वीरगञ्ज, पर्सा — २०८२ बैशाख २७ । मानव बेचबिखन तथा ओसार पसारको आरोपमा एक महिला पक्राउ परेकी छिन्। वीरगञ्ज महानगरपालिका वडा नं. १६, नगवा बस्ने २० वर्षीया आलिया खातुनलाई प्रहरीले पक्राउ गरेको हो।
पीडितको जाहेरी अनुसार, नामथर वतन परिवर्तित ३४ जिल्ला नगवा (स ०८१/०८२) लाई “नयाँ कपडा किनिदिन्छु” र “पैसा दिन्छु” भन्ने प्रलोभन देखाई भारतको बिहार, रक्सौलस्थित एक होटलमा यौन व्यापारमा लगिएको खुलासा भएको छ।
पीडितको उजुरीका आधारमा, प्रहरीको टोलीले मिति २०८२ साल बैशाख २७ गते राती २:०० बजे इलाका प्रहरी कार्यालय नगवा, पर्साबाट खटिएको टोलीले पीडितलाई उद्दार गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट आलिया खातुन यसअघि पनि यस्तै प्रलोभन देखाई अन्य नाबालिकाहरूलाई समेत मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी खातुनमाथि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम मुद्दा चलाइएको छ। पर्सा जिल्ला अदालतबाट उनलाई पाँच दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पक्राउ विवरण:
- नाम: आलिया खातुन
- उमेर: २० वर्ष
- ठेगाना: जि. पर्सा, वीरगञ्ज म.न.पा. वडा नं. १६, नगवा
- पक्राउ मिति: २०८२।०१।२७
- कसूर: मानव बेचबिखन तथा ओसार पसार
प्रहरीले यस मुद्दालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।