वीरगञ्ज, २५ बैशाख। जबरजस्ती करणी (वैवाहिक करणी) सम्बन्धी मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेका फरार अभियुक्त समसुदिन अंसारीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–३१ बेलवा प्रसौनी निवासी २९ वर्षीय अंसारीलाई एनसीबी दोहा, कतारको सहयोगमा पक्राउ गरी बिहीबार नेपाल फिर्ता ल्याइएको हो।
उनविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२५ अप्रिल १ मा रेड नोटिस जारी गरेको थियो।
घटनाको पृष्ठभूमि:
समसुदिन अंसारीले जातीय परम्पराअनुसार ३४ जिल्लाकी एक महिलासँग विवाह गरेका थिए। विवाहपछि दाइजो नपाएको भन्दै उनले पत्नीमाथि कुटपिट, गालीगलौज, डर धम्की दिने र यौन दुर्व्यवहार गर्दै आएका थिए।
२०७८ साउन १३ गते राति साढे ९ बजे, पीडित बिरामी भएर डेरामा सुतिरहेकी अवस्थामा अंसारीले कोठामा पसी ढोका बन्द गरी, धम्की दिँदै जबरजस्ती करणी गरेका थिए।
पक्राउ कसरी सम्भव भयो?
पीडित महिलाले अभियुक्तलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। त्यसपछि पर्सा प्रहरीले प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलसँग समन्वय गरी नोटिस जारी गराएको थियो। सोही आधारमा कतारमा उनलाई नियन्त्रणमा लिई नेपाल ल्याइएको हो।
हाल समय अभावका कारण उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन नसकिएकोले भोलि कानूनी प्रक्रिया अगाडि बढाइने नेपाल प्रहरीको इन्टरपोल शाखाले जानकारी दिएको छ।