जैश-ए-मोहम्मदका प्रमुख र अन्तर्राष्ट्रिय आतंकवादी घोषित मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दूर’को हमलापछि पहिलो पटक सार्वजनिक टिप्पणी गरेका छन्।
भारतले काश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बदला स्वरूप ‘अपरेशन सिन्दूर’ अन्तर्गत लक्षित हवाई आक्रमण गर्दा मसूद अजहरका १४ नातेदारहरू मारिएका थिए। मारिनेहरूमा उनका जेठी बहिनी, बहिनीका श्रीमान, भतिजा र उनकी पत्नी, एक भाञ्जी, पाँच जना छोराछोरीसहित परिवारका अन्य सदस्य र चार नजिकका सहयोगी परेका थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो आक्रमण बहावलपुरस्थित जैश-ए-मोहम्मदको मुख्यालय जामिया मस्जिद सुभान अल्लाहमा भएको थियो।
मे ७ को रात भारतले गरेको कारबाहीपछि मसूद अजहरले प्रतिक्रिया दिँदै भनेका छन्, “बरु बारम्बार यही सोच आउँछ—म पनि किन उनीहरू जस्तै त्यो खुशीको कारवाँमा सामेल हुन सकिनँ।” उनले थपे, “उनीहरूको जाने समय आएको थियो, अल्लाहले उनीहरूलाई बोलाउनु भयो, तर अल्लाह आफ्ना पाहुनालाई कहिल्यै मार्दैनन्।” अजहरका अनुसार मारिएकाहरू अब अल्लाहका पाहुना बनेका छन्।
५६ वर्षीय मसूद अजहरलाई संयुक्त राष्ट्र सुरक्षा परिषदले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरिसकेको छ। उनीमाथि भारतमा भएका थुप्रै आतंकवादी हमलामा संलग्न रहेको आरोप छ—जसमा २००१ को संसद हमला, २००८ को मुम्बई हमला, २०१६ को पठानकोट हमला र २०१९ को पुलवामा हमला प्रमुख छन्।
यद्यपि मसूद अजहर पाकिस्तानमै रहेको कुरा खुलेको भए पनि इस्लामाबादले बारम्बार उनको अवस्थाबारे जानकारी नभएको दाबी गर्दै आएको छ।
अन्त्यमा उनले भने, “आज राती मेरा १४ आफन्तहरूले अल्लाहको निम्तो पाएका छन्—पाँच निर्दोष बच्चा, मेरी जेठी बहिनी र उनका श्रीमान, मेरा विद्वान भतिजा र उनकी पत्नी, प्रिय भाञ्जी, भाइ हुजैफा र उनकी आमा, साथै दुई प्रिय साथीहरू—सबैलाई अल्लाहले सहादतको दर्जा दिनुहोस्।”