अहिले पानीको सहज निकास हुँदा आदर्शनगर क्षेत्र डुबान हुनबाट बँचेको छ ।
महानगरले मुख्य नाला खोलेर सहज निकास गराउँदा डुबानका कारण हुन सक्ने क्षतीबाट आफूहरुले राहत महसुस गरेको स्थानीय बताउँछन् ।